ताजा अपडेट »

गाउँको डायरी : उज्यालो खुर्साने

विहीबार, ०१ असोज २०७७, १७ : ३३
4 Shares

३६ घर दलित जातिको बसोबास रहेको खुर्साने गाउँमा दुई घर ब्राह्मण, पाँच घर क्षेत्री र १० घर मगर जाति बस्छन् । पौने तीन सय जनसंख्या रहेको उक्त गाउँमा बालविकास केन्द्र छ । जहाँ डेढ दर्जन विद्यार्थीलाई विष्णु विकले पढाउँदै आएकी छन् । तत्कालीन दोभान गाविस, रेडा, सामुदायिक वन समन्वय समिति, दोभानको संयुक्त आर्थिक लगानी र स्थानीयहरुको श्रमदानमा गाउँमा कुर्मान खोला लघु–जलविद्युत आयोजना सम्पन्न भएको हो । साविकको दोभान र कचल गाविसको सीमानाको रुपमा रहेको कुर्मान खोलाबाट पानी ल्याई सो लघु–जलविद्युत आयोजना सञ्चालन भएको हो ।

सो लघु–जलविद्युत आयोजनाबाट १० किलो वाट् बिजुली उत्पादन भई १०० घरले झलल बालेका छन् । तिनाउ गाउँपालिकाको खुर्साने र आर्खुदीका बासिन्दाहरुले मासिक एक सय रुपैयाँमा विजुली बाल्न पाएका छन् । गाउँ नै उज्यालो भएको छ । गाउँ उज्यालो मात्र होइन । गाउँलेका मुहारै उज्यालो भएको छ । बलबहादुर क्षेत्रीले गाउँमा विद्युतको महसुल उठाउने, मर्मत संहार गर्ने काम गरे वापत मासिक १० हजार विद्युतबाटै उठेको महसुलले आफू धानिएका छन् ।

केन्द्रीय विद्युत लाईन बिस्तार गर्दै गाउँमा

उक्त गाउँमा सोही लघु–जलविद्युतबाट निस्किएको पानीले कुटानी पिसानी मील समेत चलेको छ । खुर्साने, बगाह, खुल्खुले, पाल्टाङ्गे, आर्खुदी, भूताहाका बासिन्दाहरुले सोही कुटानी पिसानी मीलबाट सस्तो दरमा सेवा पाइरहेका छन् । गाउँकै कृष्णबहादुर क्षेत्रीले वर्षको ४५ हजार रुपैयाँमा सो कुटानी पिसानी मिल ठेक्कामा सञ्चालन गरेका छन् । सिंचाईमा सुविधा पुगेको छ । खुर्साने गाउँमा तीनै खेती हुने गर्छ । गाउँलेहरुलाई आफ्नो उत्पादनले जेनतेन आधा वर्ष बढी धान्ने गर्छ ।
गाउँमा रहेको बरपोखरी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय उपभोक्ताहरुको आम्दानी वृद्धि गर्नका लागि आयआर्जनमा सहयोग गरेको छ । व्यवसायिक तरकारी खेती, कुखुरा, भैसी ,बाख्रापालन र मौरीपालनमा समूहले आफ्ना उपभोक्तालाई मद्दत गर्दै आएको छ । सोही सामुदायिक वनको संयोजन र व्यवस्थापनमा गाउँमा लघु–जलविद्युत र कुटानी पिसानी मील सञ्चालनमा आएको सत्य हो ।

कुटानी पिसानी मील

गाउँमा विजुली आएपछि टुकी हराएका हुन् । स्थानीय बालबालिकाहरुको स्वास्थ्यमा सुधार भएको हो । स्थानीयहरुका आँखा राता हुने, पीरा हुने, आँसु आइ रहने जस्ता समस्या विजुली बल्न थालेपछि हटेको सामाजिक व्यक्तित्व मोहन बिकले बताए । गाउँमा टिभी, फ्रिज चल्न सजिलो भएको हो तर एक महिनाभित्र गाउँमा केन्द्रीय विद्युत लाइन विस्तार हुने भएपछि कुर्मान खोला लघु–जलविद्युत गृह बन्द हुने भएको छ । स्थानीय नागरिकहरुले २०५९ सालमा श्रम,पसिना र रगत बगाएर सरकारी तथा गैह्र सरकारी संस्थाहरुसँग मिलेर बनाएको उक्त लघु–जलविद्युत अब संग्रहालयमा सीमित हुने भएको छ । लघु–जलविद्युतको ड्याममा र कुलो पक्की गर्न नसक्दा समस्या देखिएकाले केन्द्रीय विद्युतलाइन विस्तार गर्नु परेको स्थानीयहरुको तर्क छ ।

गाउँ पुग्ने ग्राभेल बाटाे

सो लघु–जलविद्युतबाट उत्पादित विजुली सस्तो पर्ने भएको हुँदा केन्द्रीय लाइन जोडिए पनि लघु–जलविद्युतलाई प्रयोग गरी लेथ मेसीनहरु चलाउने,विभिन्न खालका गहनाहरु निर्माण गर्ने कार्यमा प्रयोग गर्न सकिएमा सस्तो दरमा बस्तुहरु उत्पादन हुनेछ । ती बस्तुहरुले बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने सामुदायिक वन समन्वय समिति, दोभानका अध्यक्ष अमर प्रधानले बताए ।
वरपोखरी सामुदायिक वनले वन, वातावरण र जैविक विविधता संरक्षण गरे वापत सन् २००६ मा अब्राह्म संरक्षण पुरस्कार प्राप्त गरेको थियो । पुरस्कार स्वरुप ५० हजार नगद र प्रमाण पत्र प्राप्त गरेको थियो । अहिले सो समूहले आफ्नै वन क्षेत्रमा अब्राहम पार्क निर्माण बन्दैछ । सो पार्कमा वनबाटिका, फूट ट्रेल र पिकनिक स्पट र सेडहरु निर्माण गरिने योजना रहेको सो वन समूहकी अध्यक्ष सेमकुमारी सुनारले बताइन् ।

पाल्पा तिनाउकाे खुर्साने गाउँ

राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिका तत्कालीन अध्यक्ष रामेश्वर खनाल समेत यो गाउँको प्रगति हेर्न २०७२ सालतिर आइपुगेका थिए । सामुदायिक वन समन्वय र स्थानीय वन समूहसँग मिलेर श्रीनगर फिल्मस् प्रालि,बुटवले उज्यालो खुर्साने नामक वृत्तचित्र समेत निर्माण गरेको थियो । हामीले सो वृत्तचित्र देशका धेरै स्थानहरुमा देखाएका थियौं ।

पाल्पा तिनाउको वडा नं. २ को खुर्साने गाउँमा दोभान चौकीबाट पुल तरेपछि नयाँ बजार, घोडेबास, डोल, पासकुण्डा, बुढासटक हुँदै ग्राभेल गरेको मोटर बाटोको सहायतामा पुग्न सकिन्छ । साविकको दोभान वडा नं. ९ मा पर्ने उक्त गाउँमा देश परदेश जानेहरु नभएका होइनन तर गाउँमै खेतीपाती र पशुपालनका साथै कुखुरापालन गरेर मनग्य पैसा कमाउनेहरु समेत छन् । घ्यू बेच्छन् । तरकारी बेच्छन् । धान, गहुँ, मकै त मुख्य बाली नै भए । कुर्मान खोला तरेपछि साविकको कचल गाविस अहिलेको तिनाउ गाउँपालिका वडा नंं १ मा पुग्न सकिन्छ ।

गाउँकाे उत्पादन

रमाईला सांस्कृतिक कार्यक्रमहरु कम हुने गर्छन् । झ्याउँरे, सोरठी र सालै जो नाच्ने खासै चलन छैन । टीभीमा नै सांस्कृतिक कार्यक्रम हेरेर मनोरञ्जन गर्छन् । हिन्दू संस्कार अनुसारका चाडपर्वहरु मनाउने चलन छ । गाउँमा आमा समूह छ । दिदीबहिनीहरुले समूह बनाएर आर्थिक परिवर्तनमा केही सहयोग गरेका छन् । स–साना किराना पसलहरु छन् । नामले खुर्साने भएपनि गाउँमा यतिबेला खुर्सानी कतै फलेका भेटिदैनन् । जलवायू परिवर्तन विज्ञ् मञ्जिल शेरचनले खुर्सानेमा कुनै समयमा खुर्सानी फल्थ्यो होला तर अहिले जलवायू अनुकूलता नभएकोले खुर्सानी मासिन गएको हुन सक्ने उनको तर्क छ ।

खुर्साने गाउँलाई कृषि स्मार्ट भिलेज बनाएर स्थानीयहरुको आम्दानी बढाउन सकिने सोही गाउँकी स्थायी बासिन्दा तथा जनप्रतिनिधि शान्ति बिकले बताउँदै भनिन् –सिंचाईको सुविधा छ । खेतीयोग्य भूमि छ । किसानहरु कर्मशील छन् । त्यसैले स्थानीय सरकारका तर्फबाट सक्दो पहल गरिएकै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।