ताजा अपडेट »

सैनामैना मेयर कप फुटबलको चौथो संस्करणमा फर्साटिकरलाई उपाधि 

विहीबार, १० चैत्र २०७८, २३ : १९
7 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा सम्पन्न चौथो सैनामैना मेयर कप फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर फुटबल क्लवले हात पारेेको छ । बिहीबार भएको उपाधि भिडन्तमा विपी स्मृति भैरव एफसी नवलपरासीलाई पेनाल्टी सुट आउटमा हराउँदै फर्साटिकरले उपाधि चुमेको हो ।  

उपाधिसँगै फर्साटिकरले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो हाफको सुरुवातमै खेलमा फर्साटिकरका विदेशी खेलाडी जर्सी नम्बर ७ का एमीले गोल गर्दै टोलीलाई अग्रता दिए । पहिलो हाफको सुरुवातमै दबाबमा परेको भैरव फुटबल क्लव नवलपरासीले गोल गर्न पटक-पटक प्रयास गरेपनि गोल हुन सकेन । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न पटक-पटक प्रयास गरे पनि जाली चुम्न भारी पर्यो ।  खेलको अन्तिम समयमा नवलपरासीका जर्सी नम्बर १० का सनम तामाङले एक गोल फर्काएपछि खेल १-१ गोल बराबरीको अस्थितिमा फर्किएको थियो । एक-एकको बराबरी भएपछि दुबै असमूहले अंक जोड्न नसक्दा खेल रोमाञ्चक मोडमा पुग्यो । 

खेल बराबरीमा धकेलिएपछि पेनाल्टी सुटआउटमा भैरवलाई ५-४ ले गोल अन्तरले हराउँदै फर्साटिकरले उपाधि जितेको हो । भैरवका जर्सी नम्बर १६ का खेलाडीले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा भैरवले अग्रता बनाउने अवसर गुमाउँदै उपविजेतामा चित्त बुझायो ।

भैरवले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलमा प्रवेश गरेका दुई असमुहले समान २१ हजार ५ सय ५५ रुपैँया प्राप्त गरेका छन् । विधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । 

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारासहित सैनामैना-१० पानबारीस्थित खेलमैदानमा भएको प्रतियोगितामा एक समारोहका बीच विजयी टोलीलाई नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र के.सी, नगर प्रमुख चित्र बहादुर कार्की, नगर खेलकुद विकास समितिका संयोजक अमर लम्साल लगायतले संयुक्त रुपमा पुरस्कृत गरे । पानबारीमा रहेको पशुपति माध्यमिक विद्यालयको खेल मैदानमा फागुन २८ गतेदेखि प्रतियोगिता भएको थियो । 

समापन समारोह कन्दरा युवा क्लवका अध्यक्ष तुल्सीराम पौडेलको अध्यक्षता, एमाले रुपन्देही अध्यक्ष के.सीको प्रमुख आतिथ्यता, सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको विशिष्ट आतिथ्यता तथा उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी, शिक्षा शाखा प्रमुख हेमराज अर्याल लगायतको आतिथ्यतामा भएको हो ।

प्रतियोगितामा विभिन्न जिल्लाका १२ समुहको सहभागिता रहेको थियो । प्रतियोगितालाई सैनामैना नगरपालिकाले संरक्षकत्व प्रदान गरेको थियो भने नगर खेलकुद विकास समिति र कन्दरा युवा क्लवको आयोजनामा मेयरकप भएको हो । कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने संघ-संस्था एवम् व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन महेश अधिकारीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।