ताजा अपडेट »

अफगान फुटबल खेलाडीको देश छोड्ने कोसिसमा विमानबाट खसेर मृत्यु

शुक्रबार, ०४ भदौ २०७८, ११ : ३१
13 Shares

काठमाडौँ । अफगानिस्तानमा एक युवा फुटबल खेलाडीको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ । जकी अनवर काबुलबाट निस्किएको एक अमेरिकी सैन्य विमानमा लुकेर चढ्ने कोसिस गरिरहेका बेला उनको मृत्यु भएको बताइएको छ ।

अफगानिस्तान प्रशासनले विमान चढ्ने कोसिसमा जकी अनवरको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि, उनको मृत्यु कहिले भयो, यसको जानकारी भने दिइएको छैन । १९ वर्षका जकी अनवरीले अफगानिस्तानको राष्ट्रिय युवा टिमका लागि खेलिसकेका छन् । अफगानिस्तानमा तालिबानको कब्जापछि केही दिन अघि हज्जारौं मानिसहरु देशबाट निस्कने कोसिसमा काबुलको हवाई अड्डामा जम्मा भएका थिए । यहाँबाट पश्चिमी देश आफ्ना नागरिक र अफगान सहकर्मीलाई देशबाट बाहिर निकालिरहेका थिए ।

काबुल विमानस्थलबाट सार्वजनिक भएका थुप्रै भिडियोमा थुप्रै मानिसहरु विमान सँगसँगै दौडिरहेको र विमानमाथि चढिरहेको देखिएका थिए । थुप्रै मानिसहरु विमानमा जबरजस्ती प्रवेश गर्ने कोसिस गरिरहेका थिए । स्थानीय मिडियाको रिपोर्ट अनुसार हवाई जहाज उडेपछि कम्तीमा दुई जनाको खसेर मृत्यु भएको छ । अफगानिस्तानको शारीरिक शिक्षा एवं खेल महानिर्देशनालयले फेसबुकमा एक बयान जारी गरेर जकी अनवरीलाई श्रद्धाञ्जली दिएको छ ।

महानिर्देशनालयले भन्यो, ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, साथी र साथी खेलाडीका लागि प्रार्थना गर्नुहोस् ।’-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।