ताजा अपडेट »

सीमाक्षेत्रमा लागूऔषध कारोबार बढ्यो, ६ जना पक्राउ

मंगलबार, १८ कार्तिक २०७७, १० : ५२
12 Shares

काठमाडौं । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

कालो प्लाष्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कदरवनाका प्रहरी निरीक्षक वीरन्द्र पासवानले बताए । चौधरीको झोलाबाट ४५ थान नाइट्राभेट ट्याब्लेट, १० एम्पुल डिजिक्लाब, १० एम्पुल नूफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ ।

त्यस्तै जाँचकै क्रममा बोदेबर्साइन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट समेत लागुऔषध बरामद प्रहरीले जनाएको छ । स११प ८२५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाइट्राभेट ट्याब्लेट बरामद भएको थियो ।

यस्तै बोदेबर्साइन नगरपालिका–१० खड्कपुरका औषधि व्यवसायी ३७ वर्षीय रञ्जितकुमार यादव पनि पक्राउ परेका छन् । यादवले नै नयाँ चोकमा सञ्चालन गरेको कुखुरा फार्मबाट डाइलेक्स डिसी सिरप ३५ बोतल, नाइट्राभेट ट्याब्लेट ७०, नफिङ इन्जेक्सन दुई, डाइजेलप इन्जेक्सन सात वटा र स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतको विहार राज्यसँग सिमाना जोडिएको सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमाना रहेको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौँ नाका छन् । सोही कारणले ती नाकामा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।

लागुऔषध खैरो हिरोइनसहित एक पक्राउ

कञ्चनपुर– लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका–६ का ३२ वर्षीय दिनेश बोटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको ५० ग्राम खैरो हिरोइनसहित बोटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए । पक्राउ गरिएका बोटलाई हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको छ ।

यसैबीच प्रहरीले भारतबाट अवैधरूपमा भित्र्याइएको रु एक लाख ७९ हजार १७५ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले बेलौरी नगरपालिका–८ पचुँइबाट युरियामल ४२ बोरा, सुपरमल ११ बोरा र डिएपीमल ७९ बोरा प्रहरीले बरामद गरेको छ । ती सामानको मूल्य रु एक लाख ४४ हजार ६०५ रहेको छ । सूर्ती, बिँडी, पापड गरी रु ३४ हजार मूल्यको सामानसमेत प्रहरीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।

ठूलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

सर्लाही– जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरबाट सशस्त्र प्रहरीले ठूलो मरिमाणमा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । ब्रम्हपुरी–४ त्रिभुवननगर दशगजा क्षेत्र शेखटोल नाकाबाट २०१ बोतल लागुऔषधसहित सोमबार करिब ४ बजे एक जनालाई नियन्त्रणमा लिएको बोर्डर आउटपोष्ट ९बिओपी०का प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक सञ्जितकुमार सिंहले जानकारी दिए ।

कफक्युर–डिसी १०० मिलीका ११ बोतल, विनसिरेक्स १०० मिलीका १४० बोतल, रेप्लिन १०० मिलीका ५० बोतल र नाइट्राभेट–१० ट्याब लेखिएका सात पत्तासहित सर्लाहीको हरिवन नगरपालिका–११ का अन्दाजी वर्ष १६ का अजय गिरी पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक सिंहले बताए । भारतबाट लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणमा लागुऔषध बरामद गरेको हो । नेपाली बजारमा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध रहेको लागुऔषध पछिल्लो समय नेपाल–भारत खुला सिमानाको कारण नेपाली बजारमा प्रशस्त पाइने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।