ताजा अपडेट »

अझै रोइरहेकै छ त रसुवा !

सोमबार, ०८ मंसिर २०७७, १२ : ०९
46 Shares

‘मेरो रसुवा रोइरहेको छ’ कवितासंग्रह हो । कवि फुर्पा तामाङको यो कवितासंग्रह विशेष गरी आफ्नै जन्म तथा कर्मभूमि रसुवा जिल्लाको सन्दर्भमा लेखिएको मर्मस्पर्शी कविताहरुको संगालो हो । उनले आफ्नो प्यारो रसुवा रोइरहेको देखेका छन् ।

यहाँको उकाली ओरालीमा
मेरो पाईलाको अमीट कथा,ब्यथा छापिएको छ
तर

म देख्दैछु
मेरो रसुवा रोइरहेको छ
रसुवालीको थाप्लामा नाम्लो

पिठ्यूमा डोको चढेपनि
एकमुठी गास पाउन मुस्किल भए छ ।
(मेरो रसुवा रोइरहेछ,पेज १८ बाट)

रसुवा पहाडी जिल्ला हो । भूगोलले सानो भएपनि भावनाले फराकिलो जिल्ला हो । तामाङ जातिको घनीभूत क्षेत्र भएपनि रोग,भोग र शोकले रसुवालीहरु टाढा भाग्न सकेका छैनन् । स्वास्थ्य,शिक्षा र रोजगारका अवसरहरु खुल्न सकेका छैनन् । हिमाल हेरेर हाँस्न सकेका छैनन् ।

जिल्लाको सदरकुमाम धुन्चे साँच्चिकै रुञ्चे जस्तै रहेको उनको कवितामा पाइन्छ । अभाव खेपेको यो सहरले बिजुली,बाटो पाएपनि ज्ञानको अभावले दिउँसै रक्सीको रमिता देखाउने गरेको उनको कविताले बताउँछ ।

चिलिमे हाइड्रो प्रोजेक्ट सञ्चालनमा रहेको जो नेपालकै नमूना मानिन्छ । चिलिमे नदीको बयान,गणेश हिमाल र स्याङ्जेन हिमालबाट बगेर आएको पानीलाई आम्दानी र उज्यालोसँग जोडिएको छ । लामटाङ हिमाल,पर्यटकीय गन्तव्य र संसारका मानिसहरु रसुवाका हरेक स्थानमा पाईला टेक्न पुगेका छन् ।

अति नै मनोरम रसुवा किन रोइरहेको छ त ? कसले रुवायो ,किन र कसरी रुँदैछ आजसम्म रसुवा कविलाई हरपल सोध्न मन लाग्छ । यति सुन्दर रसुवाको गोसाइँकुण्ड जहाँ पुग्दा र छुँदा समेत स्वर्ग पुगेको अनभुव गर्ने नेपाली वा विदेशीहरुले रसुवालाई रुवाउने खलपात्र खोजिरहेका छन् । प्रकृति र संस्कृतिले सम्पन्न रसुवा संसारभरका पर्यटकहरुरको पहिलो गन्तव्य हुनुपर्नेमा किन एकोहोरो रोइरहेको छ ?

जर्नेपूर्णे मेलामा गोसाइँकण्डमा जाउँला
रसुवाकी तामाङनीसित मायापिरति लाउँला
चन्दनबारी उकालो,लौरीबिनामा लठ्ठी चढाउँला
त्रिशुलधारा,गंगामाईलाई भेटी चढाउँला ।
(जर्नेपूर्णे मेलामा,पेज ७१ बाट)

रसुवा तामाङहरुको पुख्यौली थलो हो । कवितामा कविले गोसाइँकुण्ड मेलामा जाँदा तामाङसेनीहरुसँग मायापिरति लगाउँला भन्ने प्रस्ताव गरेका छन् । निर्दोष जातिका रुपमा हेरिने यो जाति नेपालको मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने मूलबासी वा समुदाय नै मानिन्छ । २०६८ सालको जनगणना अनुसार ५.८ प्रतिशत् यो जातिको जनसंख्या भेटिन्छ । तामाङ जातिको आफ्नै भाषा,भूगोल,संस्कार,संस्कृति,रहनसहन पाइन्छ । तामाङ जातिमा ९० प्रतिशतले आफ्नो भाषा बोल्ने गरेको तथ्याङ्क छ ।

कविता भावना,विचार वा मनको तरङ्ग हो भनिन्छ । कवितामा समय र सामाजिक चेत हुने गर्छ । समय कटाउन र रहर पूरा गर्नका लागि कविता लेखिन्छ भन्नु कविताका नाममा अक्षर र शब्दहरु खर्चिनु शिवाय केही होइन ।

कविताले मान्छेका विचारहरुलाई उराल्छ,भावनाहरुको उठान गर्छ र मनमा उठेका तरङ्गहरुलाई समयको ज्वारभाटामा ठोक्काइ दिने गर्छ । कविताले कविको मनमात्र बुझाउँदैन बरु यसले समाजका हरपक्षहरुलाई उजागर गर्छ ।

कविले समाजमा हुने सकारात्मक पक्षहरुलाई मात्र होइन सुधारर गर्नुपर्ने पक्षहरुको समेत नालीबेली लगाइदिने गर्छ । देखिएका सत्यमात्र होइन नदेखिएका वा सुसुप्त पक्षहरुको खोज,अध्ययन र अनुसन्धान गर्छ ।

तामाङ समुदायबाट माथि उठेका कवि फुर्पा तामाङ सशक्त कवि,लेखक र सामाजिक अभियन्ता हुन् । समाजशास्त्रमा स्नातकोत्तर एवम् कानूनमा स्नातक उनी पेसाले अधिवक्ता हुन् । रुचीले कवि, इच्छाले लेखक र कर्मले सामाजिक अभियन्ता समेत ।

रसुवाको ठूलोभार्खुमा जन्मिएका फुर्पा तामाङले ‘मेरो रसुवा रोइरहेछ’ कविता संग्रहमा आफ्नै जिल्लाभित्रको भौगोलिक अवस्था,जातीय तथा सामाजिक भावना,मायाप्रेम,रैथाने संस्कृति,संस्कार,सम्पदा,संरक्षण जस्ता विषयवस्तुहरुलाई पहिलो प्राथमिकता दिएका छन् ।धर्म,संस्कृति,रितिरिवाज,परम्परागत चालचलन र गाउँका दुःख,पीडाहरुलाई सुन्दर अक्षरका बान्कीमा शब्दरुपी कवितामा ढालेका छन् ।

उनले आफ्नो कविता संग्रहमा समानता,न्याय,जीवन दर्शन,नेपालीपन,हिमालीभेग ,हिमालको चिसो हावापानी र प्रकृतिसँग आफूलाई घुमाउँदा प्राप्त स्वर्गीय आनन्दका कुराहरुलाई कवितामा लहरै ऊनेका छन् ।

डन तथा हिप्पी संस्कृतिले नेपालीपन धरापमा परेको,धूमपान र मद्यपानको लतले मानिसलाई कसरी बिगारिरहेको छ भन्ने कुरालाई उनले आफ्नो कविता संग्रहमा तर्कसहित विषयवस्तु उठान गरेका छन् ।

कवि मन कमलो मानिन्छ । प्रेम र स्नेहमा कवि फुर्पा डुबेका छन् । कोमल मनका भएरै होलान् उनले रसुवालाई रोइरहेको देख्छन् । आँसु पुच्छने कसम खाएको कतै भेटिदैनन् ।

सुवास छर्ने फूलमा पनि हुँदोरहेछ विष
मायालुमा माया गर्ने हुँदोरहेछ रिस

देश,परदेश घुमेका फुर्पाले अक्षरका सहारामा कविताको माध्यमबाट आफ्नो रसुवालाई संसारभर छरेका छन् । नयाँ परिचय दिएका छन् । प्रसिद्धिका निम्ति उठाएका छन् । बरु भन्न मन लागेको छ –फुर्पा जी रोइरहेको रसुवाको आँसु कहिले पुच्छने ? रसुवालाई कसरी हँसाउने ? कसले सक्छ रसुवालाई फूल जस्तै सुवास छर्ने बनाउन ? अझै रसुवा रोइरहेकै छ त !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।