१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

कोरोना भाइरसका कारण आफ्नो गत वर्षको वार्षिक परीक्षासमेत ढुक्कसँग दिन नपाएका आफ्ना विद्यार्थीहरुसँग ८ महिना २ दिनपछि मात्र प्रत्यक्षरुपमा साक्षात्कार हुन पाइयो । चैत्र १२ गतेदेखि शुरु हुनुपर्ने वार्षिक परीक्षा कोरोना भित्रिएको भन्दै सरकारले चैत्र ५ गतेसम्म सम्पूर्ण परीक्षा सक्नुपर्ने उर्दी जारी गरेको थियो । तर वार्षिक परीक्षाका लागि न विद्यार्थीहरु मानसिकरुपमा तयार थिए, न त विद्यालयको आन्तरिक तयारी नै । तर पनि हतारहतार जसोतसो परीक्षा सम्पन्न गर्नु थियो, गरियो ।

Advertisement

लकडाउनकै बीचमा मोबाइलबाट प्रकाशित गरेको वार्षिक नतिजाले यसपटक विद्यार्थीमा कुनै रौनक ल्याएन । त्यस्तो नतिजाले न त विद्यार्थीलाई पर्याप्त खुशी दियो, न त कुनै उत्साह र उमङ्ग नै । अबीर लगाएर, स्याबासी पाएर आफू माथिल्लो कक्षामा पुगेको अनुभूति र अपार हर्ष एकअर्का साथीहरुका बीचमा उनीहरुले साट्नै पाएनन् । त्यस सुखद् क्षणमा न त स्याबासी दिने शिक्षक नै थिए, न त हौसलाको ताली बजाइदिने साथीहरु नै । मनको हर्ष र उमङ्ग केवल खल्लोपन र निरशतामा परिणत भएको थियो । अझ एसईई दिन सेन्टरमा पुगेका विद्यार्थी गेटबाटै फर्किनुपरेको पीडा र त्यसपछि लामो समयसम्म उनीहरुले भोगेको मानसिक तनाव र अन्योलको त के कुरा गर्नु खै ?

विद्यालय बन्द भएपछि नै प्याब्सनले विद्यार्थीहरुको शिक्षण सिकाइ प्रक्रिया जारी राख्न अनेकौँ प्रयास गरेको थियो । प्रत्यक्ष, अनलाइन वा वैकल्पिक विधि जसरी भएपनि विद्यार्थीलाई सिकाइ प्रक्रियामा सामेल गराएर पठनपाठन नियमित गराउनुपर्ने प्याब्सन रुपन्देहीको निरन्तरको अभियानमा आफूले यसपटक अहम् भूमिका खेल्न पाएकोमा निकै सन्तोष लागेको छ । विभिन्न सरोकारवाला निकायहरुसँग वार्ता, संवाद, छलफल र डेलिगेसनमा थुप्रै पटक महत्वपूर्ण जिम्मेवारी निभाइयो पनि ।

अनेकौँ प्रयासका बाबजुद् प्याब्सन रुपन्देहीको कार्तिक २० गतेको बैठकले तिहार र छठ पर्वपछि विद्यालय भौतिकरुपमै खोल्नुपर्ने निर्णय ग¥यो र स्थानीय निकायमा सोको जानकारीसहित अनुमतिका लागि स्थानीय सरकारसमक्ष ध्यानाकर्षण गराउने परिपत्र ग¥यो । सोही सन्दर्भमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र शिक्षाप्रमुख गंगाराम आचार्यसँग साक्षात्कार भयो । नगरप्रमुख वासुदेव घिमिरेसँगको छलफल र डेलिगेसनमा थुप्रै पटक म सहभागी थिएँ ।
स्थानीय विकास निर्माण र जनपक्षीय काममा नेपालमै उत्कृष्ट र अनुकरणीय कार्य गरी प्रशंसा बटुलेका नगरप्रमुख बासुदेव घिमिरेको विद्यालय र शिक्षाप्रतिको सकारात्मक सोच, दृष्टिकोण र अवधारणाले निकै प्रभाव पारेको छ । शिक्षाप्रति उहाँका योजना अनि विकास निर्माणप्रतिको लगाव र दृढता प्रत्यक्षरुपमा सुन्न पाउँदा आफ्नो चुनावी अभियान र भोट उपयुक्त ठाउँमा सदुपयोग भएको गर्व हुन्छ ।

शिक्षालय सुरक्षा मापदण्डका साथ निर्वाधरुपमा सञ्चालन हुनुपर्छ भनेर सदैव पैरवी गर्ने नगरप्रमुख घिमिरे उपस्थित सर्वदलीय बैठकबाट विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय भयो । कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय खोल्नका लागि ११ बुँदे मापदण्ड तय गरी मंसिर ७ गतेदेखि सम्पूर्ण विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । विद्यालयहरुलाई उपयोगी निर्देशन र सुझाव दिएर प्रेरणा जगाइरहने तिलोत्तमा शिक्षा शाखाप्रमुख गंगाराम आचार्य र अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीको भूमिका सदैव प्रशंसनीय रहेको छ ।

स्मृति बोर्डिङ् स्कुलका प्रबन्ध निर्देशक एवम् नेकपा रुपन्देहीका शिक्षा विभाग उपप्रमुख विष्णु ढकाल शुरुदेखि नै विद्यार्थीहरुको पढाइप्रति अति चिन्तित हुनुहुन्थ्यो । विद्यालय भौतिकरुपमा सञ्चालन नगरी शिक्षण सिकाइ प्रभावकारी हुन सक्दैन भन्ने मान्यता राख्ने उहाँले नगरपालिकाको स्वास्थ्य मापदण्ड पूरा गर्नैपर्ने र विशेष सतर्कता अपनाएर जोर–बिजोर रोल नम्बरका आधारमा कक्षा सञ्चालन गर्नुपर्र्ने कुरा बताउनुुभयो । कार्यतालिका बनाउने कार्यमा अत्यन्तै निपुण सहप्राचार्य प्रकाश गुरुङले कार्यतालिका तयार गरेपछि मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निधो भयो ।

गत चैत ५ गतेदेखि आफ्नै घरभित्रै कैदीजस्ता भएका बालबालिकाहरु मङ्सिर ७ गते पहिलो दिन आफ्नो विद्यालय र साथीसँग भेट हुँदा उनीहरुको मनमा जुन उत्साह र उमङ्ग थियो, त्यो अपार खुशी र आनन्दको क्षण यहाँ उल्लेख गर्न सकिन्न । निर्जन वा एकलास वनमा भट्किएको बटुवाले बाटो फेला पार्दा जुन उत्साह र उमङ्ग हुन्छ अथवा निरपराध कैदी जेलबाट छुट्दा जुन हर्ष र आनन्द प्राप्त हुन्छ, ठीक त्यस्तै अनुभूति हुन्थ्योे बालबालिकाहरुको मुहार हेर्दा । अत्यन्तै उत्साहित, खुशी र हर्षित देखिन्थे उनीहरु । ८ महिनादेखि बिछोडिएका आफ्ना साथीहरुलाई विद्यालयको प्राङ्गणमा देख्न पाउदा उनीहरुलाई असीम हर्षोल्लास भयो ।

खेल्ने, चल्ने, विद्यालय जाने उमेरका कलिला बाल– बालिकाहरूलाई लकडाउनले सबभन्दा धेरै मानसिक तनावमा पारिदिएको थियो । लामो समय घरभित्रै बस्नुको मानसिक पीडा र तनाव खपिसक्नु थिएन । घरभित्रै छेकेर राख्दा चलिरहनुपर्ने चञ्चल बालस्वभाव कुण्ठित र निरश बनेको थियो । मुस्कुराइरहने अनुहारहरूमा मलीनता छाएको थियो । साथीसँग भेटघाट गर्न, खेल्न कुद्न र हाँसखेल गर्न नपाउँदाको पीडा हामी वयस्कहरूले केवल अनुमान मात्र गर्न सक्यौं तर अनुभव, अनुभूति र महशुस भने गर्न सकेनौँ ।

खाऊँखाऊँ, लाऊँलाऊँ उमेरका बालबालिकासँग त्यतिबेला न पुस्तक थियो, न त स्कुल नै । न साथी थिए, न त खेल सामग्री नै । न मनमा रमाइलो थियो, न त शरीरमा स्फूर्ति नै । न अध्ययनमा लगाव थियो, न त भविष्यप्रतिको कुनै आकांक्षा र योजना नै । थियो त केवल कोरोनाको त्रास, लकडाउनको कोकोहल अनि घरबाहिर नजान अभिभावकको उर्दीमात्रै ।

कोरोनाका कारण आज यतिजना मानिसको निधन भयो, यतिजना संक्रमित भए भन्ने त्रसित सूचना, सन्त्रासपूर्ण र भयभित समाचार विद्यार्थीहरुले धेरै सुन्नु पर्यो । आखिर को, खास कुन कारणले मर्यो ? कस–कसलाई संक्रमण भएको छ भन्ने प्रष्ट र आधिकारिक सूचना न उनीहरुले पाउन सके, न त उनीहरुको त्यो जिज्ञासा मेटाउने कुनै निकाय नै थियो । केवल बाहिर ननिस्क, हात धोइरहूँ, मास्क लगाऊ र सेनिटाइजर दल भन्ने एकोहोरो र पट्यारलाग्दो उर्दीबाहेक उत्प्रेरणामूलक खबर र हौसलापूर्ण कुरा सुन्न पाएकै थिएनन् ।

लामो समयसम्म घरमै कैदीजस्ता भएका विद्यार्थीहरु ८ महिनापछि विद्यालय आउँदा अर्कै खालका भइसकेका रहेछन् । न त उनीहरुमा पहिलेजस्तो चञ्चलता थियो, न त जिज्ञासुभाव नै । कताकता बालसुलभ हराएको जस्तो, बाल चञ्चलता र अबोध जिज्ञासापन लोप भएजस्ता देखिन्थे उनीहरु । आफ्ना सहपाठीहरुसँग बोल्दा पनि सशंकित भएजस्तो । निरीह, टिठलाग्दा जस्ता भएका थिए । अनुहारमा मलीनता र हीनताकोे भाव झल्किथ्यो । उज्ज्वल अनुहारको त्यो कान्ति र मधुर मुस्कान उडेर उजाड भएजस्तो । विद्यार्थीहरुको मानसपटलमा एकांगीपन र हीनताग्रन्थी डम्म भरिएजस्तो लाग्थ्यो । उनीहरुको त्यो बाल अव्यक्त पीडाभाव वयस्क शिक्षकहरूले मुस्किलले मात्र बुझ्न सक्थे । न त उनीहरुमा शिक्षकलाई केही सोध्ने हिम्मत नै विकसित भइसकेको थियो, न त शिक्षकले उनीहरुलाई स्पर्श गरेर सुम्सुम्याउने र ढाडस दिने वातावरण नै । गुरु र शिष्यको स्नेहपूर्ण बात्सल्यलाई भौतिक दुरीको सन्त्रासले बलात् स्पर्शहीन बनाइदिएको थियो ।

विद्यालय खुल्दाको पहिलो दिन मङ्सिर ७ गते प्रत्येक कक्षामा पुगेर सबै विद्यार्थीहरुसँग साक्षात्कार गरेँ । वर्तमान महामारीको अवस्था र आफ्नो स्वास्थ्य सावधानीमा बारेमा लगभग सबैजसो विद्यार्थीहरु सचेत भइसकेका रहेछन् । त्यसबारे घरमै सिकाइएको रहेछ । खुशी लाग्यो । तर पहिरन, बोलीचाली र व्यवहारगत कुरामा भने निकै अन्तर आएको रहेछ । कतिपय विद्यार्थीको बालकटाइको स्टाइल देख्दा उनीहरु घरबाट निर्देशित छैनन् कि अथवा अभिभावक नै आफ्ना बच्चाबच्चीको जिद्दीअगाडि निरीह छन् कि भन्ने आभास हुन्थ्यो । विद्यालयले यस्ता अमिल्दा कुराहरु विस्तारै सुधार्नुपर्ने जिम्मेवारी थपिएको महशुस भयो ।

त्यसो त नियमित अध्ययन–अध्यापनका अतिरिक्त विद्यार्थीको आचरण, व्यवहार, बोलीचाली, सङ्गत, नियमित कार्यजस्ता सामान्य शिष्टाचारका दैनन्दिन कुराहरु पनि विद्यालयले नै सुधारिदिनुपर्ने अवस्था छ अहिले । अभिभावकहरु अत्यन्तै व्यस्त हुनुपर्ने बाध्यताले पारिवारिक जिम्मेवारी पनि विद्यालयमाथि नै थपिएको छ कतिपय सबालमा ।

बालबालिकाको पहिलो पाठशाला घर नै हो । तर घरमा भन्दा विद्यालयमा सिकाइएका कुराहरु बढी औपचारिक र प्रभावकारी हुने गर्छन् । घर र विद्यालय दुबैको प्रयास र सिकाइबाट नै एउटा असल र सफल नागरिक बनाउन सकिन्छ । कोरोना कहर वा लकडाउन क्षणिक हो तर तिम्रो निरन्तर अध्ययन र पढाइको महत्व जीवनभरिलाई हो भन्ने कुरा कलिला बालबालिकालाई विद्यालयले सिकाउन पाएन । शारीरिक र मानसिकरुपमा स्वस्थ रहेमा जुनसुकै बाहिरी रोगसँग पनि लड्न सकिन्छ भन्ने कुरा पनि सिकाउन बाँकी नै थियो । अब सिकाउनु र सुधानुुपर्ने कुरा थुपै्र बाँकी छन् ।
लामो समयको लकडाउनका कारण बालबालिकाहरू कुण्ठित, निराश र हीन मानसिकताका बीच घरभित्रै दिन कटाउन बाध्य भए । फलस्वरुप, अहिले कतिपय विद्यार्थीले बोलाउँदा झर्कने, टोलाउने, रिसाउनेजस्ता आक्रामक व्यवहारसमेत देखाउन थालेका छन् । मुलुकका भविष्यका कर्णधारमा आएको यो मनोदशा र दुर्दशाको क्षतिपूर्ति कसरी र कहिलेसम्म हुने हो, भन्न सकिन्न । आखिर यो मनोदशाको उपचार पनि अव विद्यालयले नै गर्नुपर्नेछ ।

पहिले हामी विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँथ्यौँ । कसैले फेसबुक एकाउन्ट खोलेको थाहा पाउनेबित्तिकै अफिसमा बोलाएर सजाय दिन्थ्यौँ । सम्बन्धित अभिभावकलाई बोलाएर खबरदारी गथ्र्यौँ । एकाउन्ट रद्द गर्न लगाउँथ्यौँ तर समयक्रमले हामी आफैलाई अनलाइन कक्षाका नाममा उनीहरुका लागि इन्टरनेट जोडिदिनुपर्ने बाध्यतामा पु¥यायो । मोबाइल किनिदिनुपर्ने विवशता आइप¥यो । फेसबुक, म्यासेन्जर, जुम, युटुबलगायतका विभिन्न सञ्जालका एकाउन्ट खोलिदिन बाध्य बनायो ।

अब विद्यार्थीहरुलाई सामाजिक सन्जाल र इन्टरनेटको दुनियाँमा रमाउने बानी परिसकेको छ । कतिपयले चाहिने–नचाहिने सामग्री पनि हेर्न थालिसकेका छन् । जो कोहीसँग पनि च्याटमा व्यस्त हुन थालेका छन् । पब्जी र टिकटक जस्ता कुरामा उनीहरुको नियमितता बनिसकेको छ । एउटा कुनामा बसेर एकान्तमा गेम खेल्न वा अन्य कुरामा रमाउन अभ्यस्त भैसकेका छन् । अब उनीहरुलाई सो रङ्गीन रसातलबाट बाहिर निकाल्न पक्कै पनि हम्मेहम्मे पर्नेछ । मोबाइल, ट्याब र ल्यापटपको एकोहोरो लतलाई विर्साउने अनि विद्यालयको औपचारिक र नियमित अध्ययनमा कसरी फर्काउने ? अब अभिभावक र विद्यालयलाई ठूलै चुनौती थपिएको छ ।

यतिखेर विद्यालयहरु खुल्न थालेका छन् । विद्यालय नियमित नभई विद्यार्थीमा आएको मानसिक तनाव अन्त हुँदैन । तर अझै पनि कतिपय मानिसहरु विद्यालय खोल्न नहुने जिकिर गरिरहेका छन् । विद्यालयबाटै घरमा कोरोना भित्रिने कुतर्क गरिरहेका छन् । विद्यालय बन्द हुँदा कोरोना नै नरहेको झैँ र खुल्नेबित्तिकै महामारी बढ्ने हास्यास्पद तर्क गरिरहेका छन् ।

यो समय अनावश्यक भय र सन्त्रास बढाउने समय होइन, बरु साबधानी अपनाउने बेला हो । बजारमा हुलका हुल मानिस आवातजावात गर्दा, हाटबजार,होटल, पसल र सुपर मार्केटमा भिड लाग्दा कोरोनाको वास्ता नगर्ने हामीहरूले विद्यालयलाई मात्र महामारीको जोखिमको केन्द्र देख्नु गलत मानसिकताको उपज हो । अब भावना वा लहडमा होइन, तथ्यमा विश्लेषण गर्नु जरुरी छ ।

तसर्थ, स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउदै सबै विद्यालय निर्बाधरुपमा सुचारु भएमात्र बालबालिकामा पलाएको नकारात्मक मानसिक असरको निराकरण हुँदै जानेछ । विगत ८ महिना अघिदेखिको मेरो अनुभव र वर्तमानको अनुभूतिले यही निष्कर्ष निकाल्छ । अस्तु । (लेखक स्मृति बोर्डिङ् स्कुल, रुपन्देहीका प्रिन्सिपल हुन् )
.

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई