ताजा अपडेट »

आजदेखि कक्षा १२ को परीक्षा सुरु

आइतबार, १५ बैशाख २०७६, १२ : ०६
6 Shares

रुपन्देहीका ३७ परिक्षा केन्द्रमा, १८ हजार बढी परिक्षार्थी

वैशाख १५,

बुटवल । आजदेखि देशभर कक्षा १२ को परिक्षा सुरु भएको छ । । परिक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूूरा भैसकेको रुपन्देही जिल्ला शिक्षा कार्यालयका प्रमुख दिपेन्द्र ढकालले जानाकारी दिए । परिक्षा सञ्चालनका लागि सुरक्षा व्यवस्था, केन्द्र निर्धारण लगाएत सम्पूर्ण प्राविधिक तयारी पूरा भएको उनले जानकारी दिए । नियम बिपरित गर्ने विद्यार्थीलाई कानून अनुसार कारबाही गर्ने बताउँदै जिल्ला शिक्षा अधिकारी ढकालले मर्यादित र धैर्य भएर परिक्षामा सहभागि हुन विद्यार्थीलाई आग्रह गरेका छन् ।

रुपन्देहीमा ३७ वटा परिक्षा केन्द्रबाट विद्यार्थीहरुले परिक्षामा सहभागि हुँदैछन् । राष्ट्रिय परिक्षा बोर्ड बुटवल कार्यालयका सूचना अधिकृत बाबुराम भण्डारीका अनुसार यस वर्ष रुपन्देहीमा नियमिततर्फ १३ हजार ८ सय २८ र आंशिकतर्फ ४९६४ गरी जम्मा १८ हजार ७ सय ९२ जना विद्यार्थी सहभागि हुँदैछन् । राष्ट्रिय परिक्षा बोर्डको ११ वटा कार्यालय अन्र्तगत पर्ने बुटवल कार्यालयमा रुपन्देही सहित गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु र अर्घाखाँची गरी ७ जिल्लामा ४५ हजार ७ सय ६ जना विद्यार्थी परिक्षामा सहभागि भण्डारीले जानकारी दिए ।

कार्यालयको तथ्याङ्क अनुसार गुल्मीमा ४ हजार १२ जना र पाल्पामा ४ हजार ९ सय ७४ जना विद्यार्थी परिक्षामा सहभागि हुँदैछन् । नवलपरासी पूर्वमा ६ हजार ६ सय २१, नवलपरासी पश्चिममा ४ हजार १ सय ८७ परिक्षार्थी रहेका छन् । कपिलवस्तुमा ३ हजार ९ सय ६४ जना र अर्घाखाँचीमा ३ हजार १ सय ५६ जना विद्यार्थी सहभागि रहेको परिक्षा आगामी वैशाख २६ गतेसम्म सञ्चालन हुने सूचना अधिकृत भण्डारीले जानाकारी दिए ।


यसअघि एक विज्ञप्ति जारीगर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहीत रूपमा सञ्चालन गर्न निर्देशन दिइसकेका छन् । ०७५ सालको एसइई परीक्षामा प्रदेश २ मा प्रश्न पत्र बाहिरिएर परीक्षा रद्द गर्नुपरेपछि मन्त्रालय र परीक्षा बोर्ड कक्षा ११ र १२ परीक्षा सुरु हुनु पहिले नै सचेत भएको हो । शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठित समितिले कक्षा ११ र १२ को परीक्षा मर्यादित रूपमा सञ्चालन गर्ने गराउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको छ । निर्देशनमा सुरक्षा निकायमा रहेका परीक्षा सम्बन्धी सामाग्री कुनै पनि हालतमा निर्दिष्ट पदाधिकारी बाहेक अरुलाई नबुझाउन कडा निर्देशन दिइएको हो ।


परीक्षार्थी परीक्षा हलमा मोबाइल फोन लगेको भेटेमा तत्काल जफत गरी शुरक्षाकर्मी मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोबाइल प्रयोग सम्बन्धमा अनुसन्धान गर्ने र परीक्षा सम्पन्न भएपछि मात्र अभिभावकलाई बुझाउन निर्देशनमा उल्लेख छ। परीक्षा हलभित्र कसैलाई फोटो खिच्न, अडियो, भिडियो रेर्कड गर्न निषेध गर्ने र त्यस्तो कार्य कसैबाट भएको पाइएमा तत्काल दण्डित गर्नुपर्ने निर्देशन दिइएको छ ।

निरीक्षकले परीक्षा मर्यादा विपरीतका कार्य रोक्ने प्रयास नगरेको वा नसकेको अवस्थामा केन्द्राध्यक्षले उक्त निरीक्षकलाई हटाई अमर्यादित कार्य रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रूपमा नियुक्ति गर्नुपर्ने बताइएको छ । उत्तरपुस्तिका परीक्षणमा उत्तरकुञ्जिकाको प्रयोग गर्ने, परीक्षक तथा सम्परीक्षकलाई अभिमुखीकरण उत्तर पुस्तिका परीक्षण गराउने निर्देशन छ । त्यस्तै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गर्दा कोडिङ तथा डिकोडिङ प्रणलीलाई अनिवार्य रूपमा अबलम्बन गर्न निर्देशनमा लेखिएको छ ।-बुद्धभूमि

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।