ताजा अपडेट »

नमूना बन्ने यात्रामा सैनामैना मावि

आइतबार, २६ जेठ २०७६, १४ : २१
24 Shares

कुनै समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको विषयलाई लिएर नाक खुम्चाउने अविभावकहरुको विचारमा व्यापक परिवर्तन आएको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरु सस्तो र एक उत्कृष्ट शैक्षिक गन्तव्य हो भन्ने कुरा केही सामुदायिक विद्यालयहरुले सावित गरिसकेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकासँग जोडिएको सैनामैना नगरपालिका वडा नम्बर–१ मा अवस्थित सैनामैना उच्च माविमा भएको शैक्षिक प्रगति र गुणस्तर सुधारले अविभावक दंग छन् ।

आफ्नो कार्यकक्षमा प्राचार्य नेत्रलाल पुरी

वि.स. २०३१ सालमा स्थापना भई २०३५ सालदेखि निमावि तहको अध्यापन तथा २०६६ सालमा एसएलसी परिक्षामा विद्यार्थी सहभागि गराएको यस विद्यालयमा हाल व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११ र १२ सञ्चालनमा रहेको छ । २ विगाह ४ कट्ठा क्षेत्रफलमा फैलिएको यस विद्यालयमा ९ सय ७ जना विद्यार्थीले अध्यन गरिरहेका छन् ।

विद्यालयले सञ्चालन गरेको भर्ना अभियानमा प्रवेश पशिक्षामा सहभागि हुँदै विद्यार्थी

सैनामैना नगरपालिका भित्रका तथा छिमेकी जिल्ला पाल्पाको साविक कचल गाविसबाट समेत अध्ययनका लागि आउने यस विद्यालयले नयाँ मुहार फेर्दै जिल्लाकै नमूना शैक्षिक संस्थाको रुपमा परिचय कायम गर्ने प्रयासमा छ । विद्यालयले पछिल्लो तीन वर्षमा शैक्षिक स्तर सुधार तथा भौतिक पूर्वाधार निर्माण र सुधारमा समेत उल्लेख्य परिवर्तन र विकास गरेको दाबी गर्छन प्राचार्य नेत्रलाल पुरी । ग्रामीण भेगका तथा कृषकका छोराछोरी बढी आउने यस विद्यालयले अंग्रेजी तथा नेपाली दुबै माध्यमबाट पठनपाठन गराईरहेको छ ।

सैनामैना उच्चमाविको नवनिर्मित भवन ।


केहीवर्ष पहिले यस विद्यालयमा विद्यार्थी भर्ना गर्न अनकनाउने अविभावकमा आएको सकारात्मक सोचले उत्साहित भएको बताउँछन् प्राचार्य पुरी । यो सफलमा आफू एक्लैको मात्र नभएको बताउँदै उनले विद्यालय व्यवस्थापन समितिको सहयोग र अविभावकमा शिक्षाप्रति आएको चेनताले ठुलो शैक्षिक गन्तव्यको सुरुवात भएको उनको भनाई छ । शैक्षिक गतिविधिका बारेमा सैनामैना उच्च माविका प्राचार्य नेत्रलाल पुरीसँग गरिएको कुराकानी ।

सैनामैना सामुदायिक विद्यालयले आफ्नो परिचयको स्तर उचाईमा पुर्याइरहँदा, विद्यालयको अवस्था र शैक्षिक गतिविधि बारे बताईदिनुस् न ?
–सामुदायिक विद्यालय सस्तो र गुणस्तरिय शिक्षा प्रदान गर्ने एक मात्र विकल्प हो भन्ने कुराको उदाहरण दिन सक्ने विद्यालय हो सैनामैना । हामीले समयको मागअनुसार शिक्षा पद्धतीलाई पनि परिमार्जन गर्दै वि.स. २०७४ सालदेखि कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई अंग्रेजी माध्येमबाट अध्यापन सुरु गरेकोमा अहिले कक्षा नर्सरीदेखि नै अंग्रेजी र नेपाली दुबै माध्यममा कक्षा सञ्चालन गरिरहेका छौं । शैक्षिक स्तरको व्यापक सुरधार भएपनि भौतिक संरचनाहरु अझै प्रयाप्त छैनन् । त्यसका लागि पनि हामिले पहल गरिरहेका छौ । भौतिक संरचना निर्माण गर्दा यो विद्यालय केही ऋणमा परेको छ । योजनावद्ध अगाडी बढेको हुनाले ती सबै समस्याको समाधान गर्दै सुविधासम्पन्न र उत्कृष्ट नमूना विद्यालय बनाउने हाम्रो चाहना हो ।

प्रार्थनाका लागि पङ्तीबद्ध विद्यार्थी

प्राय शैक्षिक संस्थाहरुले आफूलाई अब्बल र उत्कृष्ट भएको दाबी गर्ने एक प्रचलन रहेको पाईन्छ । यो विद्यालयको आधार के हो ?
–हामीले सस्तो प्रचार र नामका लागि मात्र विद्यालयलाई उत्कृष्ट भनेको होइन । यस विद्यालयले विगतमा हासिल गरेका शैक्षिक उपलब्धिहरुलाई नै आधार मानेर उत्कृष्ट विद्यालयको व्याख्या गर्न खोजेको हुँ । पछिल्लो वर्षको एसएलसी परिक्षामा पनि सतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट विद्यालय घोषित भएको हो । यो वर्ष पनि ५१ जना विद्यार्थी एसइइमा सहभागि हुनुभएको छ उहाँहरुको रिजल्ट पनि सतप्रतिशत सकारात्मक आउँनेमा हाम्रो अपेक्षा छ ।

यो विद्यालय अन्य शैक्षिक संस्था भन्दा फरक र उत्कृष्ट शैक्षिक केन्द्र हो भनेर भन्न सक्ने आधार के त ?
–हामीले पूर्ण प्रविधि मैत्री कक्षा सञ्चालन गर्ने गरेका छौं । प्रत्येक कक्षा कोठामा प्रोजेक्टरको माध्यमबाट अध्यापन गराउँनुका साथै विद्यार्थी तथा शिक्षकको गतिविधिको मुल्याङ्कन तथा सुरक्षाका लागि सिसि टिभि म्यामेरा जडान गरेका छौ । प्रत्येक शिक्षकहरुले लेसन प्लान्ट अनिवार्य प्रयोग गर्नुहुन्छ । विद्यार्थीका लागि प्रयाप्त खुला मैदानको व्यवस्था छ । सैद्धान्तिक भन्दाबढी व्यवहारिक र अनुसाशित ज्ञानलाई हामिले जोड दिएका छौं । सबै विद्यार्थी तथा अविभावकलाई मनैदेखि विद्यालयप्रतिको अपनत्व र सकारात्म सोचको विकास गर्न सकेका छौ ।

विद्यालयले आयोजना गरेको योगा अभ्यासमा विद्यार्थी ।

विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नका लागि र थप सेवा सुविधा विस्तारका लागि केही योजना छन् की ?
–शैक्षिक गुणस्तरलाई कायम राख्दै थप नयाँ उपलब्धि हासिल गर्नका लागि बलियो र भरपर्दो योजना आवश्यक रहने नै भयो । हामीले पञ्चवर्षिय शैक्षिक सुधारका योजना तथा खाका तयार पारी काम गरिरहेका छौं । सतप्रतिशत नभएपनि ९० प्रतिशत मात्रै योजना सफल भयो भने हामी देशकै नमुना सामुदायिक विद्यालय बन्न सक्छौ । नेपाल सरकारले गर्ने नमुना विद्यालय घोषणाका लागि फाइल टेस्टको काम समेत भइरहेको छ । शैक्षिक गुणस्तर कायम राख्दै थप अन्य विषयमा समेत अध्यापन सञ्चालन गर्ने योजनामा छौ । अवको केही वर्षमै कक्षा ९ देखि अनिवार्य प्राविधिक शिक्षालाई समेत जोड्ने प्रयासमा छौं ।

विद्यालय सुधारको योजनामा लागिराख्दा शिक्षक विद्यार्थी तथा अविभावकबाट के कस्तो साथ सहयोग प्राप्त गरिराख्नुभएको छ ?
–म यो विद्यालयमा आएको ३ वर्षभयो विगतको तुलनामा यस विद्यालयप्रति अविभावक विद्यार्थीको विश्वाष बढेको छ । उहाँहरुको साथ सहयोग र हौसलाले काम गर्ने राम्रो वातावरण मिलेको छ । गरेपछि सफलता अवश्य प्राप्त हुन्छ भन्ने कुराको महशुस सबैलाई भएकोछ । विद्यालयको विकासका लागि ल्याइएका कुनैपनि योजनामा उहाहरुको प्रत्यक्ष, सकारात्मक र उत्साहजनक उपस्थितले गर्दा म र मेरो विद्यालय निकै आभारी छौ ।

एसइइ को परिक्षाफल प्रकाशित हुनेबेला पनि आएको छ । उहाँहरुलाई के भन्न चाहानुहुन्छ ?
–सबै सामुदायिक विद्यालय हिजोको जस्तो कमसल शैक्षिक गुणका छैनन् भन्ने कुरा अवगत गराउन चाहान्छु । महँगो र शहरका विद्यालयमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्नसकिन्छ भन्ने मानसिक रोगबाट बँच्न म सबैलाई आग्रह गर्दछु । सैनामैना उच्च मावि पनि एक उत्कृष्ट शैक्षिक संस्था हो, आउनुस तपाईहरुलाई हामीले गुणस्तरीय शिक्षा प्रदान गर्नसक्छौं भनि विश्वस्त दिलाउन चाहान्छु ।

डि.बि. सुस्लिङ/बुद्धभूमि

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।