ताजा अपडेट »

कानून व्यवसायी र शिक्षकको 'रेडलेडी मेवा' खेती

शुक्रबार, ०२ असोज २०७७, १८ : ३२
4 Shares

दाङ । नेपालमा रोजगारी नपाएको भन्दै वर्षेनी लाखौ युवा जनशक्ति विदेशिने गरेका छन् । तर,केहि युवा भने स्वदेशमै उदाहरणीय काम गरेर स्वरोजगार बन्ने गरेका छन् । अहिले विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण धेरैले रोजगारी गुमाइरहेका बेला दाङको घोराही उपमहानगरपालिकाका २ युवाको काम भने अरुका लागि सिक्नै पर्ने जस्तो छ ।

उच्च शिक्षा हासिल गरेका धेरै युवाहरु खेतीपातीप्रति खासै चासो राख्दैनन् । बरु उनीहरु बैदेशिक रोजगारीका लागि जोखिम मोलेर विदेशिने गर्दछन् । तर,दाङको घोराही उपमहानरपालिका वडा १० का कुलबहादुर डाँगी र तुलसीराम केसी भने मेवा खेती गरेर मनग्य आम्दानी गर्न लागेका छन् । डाँगी कानून ब्यवसायी र केसी शिक्षक हुन् । उनीहरु १ जना मिलेर एक वर्षअघि जिल्लामा पहिलो पटक नयाँ प्रजातिको रेडलेडी जातको ताइवानी मेवा खेती सुरु गरेका थिए ।

यो प्रजातिको मेवाको बिरुवा ताइवानबाट भारत हँुदै नेपालमा ल्याउनुपर्छ । आफूहरुले साढे २ बिगाह जमिन भाडामा लिएर सुरु गरेको मेवा खेतीले अहिले राम्रै फैलिरहेको उनीहरुले बताए । २ जनाको करिब २५ लाख रुपैयाँ लगानीबाट शुरु गरेको मेवा खेतीका लागि उनीहरुले अहिलेसम्म सरकारी तथा गैह्रसरकारी कुनैपनि निकायबाट अनुदान पाउनुभएको छैन । अनुदान नपाए पनि उनीहरुको कुनै गुनासो छैन । तर राज्यले कृषि क्षेत्रका लागि छुट्टाएको ठूलो रकम बास्तविक किसानहरुले नपाएकोमा भने डाँगीले चिन्ता ब्यक्त गरे । सुरुमा ३५ सय बोट रोपे पनि अहिले करिब ३ हजार मेवाका बोटहरु बारीभरी छन् ।

त्यसमध्ये करिब ९० प्रतिशत बोटमा फल लागेको अर्का ब्यवसायी केसीले बताए । उनका अनुसार अहिले १ स्थायी र अन्य ४ जनाले दैनिक ज्यालामा रोजगारी पाएका छन् । तर अहिले कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले मेवा बिक्री वितरणमा समस्या भएको केसीले बताए । । मेवा खेतीका नेपाल प्रतिनिधि मानसकुमार मण्डलले मेवा खेतीका लागि दाङमा हावापानी अनुकुल रहेको भनेपछि आफुहरुले मेवा खेती गर्ने सोच बनाएको केसी बताए ।

सुरु–सुरुमा उनीहरुले गरेका मेवा खेतीतर्फ स्थानीयले राम्रो मानेका थिएनन् । तर,अहिले राम्रो प्रतिफल आउन थालेपछि सबैले प्रशंसा गर्ने गरेको केसीको भनाई छ । उनहरुका अनुसार यो प्रजातिको मेवाको एक बोटले कम्तिमा ५० देखि १ सय किलोसम्म फल दिन्छ । एउटै बोटले ४ वर्षसम्म फल दिने र एउटा मेवाको तौल सवा २ देखि ३ केजिसम्म हुने गर्दछ । जिल्लाबाहिर १२० रुपैयाँसम्म बिक्री हुने गरेको भएपनि जिल्ला भित्र भने प्रति किलो ५० रुपैयाँमा बिक्रि गर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।