ताजा अपडेट »

चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू

बुधबार, ०४ जेठ २०७९, ०७ : १६
6 Shares

बुटवल । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो । विभागका अनुसार नयाँ भाडादर बुधबार आजबाट लागू हुनेछ ।

सरकारले विद्यमान भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै स्वचालित रूपमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुने व्यवस्था लागू भएको छ । सोही कारण गत शनिबार भएको इन्धनको मूल्यवृद्धिलाई आधार मानेर भाडावृद्धिको निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारीसाधनमा लागू हुनेछ । यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो । यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन  गर्ने विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार भाडावृद्धि यात्रुवाहक सवारीसाधनको हकमा तीन दशमलव ५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा चार दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्छ । यसअघि २० चैतदेखि लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडावृद्धि गर्ने निर्णय भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।