ताजा अपडेट »

गाउँ : कोरोनालाई चूनौती, दुःखको बिसौनी

आइतबार, ०२ जेठ २०७८, १९ : ४८
46 Shares


‘कान्छा म त बुढो भए रुखलाई किरा किरी धमिरोले खाए जस्तै मलाई पनि रोगहरुले खाई सके अब त कति बाँच्छु होला ? जति बाँच्छु यही घरमै यही चौको र्मै म मर्दासम्म यही गाउँमै उत्पादन गरेको दाल तरकारी खाएर मर्न मन छ ।’ अधिकांश बाउबाजेले गाउँघरका आफू सुत्ने मूलचौकीमा सुतेर आफ्ना सन्तानलाई सुनाउने वाक्यांश हो यो ।‘शहरबाट ल्याएको विषादी हालेको खाने मन छैन,अहिलेसम्म पनि खाएको छैन,मर्ने बेलामा किन खानु ?’उनीहरुको यो भनाई अहिले पनि कतिपय अग्रज वृद्धवृद्धाहरुले आफ्ना सन्तानलाई सुनाउँदै आएको पाइन्छ । खासगरी कुनै पर्व, मेला वा कुल पूजामा जमघट हुने बेलामा अधिकांश अग्रज वृद्धवृद्धाहरुको पुरानो कथा, उनीहरुको मनको वह सुन्ने अवसर सबैलाई हुन्छ।

गाउँमा कहिल्यै पनि विषादी हालेको भन्ने कुरा सन्न पाइएन, कहिकतै विषादी हालेर व्यापार गर्ने गरी पेशा गरेको पाइएमा गाउँलेहरुले नै त्यो खाद्यान्न उपभोगमा इन्कार गर्दथे, जुन काम अहिले पनि जारी छ । विषादीले मानिसको आयु छोट्याउँछ अधिकांश पाका पुस्ताहरुले उद्धरण गर्ने यो शब्द हालसम्म पनि ताजै छ । गाउँघरमा अहिले पनि चिटिक्क परेको घर, वारी, खर खर्यान यत्तीकै छ । बाँचुञ्जेल यही माटोमै यही उब्जेको खान मन छ यो ठाउँ छाडेर एक दिन अन्त गए भने त्यो दिन गाई गोठ खेतीपातकिो गाउँको यादले जो कोहीलाई पनि सताउँछ । आफैले खेती गरेर उब्जाएर आफ्नै पौरखको गाउँको माटोमा खियाएको नङ्ग्राले उब्जाउ गरेको खाने रहर जो कोही पनि पनि हुन्छ । ‘शहरको खाना कहिले नखाएस खानामा विषादी हुन्छ , भोक त मेटाउला तर, त्यो विषादीले राम्रो गर्दैन त्यसैले गाउँमै बसेर आफै खेतीपाती खानु पर्दछ ।’भन्ने मान्याता अहिले पनि पाका पुस्तामा हुन्छ ।

आजभोलि धेरै मानिसलाई शहरका ती ठूला–ठूला उज्याला घर भन्दा खरले छाएको सानो झुपडी नै प्यारो लाग्दैछ। सम्मोबारी भन्दै तराई झरेको छोराले ‘मेरा बाले भनेको साँचो रहेछ’ भन्ने महशुस गर्न थालेका छन्। भिराला नै किन नहोस् राम्रो गरे उपयुक्त खान त्यहि गाउँनै सुरक्षित रहेछ । ‘उकालो–ओरालो मेलापात गर्दै खाएको खानाको मज्जा बेग्लै हुन्छ ।’ भन्दै गाउँ फिर्नेहरुको पनि संख्या बढ्दै छ । दशै आउँदा गाउँ जान पर्ने,नाका बन्द हुँदा गाउँ जानपर्ने, भूकम्प आउँदा गाउँ जानपर्ने ,सुबिधा सम्पन्न हस्पिटल भनेर झरेको शहरले आज महामारि आउँदा सुविधा दिन सकेनन् त्यसो हँुदा नि गाउँ नै जानपर्ने आखिर ती ठूला महलमा बनेका अस्पतालले नि आज गाउँ भन्दा सुरिक्षत अन्तरहेनछ भन्ने सिकाए , आखिरसहरमा के नै रहेछ ।

शहर छेउछाउका घर ति समथर फाँटहरु भन्दा कैंयौ गुणा गाउँका भिराला खर्यान् बारी प्यारा लाग्दैछन् । शहरमा प्रयोग गरिने विषादी भन्दा गाउँमै गाई भैसीको मलमूत्रले विषादी भन्दा बढी औषधिको काम गर्दो रहेछ । ती बाँजा,खेतबारी वर्षौदेखि बाँजा रहेका जमिनले अब मलसँगै मानिसको पैतालाको स्वाद पाउने भएका छन् । गाउँ नजिकैको जङ्गलमा गाइ–गोरु गोठालाको भिड लाग्ने छ । त्यहाँ रहेका जङ्गली जनावर पनि मानिसको आभाषमा रमाउने छन् । ती बाबियो भरिएको खरायन अब सफा हुनेछन् गाउँनै सुन्दर हुने छ ।

इतिहास कालमा पनि पुर्खाहरुले सम्मो परेको तराईं फाँटमा किन जग्गा किनेनन् होला, सस्तो जति विघापनि पाइने फाँट बाउ– बाजेहरुले किन कब्जा गरेनन ? वा किन्ने भन्ने अधिकांश नयाँ पुस्ताहरुको प्रश्न अहिले पनि रहन्छ । तर, पाका पुस्ताहरुमा पाकोपना भनेको यहि हो रहेछ भन्ने कुरा प्रमाणित भएको छ । खासगरी यी र यस्तै महामारीबाट गाउँ अहिले पनि सुरिक्षत छ । कुनैपनि विपत्तिमा गाउँ जहिले पनि सुरिक्षत रहन्छ । भलै गाउँ विकासबाट टाढा छ। तर, पनि गाउँमा स्वच्छ हावापानी छ, कलकल झरना छन्, चराहरुको चिरविर अहिले पनि छ । गर्मीको मौसममा त्यहाँ आँतै तात्ने गरी गर्मी हुन्न, चिसोको सिरेटोमा आँत काम्ने गरी जाडो पनि हुन्न,साँच्चै गाउँ अहिले पनि स्वर्ग जस्तै छ, अहिले पनि प्यारो छ, गाउँ घरको माटो, हावा–पानी, वातावारण, पाखा पखेराहरुले अहिले पनि बोलाई रहेको छ । फेरीपनि बोलाइरहनेछ, युगौ युगसम्म बोलाइरहनेछ ।

https://www.globalaawaj.com/archives/35282
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।