ताजा अपडेट »

भोलिदेखि टेलिकमको नेट टिभी, ‘एफटीटीएच’ विस्तारमा आक्रमक

विहीबार, १६ पुस २०७७, १४ : ३५
4 Shares

बुटवल । नेपाल टेलिकमले भोलि (शुक्रबार)देखि आफ्ना एफटीटीएच ग्राहकलाई इन्टरनेटमा आधारित टेलिभिजन सुविधा सुरु गर्ने भएको छ । लामो समयको परीक्षणपछि कम्पनीले आइपी टीभी सुरु गर्न लागेको हो ।

तत्कालका लागि यो सुविधा काठमाण्डौंका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोङ्गबु, पाटन, हात्तिगौँडा, जोरपाटी, कीर्तिपुर, सैँबु, लुभु, नक्साल र काठमाण्डौं बाहिर बनेपामा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सेवा जडानका लागि ग्राहकले कम्पनीको कार्यालयमा सम्पर्क गरेर सेट अप बक्स खरिद गर्नुपर्नेछ ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकजस्तै नेपाल टेलिकम पनि फाइबरमार्फत घरघरमा इन्टरनेट पुर्याउने आफ्नो ‘एफटीटीएच’ सेवा विस्तारमा आक्रामक बनेको छ । तामाको तार प्रयोग हुने एडीएसएल इन्टरनेट विस्तारै विस्थापनतर्फ लागेको टेलिकमले फाइबर इन्टरनेटमा बढी जोड दिन थालेको हो ।

टेलिकमका अनुसार गत आर्थिक वर्षको ०७६/७७ पहिलो पाँच महिनाको तुलनामा चालू आव ०७७/७८ को सोही अवधिमा एफटीटीएच जडान गर्नेको सङ्ख्या ३११ प्रतिशतले बढेको छ । यो तथ्याङ्क अनुसार गतवर्ष साउनदेखि मङ्सिरसम्म ११ हजार ६१० जना एफटीटीएचका नयाँ ग्राहक थपिएकोमा यस वर्ष ४७ हजार ७३९ ओटा नयाँ जडान थपिएका छन् । गत मङ्सिरमा मात्रै एफटीटीएचका १७ हजार ३३४ ओटा नयाँ जडान थपिएको टेलिकमको तथ्याङ्क छ । यो सङ्ख्या गतवर्षको पाँच महिनाको तुलनामा पनि बढी हो । असोजमा मात्रै टेलिकमले १८ हजार १७४ ओटा नयाँ कनेक्सन थपेको छ जुन टेलिकमको एफटीटीएचको इतिहासमा हालसम्मकै बढी हो ।

देशका ३३ ओटा जिल्लाका विभिन्न स्थानमा टेलिकमको एफटीटीएच उपलब्ध छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकको तुलनामा आधारभूत प्याकेज निकै सस्तो रहेकाले पनि टेलिकमको एफटीटीएचप्रति आकर्षण बढिरहेको छ । टेलिकमले अहिले वार्षिक आठ हजार पाँच सय रुपियाँमै आठ एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । यससँगै ग्राहकले एउटा टेलिफोन नम्बर पनि निःशुल्क प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।