ताजा अपडेट »

खाडी यात्रा र महिला रोजगारीले निम्ताएको सामाजिक विखण्डन

शनिबार, २९ कार्तिक २०७७, १४ : ५१
8 Shares

कोभिड–१९ ले उपहार स्वरुप दिएको फुर्सदले गर्दा आज भोलिको मेरो दैनिकी नेपालमा च्याउ जस्तै उम्रिएका युटुब चानलहरुले पस्किने परिकारको स्वाद लिनमा बितेकोछ । ती च्यानलहरुले केहि सांगीतिक र लोकसस्कृतिका विषयको अलावा सबैभन्दा बढी दुई ओटा विषयवस्तुलाई प्रसारण गरेको पाएँ । पहिलो हो वैदेशिक रोजगारीको सिलसिलामा विदेश बसेका पुरुषहरुको कथा र दोस्रो हो वैदेशिक रोजगारीमा विदेश बस्ने एकल महिलाको कथा । दुवैथरि कथाहरुले हाम्रो नेपाली समाजमा डरलाग्दो गरि हुर्कदै गरेको सामाजिक र पारिवारिक बिखण्डनको कहालीलाग्दो अवस्थालाई उजागर गरेको पाइन्छ । यी कथाहरुलाई लैङ्गिक विभेद र लैंगिक समानताको नजरभन्दा पनि सामाजिक आँखाबाट हेर्दा एउटा कुरालाई निकै महत्वका साथ उठान गरेको पाइन्छ।

पहिलो थरि कथामा परिवारकोआर्थिक र सामाजिक उन्नतिको लागि घरमा साना छोराछोरी र श्रीमती छोडेर श्रीमान बिदेश यात्रामा निस्किन्छ । रगत र पसिना एक गरेर घरमा पैसा र श्रीमतीलाई पसिना पठाउँछ । हरेक महिना बैंक खातामा आउने बिदेशको पैसाले श्रीमतीमा उन्माद , घमण्ड र उत्तेजना बढाउँछ । सासु, ससुरा, नन्द, समाज, छिमेकी र आफन्त सबैको सेखी झार्न श्रीमती छोराछोरी टिपेर सदरमुकाम झर्छे । छोराछोरीलाई बोर्डिङ्ग स्कूलमा भर्ना गरिदिन्छे अनि छोराछोरीले गाउने अंग्रेजी गीतमा मख्ख पर्छे । अर्कोतिर नयाँ फोनमार्फत सामाजिक संजालमा जो भेटिन्छ उसैसँग दोहोरी खेल्दा–खेल्दै पिरिम बसाल्छे र २÷३ वर्षपछि श्रीमान फर्केर आउँदा उसँग न श्रीमती हुन्छे न सम्पति, हुन्छ त केवल अलपत्र छोराछोरी र पछुतो । कथाको अर्को पाटोले भन्छ, बिदेश गएपछि
श्रीमान मोज÷मस्तीमा भुल्छ, बिदेश बस्ने एकल महिलाहरुसँग रोजगारदाता मुलुकको नियम कानुनमा छारो हालेर सम्बन्धमा बाँधिन्छ अनि कालान्तरमा सँगसँगै बस्न थाल्छ । जसको कारण नेपालमा आशा र सपनामा बसेको दुई वटा सुन्दर परिवारको अवसान हुन्छ । परिवार बिखण्डनको यो कथा यत्तिमै सिमित हुँदैन । परिवार बिखण्डनको मानसिक पीडा देखेर र भोगेर हुर्केका, हुर्कदो उमेरका केटाकेटीहरुको भविष्य पनि अनिश्चित र समस्याग्रस्त हुन्छ ।

दोस्रो थरि कथामा परिवारको उन्नति, आर्थिक समानता, शहरमा घर, छोरा÷छोरीलाई आधुनिक शिक्षा र आफन्तीको सेखी झार्ने सपना बोकेर, छोरा÷छोरी र श्रीमानले रोक्दा रोक्दै उनीहरुको आँखामा सतित्व र पति ब्रतताको पट्टि बाँधेर, हुँदाछँदाको घर खेत र बारी बाँझो पारेर बिदेश बस्ने आफ्नै नाता पर्नेहरुको विश्वासमा बिदेश यात्रामा निस्किन्छन् धेरै महिलाहरु । दोस्रो कथाको परिणति पनि पहिलो भन्दा फरक हुँदैन । यसरी कसैको सेखी झार्ने परिकल्पनामा विदेश हानिएका महिलाहरु बिदेश पुगेपछि त्यहाँको प्रदुषणबाट चाहेर पनि आफूलाई बचाउन सक्दैनन् । एक्लो बसाई, सामाजिक सञ्जालको बिगबिगी, काम गर्ने ठाउँमा मौकाको प्रतीक्षामा बसेका दुसित मनहरु, बिदेश लगेर गुन लगाउने मित्ज्यु, पल्लो गाउँको गाई बेचको नाता पर्ने दाई होस् या भाई र भिनाजु, रोजगार दाता कम्पनीकै माथिल्लो ओहोदाका मान्छेहरुको हेपाहा प्रवृत्ति, अनि कुलतमा रमाउँदै गरेका सहकर्मी महिलाहरुको प्रभावको कारण जतिसुकै संस्कारिक भएपनि बिदेश बस्ने एकल महिलाहरु सुस्तसुस्त ती प्रभावहरुको सिकार हुन्छन ।

चाहे जस्तो आम्दानी नहुनु र सपनाको थुप्रो अग्लिँदै जानुले गर्दा ५०प्रतिशत एकल महिलाको रुपमा रोजगारमा जाने महिलाहरु आफ्नो इज्जतको सौदा गर्न बाध्य हुन्छन्। क्रमस घरपरिबार र नानीबाबुसंग परपर हुदै जान्छन । चाहेजस्तो कमाइ नभएपछि र घरकाले खोजेजति आम्दानि पठाउन नसकेपछि उब्जिने वितृष्णाले पनि उनीहरुलाई ‘आँ जेसुकै होस्’ भन्दै घरपरिवार बिर्सेर उतै हराउने यार बनाउने बानी विकास हुन थाल्छ । केहि गरि माथिका प्रभावबाट जोगिए भनेपनि परिबन्धमा परेर बलात्कृत हुने र घरको न घाटको भै रोग बोकेर घर फर्किदा श्रीमान अर्की टिपेर अन्तै गएको, र छोराछोरी कुलतको सिकार भएको अबस्थामा नेपाल फर्किदा गुमेको सामाजिक प्रतिष्ठाको चोटले आत्माहत्याको बाटो रोज्न बाध्य भएका घटना सयौं छन् ।

यी दुवै कथाहरुमा अन्तर्निहित मर्मलाई केलाउँदा पहिलो थरी कथाले सृजना गरेको पारिवारिक बिखण्डन १५ प्रतिशतको हाराहारी देखिन्छ भने दोस्रो थरि कथाले झण्डै ८५ प्रतिसत बिखण्डनको बिडो थामेको छ । प्रतिशत जहाँ भएपनि हाम्रो समाजमा बिध्यमान पुरुषबादी साँेच र पुरातन पन्थी विचारले गर्दापनि यी दुवै थरि कथाको सिकार महिला र बालबालिका हुने गरेको देखिन्छ । उदारणको लागि यूट्यूबमा प्रसारण भएका घटनाहरुलाई हेरे पुग्छ । यो समस्या आजभन्दा भोलि दिनानुदिन वनमा लागेको डढेलो जस्तै फैलिदो छ । के यी घटनाको प्रभावमा हुर्किदै गरेका भविष्यका कर्णधार पुस्ताले हाम्रो समाजलाई योगदान गर्ला ? आसा गर्ने ठाउँ र आधार निकै कम छ । हुनत यी सबै समस्याको मूल कारण गरिबी र आफ्नै देशमा श्रमको यथोचित सम्मान नहुनु तथा बढ्दो बेरोजगारी नै हो । तथापी ति कारणभन्दा पनि हाम्रो समाजमा ब्याप्त रहेको निरासा, चेतनाको अभाव र धन प्राप्तिको लागि विकसित भएको सामाजिक कुण्ठा पनि उत्तिकै जिम्मेवार छन्। मेरो विचारमा एस्तो अवस्थाको निर्माण हुनुमा मूलत चारवटा कुराहरुको मुख्य हात छ । तपाइँ हामी र हाम्रो परिवार, विदेश जान प्रोत्साहन गर्ने हाम्रा आफन्तहरु, हाम्रो सामाज र हाम्रो देशको सरकार ।

तपाईं हामी र हाम्रो परिवार
सर्बप्रथम एस्तो हुनुमा तपाईं हामी र हाम्रो परिवार जिम्मेवार छ । हामीहरु आफ्नै पुख्र्यौली सम्पत्ति जसले हाम्रो सात–पुस्तालाई खान, बस्न र एक स्तरको शिक्षा प्राप्त गर्न पुराएकै थियो भन्ने कुरा हामीले बिर्सियांै । आज हामी त्यो सम्पत्तिलाई सिंकीको मोलमा बेचेर सुखको खोजीमा सुकुम्बासी जीवन रोजेका छौ । बेच्न नसकेको अवस्थामा त्यो घरबारी र खेत बाँझो राखेर झर्ला र खाम्ला भनि सहरतर्फको यात्रा रोजेका छौं। परिस्थितिले भन्दा पनि रहर र आफन्तलाई देखाउने झोकमा साडेले जाइफल झार्ला र खाम्ला भनि बिना योजना, छँदाहुँदाको स्थायित्व त्यागेर अनिश्चितताको यात्रामा आफ्नो परिवार र सन्ततिलाई धकेली रहेका छांै । हामीमा आफ्नै माटोमा पसिना बगाउन भन्दा अरुको घरमा भाँडा माझ्नमा प्रतिष्ठा प्राप्ति हुन थालेको छ । पल्लो घरको नरेले विदेश गएर बसाउनि तेल घसेर आएको देखेपछि आफूलाई अभागी, कमजोर र हुतिहारा सम्झिने मनोवृत्ति विकास भएको छ । त्यतिमात्र कहाँ होर हामीलाई घर परिवारका सदस्यहरुले गाउँमै खेतिपाती गरेर स्वाभिमान कमाएको भन्दा बिदेश गएर जसरी भएपनि २÷४हजार ल्याएको ठूलो लाग्छ । स्पष्ट रुपमा हाम्रो परिबार भित्र हुर्किने जेठानी, देउरानी, नन्द, अमाजू, दाइ, भाइ, जेठाजु र देवरप्रतिको इख, इष्र्या र डाहाले पनि हामीहरुलाई स्वार्थी, महत्वाकांक्षी र विवेकहिन बनाएको छ, जसको सिकार अन्ततः हामी आफैं भएका छांै । त्यसैले परिवार भित्रको यो रोगलाई चिनेर यसको उपचार गर्नु आवश्यक छ ।

बिदेश जान प्रोत्साहन गर्ने हाम्रा आफन्तहरु
बिदेश गएर २/४ पैसा कमाएका हाम्रा आफन्तिहरुले जे भन्यो त्यसैको पछि आँखा बन्द गरेर विश्वास गर्ने प्रवृत्तिले पनि हामीलाई घरपरिवार छोडेर एक्लै बिदेश हानिने रोगले ग्रस्त पारेको छ । हामीहरुले कहिले प्रश्न गर्यौ किन तपाइँ हाम्रो आफन्तले मितलाई होइन मितेनीलाई विदेशको भिसा मिलाउन सहयोग गर्छ, पल्लो घरको भाइलाई होइन बुहारीलाई बिदेश जान प्रोत्सान गर्छ, दाइलाई भन्दा भाउजु जाने कुरामा जोड दिन्छ, आफ्ना दिदि, बहिनी, छोरी, भान्जी र बुहारीलाई नजान भन्छ अनि साली, सोल्टिनी, छिमेकी दिदि, छिमेकी बहिनि र छिमेकीकी छोरीलाई ऋण दिई–दिई बिदेश लैजान सहयोग गर्छ ? के हामीले आफ्नी बहिनि, छोरी, भान्जी र श्रीमती विदेश पठाउने बेलामा सोचेकाछौं, हाम्रो आफन्तले किन उसलाई भन्दा तपाइँकालाइ सहयोग गर्न तत्पर छ ? के हाम्रो नातेदारले तपाइँ हाम्म्रो परिवारको उन्नति र प्रगति चाहेको हो या कपाल काट्न सिक्ने कमाराका टाउकामा भने जस्तै गरेको हो ? कतै उसले तपाइँको महत्वकांक्षा र तपाइँकी जहानको ढिपीको फाइदा उठाउँदै त छैन ? स्पष्ट छ उसले आफ्ना श्रीमती, छोरी, बहिनि र भान्जीलाइ एक्लै विदेश पठाउन कदापि चाहन्न किनकि उसले बुझेको छ बिदेशमा के हुन्छ भन्ने । त्यसैले त उसको जोड साढू भाई र साढू दाइ भन्दा साली र जेठानी दिदिको भिसा मिलाउनमा बढी हुन्छ ।

के हामीले एक पटक तपाइँलाइ सहयोग गरिरहेको आफन्तिलाई शंका गर्दा पाप लाग्छ ? तपाइँका दिदि, बहिनि, भान्जी र श्रीमतीले तपाइँको भन्दा आफन्तको कुरामा लागेर ढिपी गरिरहेका छन् भनेपनि गहिरोसँग नबुझिकन स्विकृति दिनु आफ्नो खुट्टामा आफै बन्चरो हाने जस्तो हुने छ । तपाइँले स्विकृति नदिँदा उनीहरु जिद्दी गर्लान्, रिसाउलान् तर त्यो ठूलो कुरा होइन, पछि गएर टुक्रिनु पर्नेनै हो भने आजै किन नटुक्रिने ? अर्को कुरा एस्तो बेलामा आफन्तलाई भन्दा तपाइका बुवाआमा, दिदिबहिनि, दाजु र भाइको कुरा सुन्नु पर्छ किनकि गारो अवस्थामा आफन्ती भन्दा तपाइँको आप्mनै रगत काम लाग्छ । दाजुभाइ र दिदि बहिनीलाई तपाइँको परिवारको प्रतिष्ठा र तपाइँको छोराछोरीको भोलिको बारेमा तपाइँलाई श्रीमती विदेश लैजान पैसा हाल्दिने आफन्तीलाई भन्दा बढी चिन्ता हुन्छ । होइन र ?

ल मानिदिउ कि,तपाइको आफन्ती देउताभन्दा गतिलो छ ,तपाइँ ढुक्क हुनुहुन्छ भनेपनि एक पटक बिचार गर्नुस् त्यो आफन्तिले तपाइलाइ भन्दा तपाइँकी जहान लैजान किन बढी गरिरहेको छ ? यदि झुक्किएर पठाउनु भयो भने पनि पठाइसकेपछि उनीहरुका सामाजिक संजालका गतिविधि हेर्नुस , सक्नु हुन्छ भने दुवैजनाको एउटै आइडी बनाएर सामाजिक संजाल चलाउनुस्, हरेक कुरालाई फरक तरिकाले पनि सोच्नुस्, विदेस जाने एकल महिलाको जानकारी यूट्यूबहरुमा प्रसस्त पाइन्छ । ती सबैको जानकारी राख्नुस् । होइन भने तपाइँकी सति सावित्री एकदिन तपाइँको आँखामा कालो पट्टि बाँधेर आफू त पतनको बाटोमा लाग्छिन्–लाग्छिन तपाइँ र तपाइँका छोरा–छोरीको घँैटोमा घाम उदाउनु अगाडि तपाइँ घरको न घाटको पक्कै छ, मात्रै १ वर्षपछि कि ३ वर्षपछि भन्ने मात्रै हो ।

यो आफन्ती वर्ग यति हानिकारक र खतरनाक छ कि, यसैको कारण७० प्रतिशत पारिवारिक बिखण्डन भएको देखिन्छ । त्यति मात्र कहाँ होर यो वर्गको स्वार्थको कारण नेपालमा महिला बेचबिखन र ओसारपसार तथा विकसित देशतिरको यात्रामा हुने धन र जनविनासमा पनि यिनीहरुको ठूलो हात देखिन्छ । त्यसैले यिनीहरुको चंगुलबाट समाज र परिबार बचाउने एउटा मात्रै उपाय भनेको पठाउने परिवारले गर्ने जायज शंका हो भने अरुका छोरी, बुहारी र साली अनि मितेनी जस्ता टाढाका आफन्तीलाई बिदेश लैजान अभिप्रेरित गर्ने व्यक्ति कि श्रीमतीले गर्ने जायज शंका हो । किन आफ्नो श्रीमानले त्यसरी आफ्नै मान्छेलाई त्यो पनि महिलालाई लैजान खोज्दै छ भनेर संका गर्दा आफ्नो र अरुको परिवार बिनास हुनबाट बचाउन सकिन्छ भने किन मौन बस्ने ?

हाम्रो सामाज
हाम्रो समाजमा विद्यमान रुढिबाद र अन्य सामाजिक मान्यता पनि हाम्रा दिदिबहिनी मात्र होइन हाम्रा युवा समुदायलाई खाडीको रापमा पिरोल्न जिम्मेवार छ । हाम्रो समाजले जहिलेपनि स्वाभिमानपूर्वक आर्जित सानो धनलाइ संधै अपहेलना गर्यो । हो हाम्रो समाजले आफ्नो माटोमा दस नंग्रा खियाउने युवाहरुलाई संधै दोस्रो वर्गको भनौ या निकम्मा तथा पत्रुको पगरी गुर्थाइदियो । रगत र पसिना बाइज्जत बेचेरै भएपनि प्राप्त हुने व्यवहार सम्पन्नता रोज्न अभिप्रेरित गर्यो हिजोदेखि आजसम्म । शक्ति र पैसाका देवताहरु प्रति दासता र समर्पणको भाव देखाउन उक्सायो र त आज आफ्नै छोरा भतिजा र कल्कल्लौंदा युवाहरुको सिंगारिएको बाकस भित्राइरहेको छ प्रतिफल स्वरुप । हाम्रो समाजले भ्रस्टाचार गरेर या चोरेरै भएपनि प्राप्त धन र दौलतप्रति आदर भाव देखाउने गरेको छ भने इम्मान्दारितामा उभिएर आर्जन गरेको स्वाभिमान र प्रतिष्ठाप्रति बैरभाब । दाइजो, तडकभडक, धार्मिक यज्ञ कर्मरदान दक्छिना जस्ता फजुल खर्छ गरेपछि प्रतिष्ठा पाइन्छ भन्ने मान्यताले जरो गाडेको छ । त्यति मात्रै होइन आफ्ना सन्ततिहरुलाई गरुड पुराणका मन गढान्ते कथाहरुको दास बनाएको र्छ । एदाकदा प्राप्त हुने ऋण पनि तिरी नसक्ने गरि सयकडा ३६ प्रतिशत ब्याजले गर्दा युवाहरुलाई आफ्नो बिहेको ऋण तिर्न र बुवा–आमा मर्दा गरेको पितृ कर्मको लागि खर्च गरेको पैसाको ब्याज र ऋण तिर्नको लागि विदेश नगई नहुने अवस्था छ ।

४) हाम्रो देशको सरकार

हुनत विदेश जानेहरु सबैले माथिका तीन कारणहरु तिर भन्दा सरकारलाई सबैभन्दा जिम्मेबार ठान्दछन् यो अवस्थाको लागि । यो आरोप नाजायज कदापी होइन । हाम्रा सरकारहरुले विगतदेखि नै युवाहरु बेचेर प्राप्त हुने विप्रेषणको पैसामा आफ्नो पौरख देख्दै आएको छ । गोर्खा भर्ती केन्द्रबाट सुरु भएको यो पौरख आज कामदार निर्यात गर्ने देशको रुपमा संसारमा चित्रित भैसक्दा समेत यो देशका सरकारहरु कामदार जाने देशमा हुने सोषण र अत्याचार रोकेर कामदारको मानव अधिकार , श्रम अधिकार र सुविधाको लागि सम्बन्धित देशसँग सहकार्य गर्नुमा भन्दा विदेशबाट आउने पैसा माथि साशन गर्न उद्धत देखिन्छ । रुमानी आन्दोलन मापर्लत बनेका सरकारहरु समेत आफन्तीहरुको चंगुलमा फसेर बिदेसिने एकल महिलाहरुको अबस्थाको बारेमा कहिँकतै अध्यन र अनुसन्धान गरि रोकथामको लागि पहल गर्न भ्याएका छैनन् । सरकारी निकायेहरुले खास गरी श्रम स्वीकृति दिने निकायेहरुले घुसको भरमा एकल महिलाहरुको खाडी मुलुकतर्फको यात्रालाई आँखा चिम्म गरेर स्वीकृत गरिदिने गरेको भेटिन्छ । सरकारका नीतिहरुमा पनि कहिँ कतै एकल महिलाहरुको पतनमुखी यो यात्रालाइ रोक्ने गरि उल्लेख भएको भेटिँदैन । दलाल र आफन्तीहरुको जालझेलबाट बच्नको लागि गाउँ–गाउँ र टोल–टोलमा कम्तिमा सचेतना अभियानसम्म पनि सञ्चालन गर्नको लागि सरकारहरु कटिबद्ध छैनन् ।

परिणाम हजारौको संख्यामा गाउँहरु रित्तिदै छन् र त्योभन्दा पनि बढी नेपाली महिलाहरु पाइलै–पाइलामा असुरक्षित र अपमानजनक कामहरुमा फसेर आफ्नो मात्रै होइन परिवार र सन्ततिलाई अन्धकारको दल–दलमा धकेल्न बाध्य छन्। त्यसैले हाम्रो जस्तो देशमा बिदेस लैजाने र विदेश जाने परिवारका सदस्यले गहिरो गरि नसोँच्ने हो भने माथि भनिएका च्यानलहरुले अबका दिनमा परिवार बिखन्डनका समाचार बाहेक अरु कुरा प्रसारण गर्ने मौका पाउने छैनन् । आज आँखा चिम्लिने तपाइँ हामीहरुले आँखा खोल्दा धेरै ढिलो भैसकेको हुनेछ किनकि घरमा आगो लागेपछि खरानीको दुःख त पक्कै नहोला नि है !–लेखकको निजी अनुभव,अध्ययन र विष्लेषणका आधारमा तयार सामग्री।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।