१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताए।

Advertisement

उनले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिउ। माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए।

आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उनको भनाइ थियो । समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा(एमाले)सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उनको तर्क थियो । 

ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भने, “यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।” उनले अगाडि भने, “अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ ।” अर्को प्रसङ्गमा उहाँले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गरे। 

उनले भने, “प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको छ । यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ ।” भेलामा बसिराख्दा आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै उनले भने, “यो ४० वर्षको समीक्षा मैले गरेको छु ।” 

भेला सफलताको शुभकामना दिँदै अर्थमन्त्री एवं माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले समाजवादको दिशा निर्माण गर्न पार्टी नेतृत्वलाई सहयोग गर्ने दायित्व वाइसिएलको काँधमा रहेको बताए । 

कम्तीमा १५ लाख युवालाई वाइसिएलमा सङ्गठित गरी उनीहरूलाई उत्पादन र रोजगारीमा जोड्ने गरी योजना बनाउन वाइसिएल नेतृत्वलाई उनले निर्देशन गरे । वाइसिएललाई अब परिवर्तनको उपलब्धिको रक्षा गर्ने, रक्षकको रूपमा, सामाजिक, सांस्कृतिक रुपान्तरण, आर्थिक विकास र समृद्धिको संवाहकको रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । 

प्रदेश–१ का माओवादी केन्द्रका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश–२ का माओवादी केन्द्रका नेता अच्युतम काफ्ले, वाग्मती प्रदेश माओवादी केन्द्रका सहइञ्चार्ज नारायण दाहाल, गण्डकी प्रदेश माओवादी केन्द्रका इञ्चार्ज हितराज पाण्डे, लुम्बीनी प्रदेश माओवादी केन्द्रका इञ्चार्ज चक्रपाणि खनाल, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा माओवादी केन्द्रका सहइञ्चार्ज महेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्री त्रिलोचन भट्टले भर्चुअल माध्यमबाट भेला सफलताको शुभकामना दिए ।

यस्तै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, नेकपा (एकीकृत समाजवादी) सम्वद्ध युवा सङ्घका महासचिव दीपक जिएम लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।  

वाइसिएलको राष्ट्रिय भेला सुरु

नेकपा (माओवादी केन्द्र)को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने भेलाको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गरे। भर्चुअल माध्यमबाट भइरहेको भेलाको काठमाडौँमा भने उद्घाटन कार्यक्रमको आयोजना गरी शुभारम्भ गरीएको हो । सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाइरहेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

उनले भेलामा अबको युवा आन्दोलनको राजनीतिक कार्यदिशा, अबको सङ्गठनात्मक कार्यदिशा कस्तो हुने र कस्तो नेतृत्व प्रणाली गर्नेबारे गम्भीर बहस गर्ने बताए। ‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । 

भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेका छन् । भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहेको आयोजकले जानकारी दिएका छन्  । रासस

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा