ताजा अपडेट »

सञ्चारमाध्यम संघीय संरचनामा जानुपर्छ : मन्त्री केसी

शुक्रबार, १३ बैशाख २०७६, २१ : ५०
6 Shares


वैशाख १३,
ग्लोबल आवाज
बुटवल । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सञ्चारमाध्यमहरु संघीय संरचना अनुरुप सञ्चालन गरिनुपर्ने बताए । गोरखापत्र संस्थानले समाचारदाताहरुको लागि सञ्चालन गरेको प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै मन्त्री केसीले गोरखापत्र पनि संघीय संरचना अनुरुप सञ्चालन भए प्रदेश सरकार सहकार्यको लागि तयार रहेको उल्लेख गरे ।


गोरखापत्रको एक सय १८ वर्षको गौरवपूर्ण इतिहासको चर्चा गर्दै उनले यसलाई समयानुकुल ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । मन्त्री केसीले भने , ‘दुई पुस्ता पार गरेको गोरखापत्रसँग प्रदेश सरकारको भूमिका पनि जोड्न चाहन्छौं, आवश्यक प्रस्तावना लिएर आउनुहोस् ।’ गोरखापत्र सातवटै प्रदेशका ग्रमीण स्थानमा समेत पुग्ने वातावरण बनाउन आग्रह गर्दै मन्त्री केसीले नयाँ योजनाका साथ आउन आग्रह गरे ।


कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले समृद्धिको यात्रामा सञ्चारमाध्यमहरुको मुख्य भूमिका हुने बताउँदै सकारात्मक मनोविज्ञानका साथ काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले मुुलुक कता जाँदैछ भनेर थाहा पाउन गोरखापत्र पढ्नै पर्ने बताए । कैयौं ब्यवस्थाहरु परिवर्तन हुँदा गोरखापत्रले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै उनले देश कता जाँदैछ भन्ने आंकलन गर्न गोरखापत्र पढ्नै पर्ने चचा गरे ।


कार्यक्रममा सल्लाहकार सम्पादक गोपाल खनालले गोरखापत्र सरकार र कुनै पार्टीको मुखपत्र नभई राष्ट्रको मुखपत्र भएको बताए । गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्र ऐतिहासिक दस्तावेज हो भन्दै हाल ३८ भाषामा समाचार प्रकाशन गरिरहेको बताए । प्रशिक्षक शरच्चन्द्र वस्तीले गोरखपत्र सबैले खोजी–खोजी पढ्ने बनाउन जरुरी रहेको चर्चा गरे । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का उपाध्यक्ष भरत केसीले सरकारी सञ्चारमाध्यमले यथार्थ सूचना दिन्छन् भन्ने मान्यता कायम भएकोे उल्लेख गरे । गोरखापत्र प्रदेश नं. ५ का संयोजक दीपक ज्ञवालीको संयोजनमा कार्यक्रम भएको हो ।


शनिबारसम्म चल्ने प्रशिक्षणमा सल्लाहकार सम्पादक खनाल, प्रधान सम्पादक श्रेष्ठ, राइजिङ नेपालका प्रधान सम्पादक जगदीश पोखरेल, सौरभ, शरच्चन्द्र वस्ती, समाचार संयोजक गोकर्ण अर्याल र नयाँ नेपाल संयोजक कुमार विवेकानन्द मिश्रले पत्रकारिता प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा प्रदेश नं. ५ का दुई दर्जन समाचारदाताहरु सहभागी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।