ताजा अपडेट »

देउवाले प्रचण्ड र नेपालसँग मागे एमसिसीमा संशोधन गर्नुपर्ने बुँदा

बुधबार, १९ माघ २०७८, १९ : ३३
4 Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् ।

बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उलब्ध गराउन आग्रह गरेका हुन् । 

छलफलका क्रममा प्रचण्ड र नेपालले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने विषयबारे प्रश्न गरेका हुन् । 

‘एमसिसीमा कुन-कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने  । 

 उनले देशका हितमा हुने कुरामा असहमति रहने कुरा नभएको  बाँकी कुराहरु संशोधन गर्नुपर्ने उनले बताए ।  एमसिसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाए  ।

‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन्,’ उनले भने । 

नेता नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको भन्दै कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।