हामी नेपालीहरु विर गोखार्लीका सन्तान, सगरमाथा अवस्थित रहेको देशका नागरिक, बुद्घ जन्मेको देशका नागरिक भन्नमा जति गर्व महशुस गर्छौ के त्यसरी नै गरिब, भष्ट्रचारले ग्रसित देशका नागरिक भन्न मा, स्वतन्त्र नागरिक भन्दा झोले कार्यकर्ता बढी भएको देश भन्नमा, युवा जनशतिm विदेशमा विक्रि गरी रेमिटान्सले चलेको देश भन्नमा, दैनिक उपभोग्य खाधान्नका सामाग्रीदेखि सबै औधोगिक वस्तु आयात गर्ने देशका जनता हौ भन्दै परिचय दिनु पर्दा पनि गर्वको महशुस हुन्छ र ?
पक्कै पनि यस्ता परिचय, जसले हामीलाई अरु भन्दा कमजोर, निकृष्ट जनाउने गर्छ त्यो हामी मानव जातिका लागी हिनताबोधक रहन्छ । प्रत्येक सन्तानका लागि आफ्नो बाबा आमा देशको लागि लडेको योद्घा हो, सहिद हो भन्न गर्व महशुस हुन्छ भने मगन्ते र हासोको पात्र हो भनि समाजले चित्रण गरेको व्यक्तिको नामको सन्तानको रुपमा चिन्नु पर्दा हिनताबोध हुन्छ।
नाम थर समावेश सहितको परिचय जसले हरेक मानिसको वर्तमान लाई भन्दा बढि इतिहास वा आ–आफ्नो पूर्खा र तिनिहरुका आर्थिक, राजनैतिक, सामाजिक हैसियतलाई प्रस्तुत गर्छ । ग्रैर दलित जातका सबैको नाम थर युक्त परिचय हुन्छ भने दलित जातिका मानिसको भने अधिकांशको नाम थरको सट्टा नाम जात युक्त परिचयपत्र रहेको हुन्छ। दलितभित्र पर्ने हरेक जातका आ आफ्नौ थरहरु छन । पहाडी मूलका दलित जातिहरु विश्वकर्मा जातिका करिब दुई सय ,परियार जातिका करिब एक सय पच्चिस, नेपाली/मिजार जातिका करिब एक सय, गन्धर्व जातिका करिब विस, बादी जातिका करिब चालिस, साथै पोडे, च्यामे लगाएत मधेश मूलका छब्बिस दलित जातिका पनि यसै गरि थरहरु रहेका भएपनि व्यवहारिक परिचयपत्र मा भने नाम थर समावेश गरि प्राप्त गरिएका सरकारी परिचयपत्र न्यून सङख्यामा मात्र भेटिन्छन्।
ब्राहृमणवादी चिन्तन र दलितको थर सम्बन्धि ज्ञान नभएका अर्थज्ञानीहरु दलितका थरहरु सहितको परिचय सुन्दा जात लुकायो वा ढाट्यो सम्म पनि भन्छन्। कतिपय दलितका थरहरु ग्रैरदलितका थर सँग मिल्छन । ग्रैरदलित समुदायले नामको पछाडि थर लेख्न पाउने व्यवस्था शुरुवातदेखि नै प्रचलनमा रहेको थियो भने दलित समुदायलाई आफ्नो थर लेख्न नदिइ जर्बजस्ती रुपमा जात लेख्न बाध्य पारिन्थ्यो र केही शक्ति र अधिकारमा पहुच नभएकाले नाम जात युक्त परिचयपत्र लिन बाध्य थिए। परिचयपत्रको शुरुवात जन्मदर्ता बाट हुन्छ तर त्यही जन्मदार्ता प्रमाणपत्र जारी गर्ने स्थानिय तहका वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीलाई दलित समुदाय भित्र पर्ने जातहरुका थर सम्बन्धमा अनविज्ञता नै रहेको भेटिएको छ।
तसर्थ आमा बुबा को परिचयपत्रमा भएको जातलाई नै कायम गरी जन्मदार्ता जारी गरिन्छ भने आफ्नो थर थाहा भएका अभिभावकले थर कायम गरी परिचयपत्र दिन अनुरोध गर्दा पनि कतिले यस्तो प्रचलनमा नै नरहेकोले दिनै नसकिने भन्दै दबाब दिन्छन् ,कतिले तपाईहरु आफ्नो जातमा गर्व गनुपर्छ भन्दै मानसिक रुपमा हस्तक्षेप गर्छन त कतिले थर लेखेमा दलित समुदायले पाउन सक्ने सुविधा बाट वञ्चित हुनुपर्छ भन्दै भ्रमित र झुट्टो डरको खेती गदै नाम थरको सट्टा नाम जातयुक्त परिचयपत्र हातमा थमाउछन् ।
यसरी शुरुवात भएको परिचयपत्र कै आधारमा शैक्षिक र नागरिकता लगाएका सबै किसिमका प्रमाणपत्र प्रदान हुने गर्दछ । बाआमा को नागरिकतामा उल्लेखित जातमा रसो दिर्घ पनि फरक परेमा पनि उनिहरुका सन्तानलाई परिचयपत्र दिन मिल्दैन भन्ने अर्धचेत र ब्राहमणबादले उन्मात कतिपय वडा कार्यलयका प्रतिनिधि र कर्मचारीले गर्दा दलितका जातयुक्त परिचयपत्रमा पनि वि क, परियार, नेपाली, गन्र्धब लगाएतका सबै जातका सट्टा विगतमा हेपेर, छिरछिरदुरदुर गालीको रुपमा हिन्दु समाजले प्रयोग गरिने जातिय शब्द कामी, दमाई, डोम, सार्कि, गाइने आदि जातभएका परिचयपत्र बोक्न बाध्य बनाइएको छ ।
नेपाल सरकारले २०६५ सालमा मन्त्रिपरिषदको निर्णय बाट दलित समुदायका मानिसले आफूलाई हिनताबोध लाग्ने जातको सट्टा थरहरु कायम गर्न सक्ने निर्णय गरेर थियो। सो निर्णय अनुसार नागरिकतामा थर कायम गरि प्रतिलिपि प्राप्त गर्न सके पनि शैक्षिक प्रमाणपत्रमा सो–अनुसार कायम गराउन स्पष्ट व्यवस्था भेटिदैन् । फलस्वरुप उक्त सुविधाबाट लाभान्वित कम सँख्या मात्र भएको छ।
मेलै उच्च शिक्षा हासिल गर्दा देखि हाल विश्वविधालय स्तरको अध्यापन गराउदै आईपुग्दा सम्म अधिकांश समय नेपाली समुदायमा शिक्षित, बौद्घिक ,परिवर्तनकारी, प्रगतिशिल भन्ने जमातसँग समय विताउने मौका पाएको छु। उहाँहरु सँगको भेटमा र विभिन्न अन्र्तक्रियामा धेरैजसो शिक्षित, विद्घानहरु ले पनि तपाईहरुले आ-आफ्नो जातमा गर्व गनुपर्छ भन्दै विनामाग गरिएको सल्लाह सुझाव हामीलाई दिनुहुन्छ साथै नाम जातयुक्त परिचयपत्र लिन र आफूलाई सोहिअनुसार परिचित गर्न प्रेरित गरेको भेटेको छु।
त्यस्ता जमातले के आफू नै समाज हो भन्ने भ्रम पालेको हुनुपर्छ के त इतिहास नबुझेको, मानविय मनोविज्ञानको ज्ञान नभएको हुनुपर्छ। यदि विश्वविधालयको अध्ययन सँगै समाज र इतिहास पढेका र बुभेका जोसुकै मानिसले यस्ता विभेदभाव झल्किने कुनै कुराको पक्षधारमा रहने थिएनन । इतिहास हेर्दा हजारौ वर्ष देखी सयाँै पुस्ता भन्दा बढि दलित समुदायका पुस्ताहरुलाई कठिनाईपूर्ण, जोखिमयुतm र बढि श्रम लाग्ने कामको पुर्ण जिम्मेवारीको भार बोकाई त्यसको प्रतिफल भने आफ्ना जातिका दरसन्तानलाई मात्र प्राप्त हुने संरचना मिलाएका कारण ब्राहृमण र क्षेत्री जाती सधै आर्थिक सम्पन्न, शिक्षामा पहुँच, राजनैतिक पहुच, सामाजिक रुपमा प्रतिष्ठित र सम्मानित हुदै आयो ।
शासक र जित्नेहरुको इतिहास लेखिएकोले विरता, चातुर्यता, सत्ता र शक्तिको इतिहास उनिहरुको मात्र भेटिन्छ, शब्दकोश र पुस्तकमा ईज्जतपूर्ण शम्बोधन भेटिन्छ । ब्राहृमण र क्षेत्री जातीलाई आफ्नो जातिको थरयुक्त परिचय पाउने वित्तिकै मान, सम्मान, इज्जत प्राप्त गर्ने र कतिपय त भगवान को रुपमा पनि पुज्ने गरिएको छ तसर्थ उनिहरुलाई जातमा गर्व गर्नु स्वाभाविक हो । दलितको इतिहास भने दबाईएको, हेपिएको, अछुत, आर्थिक उपार्जन गर्न र शिक्षा लिनबाट समेत बञ्चित गरिएको, सबै क्षेत्रमा राज्य सत्ताले नै पिछाडी पारेको, कठिनपूर्ण र जोखिम कार्य गर्ने समुदायका रुपमा चित्रण गरेको सबै पुस्तक, शब्दकोषमा भेटिन्छ ।
सामाजका सबै कठिन र जोखिमपूर्ण काम गरी समाज सँचालनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको यो समुदायलाई विगतको इञ्जिनियर, सिप, कला गलाका साथ सँस्कृतिको रक्षक तथा समाजको विकासमा मूख्य भूमिका निर्वाहक को रुपमा सम्मान गर्नु पर्नेमा उल्टो घृणा, तिरष्कार र सामाजिक साँस्कृतिक रुपमा बहिस्कार युक्त जीवन विताउन बाध्य पारिएको छ । त्यसैले दलित समुदाय आफ्नो जातमा गर्व होइन हिनताबोध गर्छ।
जात भाईरस घटि बढि सबै नेपालीमा रहेको छ। कामको आधारबाट परिचित हुदाँ सम्मान प्राप्त गरिरहेको अवस्थामा नाम थरको परिचय पश्चात एकाएक सम्बोधन, व्यवहारमा परिवर्तन पाएको र नाम र हिनताबोधक जातयुक्त परिचयपत्रका कारण धेरै ठाउँमा हासोँ र मजाकको पात्र धेरै पटक भएका नमिठा र तिता अनुभवहरु छन्।
ग्रैरदलित साथिहरु दलितको नाम थर युक्त परिचय सुन्ने वित्तिकै बिनामागको शब्दहरु जस्तै तिमीहरुलाई त सरकारले कोटा छुट्टाएको छ पढ्न, जागिर खान एकदम सजिलो छ भनिहाल्छन । यस्ता कुरा दलितलाई अझ आफू बराबरको क्षमता भएको मानिस नठानेको र दलित निष्कृट नै भएको अर्थ साथ व्यक्त गरिरहेका भेटिन्छन् ।
यदि वास्तविकता बुभ्ने हो भने माध्यमिक तहसम्मको शिक्षा सबै जातजाति लाई निशुल्क रहेको र उच्च शिक्षामा सरकारीले सँचालन गरेका निकै कम सँस्था रहेका र बाँकी निजि र सार्वजनिक रुपमा सँचालित सँस्था भएकाले त्यस्ता सँस्थामा छात्रावृत्ति पहँुचवाला, राजनितिक कार्यकर्ता, आफन्त र भनसुनका आधारमा बढि लाभ प्राप्त गर्ने हुँदा दलित समुुदायले प्राप्त गर्ने कुरा कपोकल्पित मात्र हो।
त्यस्तै गरी जागिर को अवसरमा पनि सरकारी क्षेत्रमा मात्र आरक्षण को व्यवस्था हो जहाँ दलितको करिब १४ प्रतिशत जनसंख्या छ तर प्राप्त गर्ने आरक्षित सिट भने ९प्रतिशत मात्र हो। अर्थात कुनै १०० को ४५ प्रतिशतको ९ प्रतिशत गर्दा ४ जनामात्र दलितको कोटा पर्दछ भने ९६ जना अरु पर्दछन्। १४ प्रतिशत दलितको जनसङख्या रहेपनि ४ प्रतिशत मात्र सहभागिता हुन सक्ने व्यवस्था रहेको छ। भने निजी क्षेत्रमा भने क्षमता, चिनजान र पहुचका आधारमा जागिरको अवसर हुने स्पष्ट छ।
समाजमा अझ पनि व्यापार व्यवसायहरु पाण्डे किराना पसल, सापकोटा मिष्ठान भण्डार, भट्टराई होटल एण्ड लज जस्ता धेरै आफ्ना थरका नाम राखेर सँचालित गरेका छन् भने विश्वकर्मा होटल , नेपाली किराना पसल, परियार दुध डेरी जस्ता नाम राखिएका पसल कहि कतै भेटिदैन किनकी जात थरकै आधारमा व्यापार कस्को बढि हुने निश्चित छ । जातले ग्रैरदलितलाई सधै लाभान्वित गराईरहेको छ भने दलितलाई सधै अन्यायमा परिरहेको छ , हिनताबोध बनाईरहेको छ।
पढाईमा जति डिग्रीहरु हासिल गरेपनि, करोडौको सम्पत्ति आर्जन गरी समाजमा धनाढ्यको सूचिमा परेपनि मानिसको दर्जा र सम्मान प्राप्त गर्न नसकिएको समस्याबाट दलितका सबै जात गुज्रिरहेको अवस्था छ । विधालयका मातहतमा सँगै हुर्किरहेका, ज्ञान हासिल गरिरहेका फरक फरक थर गरेका बालबालिकाहरु आफ्नो पुर्खाैली अहमता र घृणता, उच निच जस्ता कुराहरुको बारेमा अनविज्ञ हुदा सम्म एक अर्कालाई समान ठान्छन् ।
बालमनोविज्ञानलाई प्रतिकुल प्रभाव नपार्ने गरी बौद्घिक जगतका रुपमा चिनिने र हरेक परिवर्तनका मुुख्य वाहक “शिक्षक÷ शिक्षिका” ले सुझबुझ साथ हुदै गरेका थर परिवर्तन सम्बन्धि व्यवहारीक कार्यलाई आत्मसाथ गरी सकारात्मक ज्ञान छर्न सकेमा आउदो पुस्ता पुराना कुरीतिमा नअल्झिएको उन्नत सोच भएका मानब बन्न सक्ने आशा गर्न सकिन्छ। प्रकृतिको एक सुन्दर, सबै भन्दा बढि विवेकशिल प्राणीको रुपमा मानव जाति रहेको भए पनि मान्छे मान्छे बिच उच निच बनाउने यो जातव्यवस्थाको अन्त्य हुन नितान्त आवश्यक छ । प्रचलित जातव्यवस्थाको अन्यसँगै दलित जातिले पनि आफ्नो जातमा गर्व गर्ने दिन आउने छ ।-(लेखकका नीजि विचार हुन्।)
प्रतिक्रिया