ताजा अपडेट »

त्रिभुवन आर्मी प्रधानसेनापति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

शुक्रबार, २४ जेठ २०७६, १८ : १४
20 Shares


जेठ २४, काठमाण्डौं । विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब चौथो प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा आर्मीले पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई ३-१ ले पाखा लगाउँदै लगातार चौथो उपाधि जित्ने सम्भावना कायम राख्यो । पहिलोसेट २५-१९ ले गुमाएको आर्मीले दोस्रो सेट २८-२६ ले जितेको थियो । तेस्रो सेटमा आर्मीले दोस्रो सेटको प्रदर्शनलाई निरन्तरता दिँदै २६-२४ को जित दर्ता गर्यो ।

चौथो सेटमा आर्मीले घरेलु कोर्टमा दर्शकको उल्लेख्य साथलाई जितमा बदल्न सफल भयो । आर्मीले चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो । यसअघि तीनै संस्करण जितेको आर्मी लगातार चौथो उपाधि जित्ने दाउमा छ ।

त्यसअघि दिनको पहिलो सेमिफाइनलमा विभागिय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको थियो । गण्डकीले २५-२३, २१-२५, २५-२३, २९-२७ को जित निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो । फाइनल खेल आइतबार हुनेछ भने तेस्रो स्थानको खेल शनिबार खेलिनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।