ताजा अपडेट »

कक्षा १२ को परीक्षा सुरु

आइतबार, १५ बैशाख २०७६, ११ : ५७
6 Shares

बैशाख १५,

बुटवल । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ । देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ । १२ कक्षाको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ भने ११ कक्षाको बार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै सुरु हुनेछ ।

परीक्षा केन्द्रमा सिसी क्यामरा

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ । बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ । परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ । बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।