Mar 31, 2023
बुटवल । जनता समाजवादी पार्टी जसपाले व्यवसायीहरुलाई ३ महिनाको घरवाहल कर र अन्य दैदस्तर छुटको व्यवस्था गर्न माग गरेको छ । जनता समाजवादी पार्टी बुटवल उपमहानगर कमिटिका अध्यक्ष बामदेव भुसालले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै विगत २ महिनादेखी जारी निषेधाज्ञाका कारण सम्पूर्ण व्यापार व्यवसाय बन्द गरी बसेका व्यवसायि÷उद्यमीहरुलाई राहत स्वरुप आर्थिक वर्षको कम्तीमा ३ महिनाको घरवाहल कर र अन्य दैदस्तर छुटको व्यवस्था गरी व्यवसायिहरुलाई संकटबाट तंगी्रने अवसर प्रदान गर्न माग गरेको हो ।
साथै लामो समयदेखि व्यापार व्यवसाय बन्द हुँदा बजारमा खाद्यवस्तुहरुको उपभोग्य म्याद मुजिएका खाद्य सामाग्रीहरुको बिक्री वितरण हुने खतरा बढेकोले त्यस्तो खाद्य वस्तुले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने हुँदा आवश्यक अनुगमन गरी त्यस्तो कार्यलाई निरुत्साहित गर्न आग्रह गरेको छ । यस्तै कोभिड १९ को संक्रमण रोकथाम गर्दै नगरवासीहरुको स्वास्थ्य सुरक्षाको लागिको लागि तत्काल सबै नागरिकलाई खोपको व्यवस्थ पहल गर्न र जोखिम न्यूनिकरणका लागि निःशुल्क कोभिड टेष्ट गर्न समेत आग्रह गरेको छ ।
नगरमा सञ्चालित विकास निर्माणका कार्यहरुको गुणस्तरियता माथी प्रश्न उठ्ने गरेको र असार मसान्त नजिकिदै गर्दा जताततै देखिएको अवस्थामा नगरपालिकाले गुणस्तरिय काम भएको/नभएको यकिन गरि गुणस्तरहिन काम गरि बजेट सक्ने परिपाटीको अन्त्य गर्न पनि जसपा बुटवल उपमहानगर कमिटिले आग्रह गरेको छ ।
यसैबिच बर्षातको सुरुवाती सँगै नगरका विभिन्न बस्तीहरुमा बाढी र डुबानको जोखिम रहेको भन्दै जोखिममा परिसकेका र संभावित जोखिम क्षेत्रका नगरबासीहरुलाई सुरक्षित स्थानमा पुर्नवासको व्यवस्था गर्न पनि जसपाले माग गरेको छ । प्राकृतिक प्रकोपजन्य घटनाबाट प्रभावित र पिडितहरुको उद्दार, राहत तथा व्यवस्थापनमा विशेष ध्यान दिन अनुरोध पनि गरेको छ ।
नगरपालिकाले लिएको ’स्वच्छ र सुन्दर नगर नितीप्रती हाम्रो पार्टीको पूर्ण समर्थन रहेको भन्दै अवगत गराउदै नगरको स्वच्छता र सुन्दरताका लागि सडक छेउछाउ, चोक तथा खाली जमिनमा प्रयाप्त वृक्षारोपण गरी नगरका मुख्य चोक तथा भिडभाड हुने ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाउन जसपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बामदेव भुसाल, कमल खनाल, पंकज राई, विमल गिरी, प्रेम बहादुर अर्याल, विजय ढकाल लगायतका नेताहरु गएका थिए । ज्ञापनपत्र बुझाउन भन्दा अघि जसपाका नेता तथा कार्यकता बुटवल उपमहानगरपालिकाको गेट अगाडी विभिन्न प्ले कार्ड सहित धर्ना बसेका थिए ।
प्रतिकृया दिनुहोस्