Apr 2, 2023
काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको माग सम्बोधन गर्न सहमत भएका छन् । निवास बालुवाटारमा भएको शिर्ष नेताको छलफलपछि देउवा पौडेल पक्षका मागहरु सम्बोधन गर्न तयार भएका हुन् ।
पौडेल पक्षका जिल्ला सभापतिहरू क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने, जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्नेलगायतका माग राखेर अनशनरत छन् ।
देउवासँगको भएको छलफल र सहमतिबारे नेता पौडेलले शनिबार सिंह निवास चाक्सीबारीमा बसेको बैठकमा ब्रिफिङ गरेका छन् । ‘विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुंग्याउने र महाधिवेशनमा जाने सभापतिज्यूसँग सहमति भएको छ ।’ बैठकमा पौडेलको भनाई उदृत गर्दै एक नेताले भने ।
देउवा सहमत भएसँगै जिल्ला सभापतिको अनशन तोडाउने तयारी भएको छ । उनीहरु चार दिन देखि केन्द्रीय कार्यालयमा रिले अनशन गरिरहेका छन् ।
देउवा र पौडेलले नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदललाई जिल्ला सभापतिका मागबारे छलफल गरेर अनशन तोडाउन जिम्मेवारी दिएका छन् । यसबारे छलफल गर्न जिल्ला सभापतिहरु चाक्सीबारी बैठकमा पुगेका थिए ।
प्रतिकृया दिनुहोस्