ताजा अपडेट »

दशौँ वर्षसम्म पराकम्पन आउन सक्छन् : विज्ञ

शुक्रबार, १३ बैशाख २०७६, १६ : ४७
6 Shares

बैशाख १३,

चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उहाँका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ ।

भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताउनुभयो । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताउनुभयो ।जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उहाँले बताउनुभयो । सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उहाँले बताउनुभयो । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उहाँको भनाइ छ ।विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उहाँले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताउनुभयो ।

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उहाँले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताउनुभयो । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उहाँको भनाइ छ ।भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ । भूकम्पले नभएर संरचनाले क्षति पु¥याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।