ताजा अपडेट »

कोभिड–१९ विरुद्धको लडाइँमा राष्ट्रिय युवा परिषद्

मंगलबार, ०४ जेठ २०७८, २१ : २४
30 Shares


युवा भविष्यको कर्णधार मात्र नभएर वर्तमानको सहयात्री पनि हो । युवा राजनीतिक, आर्थिक र समाजिक परिवर्तनका संवाहक हो । युवाको सक्रिय सहभागितामा ठुल्ठुला परिवर्तन भएका छन् । शासनव्यवस्था फेरिएका छन् । युवाले असम्भवलाई पनि सम्भव बनाएका कैयौं उदाहरणहरु हाम्रो सामु छन् । इतिहासको कठिन काल खण्डहरुमा युवाले महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका छन्,खेल्दै आएका छन्। महामारी,प्रकोप, संकटको घडिमा युवा वर्गले सकारात्मक र सृजनशिलतका माध्यमबाटै समाधानका उपायहरु निकालेका छन् । आज फेरी हाम्रो सामु कठिन समय आएको छ । युवावर्गको परीक्षा सुरु भएको छ । हाम्रो सामु अहिले कोभिड–१९ चूनौती बनेर उभिएको छ ।

यो महामारीका कारण धेरै जनधनको क्षति हुँदैछ । नागरिकहरु फेरी एकपटक घरभित्र बाँधिन बाध्य छन् । आमनागरिकहरु त्रसित र भयभित भएका छन्। रोग, भोक, शोकसँगै मनोवैज्ञानिक समस्याहरु देखिन थालेका छन् । संक्रमतलाई कहाँ, कसरी लैजाने? सामान्य लक्षण हो कि वा कोभिड–१९ नै हो? कोसँग मनोवैज्ञानिक परामर्श लिने?, कोभिड–१९ को उपचार, रोकथामका निम्ति संघ,प्रदेश र स्थानीय सरकारले के–कस्तो सेवा सुविधाहरु प्रदान गरेको छ ? र थप अन्य तह तप्काबाट के–कस्तो हुँदैछ ? भन्ने कुरा समयमा सहि सूचनाहरु नागरिकहरुले थाहा नपाउँदा जनधनसँगै थप दुःख पाएका छन्। अन्यौलता बढेको छ ।

महामारीको मौका छोपेर कृतिम खाद्य वस्तुसँगै अतिआवश्यक वस्तुहरुको कृतिम अभावले जनता पीडित भएका छन्। कोभिड–१९ को संक्रमणका साथै लकडाउनका कारण निम्न आय भएका श्रमिक, दैनिक ज्यालादारी गर्ने मजदुर,किसान, भाडामा बस्ने परिवारका जीवन कष्टकर हुँदैछ । यसको मार प्रत्यक्ष युवावर्गलाई परेको छ। राष्ट्रिय युवा परिषदको ऐन, २०७२ र युवानीति २०७२ ले १६ वर्ष देखि ४० वर्ष सम्मको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ। जुन नेपालको जनसंख्याको ४०.३५ प्रतिशत हुन आउँछ । यी ४०.३५ प्रतिशत युवालाई सहि रुपमा परिचालन गर्न सकियो भने हामीलाई कोभिड–१९ विरुद्धको लडाई लड्न सहज हुन्छ।

राष्ट्रिय युवा परिषद् नेपाल सरकारद्वारा स्थापित युवाहरुको साझा मञ्च हो । जहाँ संघदेखि स्थानीयतहसम्म हजारौं युवाहरु विभिन्न माध्यमबाट आवद्ध रहेका छन् । राष्ट्रिय युवा परिषद् प्रधानमन्त्री तथा मन्त्रिी परिषद्को कार्यालय, शिक्षा विज्ञान तथा प्रविधिक, कृषि तथा पशुपंक्षी पर्यटन, स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, उद्योग, युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रिय सूचना प्रविधि केन्द्र यसका सम्बद्ध निकायहरु रहेका छन् । जसले युवा केन्द्रित ऐन कानून निर्माण तथा कार्यानवयन गर्नका निम्ति भूमिका खेल्दै आएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा राष्ट्रिय युवा परिषद्ले ‘कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र’ स्थापना गरी अभियान थालेको छ। जसको मुख्य काम विभिन्न निकायहरुसँग सहकार्य गर्दै संघदेखि स्थानीयतहसम्म सम्बन्धित निकायका प्रतिनिधि र युवा परिचालन मार्फत कोभिड –१९ को रोकथाम, नियन्त्रण र उपचार सहज गराई दैनिक आवश्यक वस्तुहरुको नियमित आपूर्ति गर्न, संकटको घडीमा बजारको बेथितिको जानकारी सरकारी नियमनकारी निकायहरुलाई गराउन र कृषि तथा उपभोग्य वस्तुहरुको उत्पादन र वितरणलाई सहज गराउने अभियान थालनी गरेको छ । जुन आँफैमा सकारात्मक पहल कदम हो । यसले, यो संकटको बेला केहि गर्न खोज्ने युवाको लागि पनि साझा मन्च प्रदान गरेको छ । हामी युवाले केहि गर्नु पर्छ भन्ने भावना सृजना गरेको छ ।

विज्ञहरुका अनुसार कोभिड–१९ को दोस्रो लहर धेरै नै खतरनाक रहेको बताउँदै आएका छन् । त्यसका लागि हामीले आफ्नो ठाउँबाट सुरक्षित रही आफ्नो परिवार, आफन्तजन, इष्टमित्र साथै अन्य मानिसको जीवन रक्षाका निम्ति आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ । कोभिड–१९ विरुद्ध सरकारको मात्र लडाई नभएर हामी सबैको साझा लडाई हो । हामी सबै मिलेर यो कोभिड–१९ को महामारीलाई प्ररास्त गर्न जरुरी छ । जब आपत–बिपत आउँछ । त्यतिबेला सरकारसँगै नागरिकहरुले आ–आफ्नो ठस्थानबाट जीवन रक्षाका निम्ति पहल कदम चाल्नु सक्नुपर्छ । मिलेर समस्याको समाधान गर्नु सक्नुपर्छ । राहत तथा सेवाहरु प्रदान गर्न सबैले हातेमालो गर्न सक्नुपर्छ । यस्तो बेलामा सरकार, नागरिक समाज, विभिन्न संघसस्थाहरु, सञ्जालहरु, जनप्रतिनिधिहरु, युवा क्लबहरु लगायत समाजमा रहेका सम्पूर्ण निकायहरुले मिलेर काम गर्न आवश्यक छ ।

यो संकटको समयमा कोभिड–१९ विरुद्ध राष्ट्रिय युवा परिषद्ले कार्यकारी उपाध्य क्षमाधव ढुंगेलको संयोजकत्वमा १७ सदस्यीय कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्रिय स्तरमा स्थापना गरेको छ। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, फ्रन्टलाइनमा सेवारत स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, जिल्ला युवा समितिका अध्यक्षहरु, राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्यहरु, त्यस्तै नेफ्सकुन, मेडिकल काउन्सिल, रिटर्नी माइग्रेन्टस्, आइ.एल.ओ तथा विकास साझेदार संस्थाका प्रतिनिधि, एन.जि.ओ फेडेरेसनका प्रतिनिधि, उद्यमी सञ्जाल, राष्ट्रिय युवा क्लब सञ्जालका प्रतिनिधि रहेका छन् । त्यस्तै बोर्ड सदस्यहरुलाई प्रदेश र जिल्ला अध्यक्षहरुको नेतृत्वमा जिल्ला तहमा जिम्मेवारी दिइएको छ ।

जसको काम विभिन्न निकायगत समन्वय गरी कोभिड–१९ को प्रकोपको रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धता सहजतका निम्ति सम्बन्धित निकायसँग समन्वयन गर्नु रहेको छ । ‘कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र’ले यो विषम परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहबाट कोभिड –१९ रोकथाम र उपचारका लागि विभिन्न काम थालेको छ । जस्तै : कोरोनाभाइरस रोकथाम र उपचारमा संघ, प्रदेश र स्थानीय सरकारलाई सहजीकरण गर्ने । राष्ट्रिय युवा परिषद्माप्राप्तहुनआएका सूचनाका आधारमा नागरिकको जीवन रक्षाका लागि तत्काल भरसक पहल गर्ने । अस्पताल तथा अन्यउपचार केन्द्रहरूलाई मेडिकल सामग्री उपलव्ध गराउन प्रयत्न गर्ने। राष्ट्रिय युवा परिषद्मा सूचना तथा सञ्चार केन्द्रको सञ्चालन गर्ने ।

कोभिडको असरले जनजीवनमापारेको प्रभावलाई न्यूनीकरण गर्न मनोपरामर्श र चिकित्सकीय सेवा उपलव्ध गराउने।प्रकोप रोकथामकालागि सचेतना सामग्री संकलन, उत्पादन, वितरण तथाप्रशारण गर्ने।प्रकोपले पारेको प्रभावको यथार्थ अवस्थाबारे जानकारीका साथ सम्बोधन गर्न फिल्ड अध्ययन गर्ने । औषधि तथा दैनिक अत्यावश्यकीय सामग्रीको खरिद तथा वितरणमा कालोबजारी वा भ्रष्टचार भएको पाइएमा सप्रमाण सरकारी नियामक निकायमा जानकारी गराउने । आफ्नो कार्यक्षेत्र भित्र कोभिड संक्रमितको समस्या पहिचान गरी समाधनमा सहजीकरणको भूमिका निर्वाह गर्ने । प्रदेश सरकार, रेडक्रस, हस्पिटल तथाप्रादेशिक अस्पतालहरू र प्रदेशस्तरमा सञ्चालित राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग आवश्यक समन्वय गरी श्रोत समन्वय तथा परिचालनको प्रभावकारी भूमिका निर्वाह गर्ने । केन्द्रद्वारा सञ्चालन हुने ‘कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र’ले आफ्नो कार्यक्रममा आफ्नो प्रदेश भित्रका युवा, विद्यार्थी, महिला तथा आमनागरिकलाई सहभागी गराउन भूमिका निर्वाह गर्ने। आफ्नो प्रदेशमा विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँग समन्वय गरी कोभिड महामारी नियन्त्रण सामग्री वितरणको कार्यक्रमको संयोजन गर्ने ।

कोभिड महामारीमा उपचारका लागि वेड, अक्सिजन, आई सि यु, ब्लड व्यवस्थापन आदिको व्यवस्था गर्न आवश्यक समन्वयका साथ सम्भव भए प्रदेश सरकारसँगको समन्वयमा कोभिड अस्थायी उपचार केन्द्र निर्माणमा संयोजन तथा सहजीकरणको भूमिका निर्वाह गर्ने । कोभिड परीक्षणलाई छिटो र छरितो वनाउन कोभिड परीक्षण मोवाईल टोलीनिर्माण तथा परीक्षणमा होम सर्भिस दिने कार्यमा अस्पतालहरूसँगको समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्ने । कृषि कार्यमा युवा तथा आमनागरिकलाई प्रोत्साहित गर्ने, सहुलियतपूर्ण कर्जा सहजीकरणको भूमिकानिर्वाह गर्ने जस्ता जिम्मेवारी रहेका छन् । यो कोभिड–१९ हामी सबैको साझा समस्या हो । यस्तो भयावह अवस्थामा हामी सबैले आफ्नो ठाउँबाट कोभिड–१९ महामारी विरुद्धको लडाईमा लड्न जरुरी छ । सम्पूर्ण युवावर्गहरुले आ–आफ्नो ठाउँबाट हातेमालो गदै कोभिड–१९ विरुद्ध एक जुट भएर लड्न जरुरी छ । हामी सबै मिलि कोभिड–१९को महामारी विरुद्ध विजय हासिल गर्ने छौं। –लेखक राष्ट्रिय युवा परिषद् बोर्ड सदस्य हुन् ।

https://www.globalaawaj.com/archives/96657
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।