ताजा अपडेट »

बुटवलमा काटेको ३० हेक्टर क्षेत्रफलको धानबाली क्षति

विहीबार, ०४ कार्तिक २०७८, ११ : १०
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले बेमौसमी वर्षाका कारण कृषकको ३० हेक्टर धान बालीमा क्षतिको भएको विवरण निकालेको छ । उपमहानगरले प्रारम्भिक रुपमा गरेको अध्ययन अनुसार काटेर राखिएका १० प्रतिशत मध्येको ३० हेक्टर धान बालीमा क्षति भएको विवरण निकालेको हो ।

साताको पहिलो दिन कार्तिक १ गते आइतबारदेखि मँगलबार ३ गते सम्म परेको वर्षाले कृषकहरुले काटेर खेतमै राखेको धान बालीमा क्षति भएको विवरण निकालेको हो । क्षतिको विवरणका आधारमा तत्कालिन राहतका कार्यक्रम बनाउने उपमहानगरले तयारी गरेको छ ।
प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण संकलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिएका थिए । कृषि क्षेत्रमा परेको असरका बारेमा जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको नेतृत्वमा कृषि क्षेत्रमा विशेषज्ञहरुसहितको टोलीले निरिक्षण तथा अनुगमन गरिरहेको छ । प्रत्येक कृषकको घर–घरमा पुगेर एकिन तथ्याङ्क संकलन गर्ने काम अझै बाँकी रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

बुटवलमा यो वर्ष करिब ३ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । जसमध्ये करिब १० प्रतिशत क्षेत्रमा अर्थात ३ सय हेक्टर क्षेत्रफलमा धान पाकेर काटिसकेको अवस्था छ । त्यसमध्ये ३० हेक्टर क्षेत्रफलमा रहेका धान बालीमा क्षति भएको रेग्मीले बताए । निरीक्षणको प्रारम्भिक रिपोर्ट अनुसार वर्षाले काटिसकेको धानमा क्षेति पुगेको, तरकारी र फलफुलका विरुवामा नर्सरीमा क्षति पुगेको छ ।

वर्षातले पारेको क्षतिको विवरण संकलनका लागि कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, प्राविधिक सहायक सोमनप्रसाद कुर्मी र वडा कृषि प्राविधिक वंशगोपाल मिश्रलगायतको टोली खटिएको अनुगमन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए । क्षतिको सम्पूर्ण विवरण संकलन गरिसकेपछि लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयसँग समन्वय गरी उचित राहतको व्यवस्था गरिने उपमहानगरले जनाएको छ ।

उपमहानगर आफैले क्षतिपूर्ति दिन सक्ने वा नसक्ने बारेमा सम्पूर्ण विवरण आएपछि मात्र एकिन गर्न सकिने भएकाले अनुगमनलाई तीब्रता दिइएको उपमहानगरका प्रवक्त रेग्मीले जानकारी गराए । आज विहिबार वर्षा रोकिएर घाम लागेको अवस्थामा क्षतिमा केही कमी आउन सक्ने विज्ञहरुले बताएका छन् । कृषकले धान काटेर खेतमै राखेको अवस्थामा वर्षाले डुबानमा पर्दा क्षति व्यहोर्नु परेको छ भने काट्न बाँकी रहेका धान बालीमा समेत आंसिक क्षेति पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।