ताजा अपडेट »

बुटवलमा आधुनिक बधशाला, २२ करोड १३ लाखमा ठेक्का सम्झौता

बुधबार, ३१ असार २०७७, १३ : १६
14 Shares

बुटवल । बुटवलमा बधशाला निर्माण गर्ने झण्डै डेढ दशकदेखिको पहल साकार हुने भएको छ । वर्षौंको पहलमा बुटवल उपमहानगरपालिका-१० रामनगरमा केही संरचना निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको बधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको हो । बुटवलमा जनप्रतनिधि निर्वाचित भएसंगै प्राथमिकतामा परेका आयोजना मध्येको बुटवल बधशाला एक हो । जनप्रतिनिधिको चासो र सरोकारका कारण गुरुयोजनाका साथ अब व्यवस्थित बधशाला बन्ने निश्चित भएको छ ।

करिब तीन विघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डसहित उक्त अत्याधुनिक पशु बधशाला निर्माण हुने छ । यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक बधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि बुटवल उपमहानगरपालिकाले उच्च स्तरको प्राविधिक अध्ययन गराएको थियो । सोही आधारमा नयाँ मापदण्डको बधशालाको गुरुयोजना बनाएर काम सुरु भएको हो । अहिले बन्न लागेको बधशाला २२ करोड १३ लाख ३५ हजार ९९६ को लागतमा निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । निर्माण सुरु भएको १६ महिनामा निर्माण सक्ने गरि सम्झौता भएको हो ।

बुधबार एक समारोहका बीच मुख्यमन्त्री शंकर पोखरेलले बधशालाको शिलन्यास गरे । महामारीकै बीचमा नयाँ कामको सुरुआत गर्न लागेको भन्दै बुटवललाई धन्यवाद ज्ञापन गरे । उनले बुटवल उपमहानगरले किसान, व्यवसायी, सहकारी समेतलाई साझेदारीमा लिएर काम सुरु गरेकाले बधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको उल्लेख गरे । कृषिका माध्यमबाट अर्थतन्त्र उकास्न सकिने आधार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले पशुपालन र मासुजन्य व्यवसाय एउटा महत्वपूर्ण उद्योगका रुपमा रहेकोले बधशालाले व्यवस्थित बजारिकरणको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश सरकारका मन्त्रीहरु उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, मन्त्रालयका सचिव तेजबहादुर सुवेदी, उपमहानगरका पूर्वाधार तथा आर्थिक समितिका प्रमुखहरु र प्राविधिकहरुको उपस्थितिमा बधशालाको शिलन्यास गरिएको थियो ।

त्यसक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सार्वजनिक निकाय, किसान, व्यवसायी र उपभोक्ता सबैको साझा सहकार्यबाट बधशाला निर्माणको काम अगाडि बढेको बताउँदै प्रमुख सुवेदीले सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । प्रमुख सुवेदीले सबैलाई स्वच्छ तथा गुणस्तरीय मासु उत्पादन तथा उपभोग गर्नु पर्ने कुरामा सचेत बन्दै बधशाला निर्माणमा बजेटको अभाव हुन नदिने बताए । ४ पी मोडल अनुसार बधशाला संचालन गरिने भएकोले यो परियोजना दिगोरुपमा संचालन हुने कुरामा सबै पक्ष ढुक्क रहन प्रमुख सुवेदीले आग्रह गरे ।

अहिले निर्माण सुरु भएको बधशालामा पहिलो चरणमा खशी र बोका मात्रै बध गर्न मिल्ने बनाइने छ । प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेशनलले गरिरहेको छ ।

वर्षौंदेखिको पहल साकार हुँदै

बुटवलमा बधशाला निर्माणको पहल झण्डै २० वर्षअघि देखि भएको थियो । लामो समयदेखि प्रतिक्षा गरिएको बुटवलमा बधशाला बुधबार शिलन्यास भएसंगै अहिले बल्ल निर्माणको चरणमा प्रवेश गरेको छ । बुधबार शिलन्यास समारोमा मुख्यमन्त्री, मन्त्रीहरु, उपमहानगरका प्रमुख, उपप्रमुखसहितको सामुन्ने निर्माण कम्पनी श्री शिवशक्ति कन्ट्रक्सन प्रालिका प्रभाकर लामिछानेले तोकेको अवधि भन्दा अगावै निर्माण सक्नेगरि काम गरिने बताउँदा सरोकारवालाहरु उत्साही देखिए । भुक्तानी प्रक्रिया र साइट क्लियरेन्सका काममा झन्झट नहुँने हो भने तोकेको समयभन्दा अगावै काम सकिने निर्माण कम्पनीको भनाइ छ ।

बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु. सात करोड, बुटवल उपमहानगरपालिकाको रु. तीन करोड गरी आव २०७६÷७७ मा कुल १० करोड बजेट बिनियोजन भइसकेको छ ।

क्रमागत रुपमा बहुवर्र्षीय योजनाको रुपमा परियोजना संचालन गरिने बुटवलका प्रमुख सुवेदीको भनाइ छ । परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा एक करोड २२ लाख, भवन निर्माण तथा सिभिल वर्कमा छ करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा ६ करोड ६२ लाख, अन्य उपकरण तथा औजार तीन करोड ५७ लाख, संचालन पूर्व खर्च तथा कन्टिजेन्सी दुई करोड ९० लाख खर्च हुने प्रस्तावित बुटवल मासु प्रशोधन तथा उत्पादन केन्द्रको लागत विवरण रहेको उपमहानगरका वरिष्ठ इन्जिनियर एवम् उक्त परियोजनाका साइट इन्चार्ज इन्जिनियर गौतम रौनियारले बताए ।

यस्तो बन्नेछ बधशाला
दैनिक एक हजार खशी बोका बध गर्न मिल्नेगरि बधशाला बन्ने छ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उधान र बगैंचा निर्माण गरिने छ । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायो ग्यास निकालिने छ । पानीलाई पुनःप्रयोग गर्न मिल्नेगरि प्रशोधन गरिने छ । बधशालामा दैनिक पाँच सय देखि एक हजारसम्म खशी बोकाको बध गर्न सक्ने संरचना तयार गरिने छ ।

साझेदारीको मोडल
एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो । बधशाला निर्माण तथा संचालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगर बीच भएको सम्झौता अनुसार बधशाला निर्माण पश्चात उत्पादक किसानहरु र मासु व्यवसायीहरुले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले उक्त बधशाला संचालन गर्ने छ । उपमहानगरको आगामी विधान अधिवेशनमा निर्देशिका र ऐन निर्माण गर्नेगरि तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

बुटवल बधशालामा करिब १२ हजार खसी बोका उत्पादक महिला किसानहरु र ३०० जना मासु व्यवसायीहरु सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा. तिर्थराज रेग्मीले बताए । उनले साना किसानलाई सशक्तिकरण गराउँदै आएको बताउँदै बुटवलसहति कोहलपुर, बिराटनगर, भरतपुर र पोखरामा बधशाला निर्माणका लागि हेफरले सहकार्य गरिरहेको बताए ।

हालसम्म करिब सात हजार जना उद्यमी महिलाहरु र एक सय जना मासु व्यवसायीहरु विभिन्न इन्भेस्टमेन्ट कम्पनीहरुमार्फत सहभागी भएका छन् । परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यहरुबाट करिब ७ करोड तथा मासु व्यवसायीहरुबाट ३ करोड ७८ लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताए ।

बधशाला दिगो बनाउने पहल
नेपाल सरकारद्वारा विगत लामो समयदेखि नै उपभोक्ताहरुलाई सफा तथा स्वस्थ मासु उपलब्ध गराउन, खुल्ला वध रोक्न, व्यवस्थित पशु ढुवानी गर्न, पीडारहित बधका लागि विभिन्न किसिमका ऐन, नियमावली तथा निर्देशिकाहरु जारी गरिदैं आएको छ । तथापि, पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ पारित भएको दुई दशक वितिसक्दा पनि हालसम्म यसको कार्यान्वयन हुन सकिरहेको छैन । नेपालमा बिभिन्न समयमा काठमाडौँ धादिङ, हेटौडा तथा अन्य स्थानहरुमा बधशाला स्थापना भएपनि सञ्चालन हुन सकेनन् ।

बुटवलमा सञ्चालन हुने बधशालाका लागि उपमहानगरले पनि दिगो सञ्चालनको मोडल नै तयार पारेको छ । बाख्रा पालन गर्ने किसान देखि मासु विक्री गर्ने व्यवसायीसम्म यसैमा साझेदार बनेका छन् । रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी तथा अर्घाखाँची जिल्लाका २८ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुलाई संगठित गरी तीनवटा इन्भेष्टमेन्ट कम्पनी गठन गरिसकिएको बधशाला सञ्चालन समितिका सह-संयोजक तथा मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । किसान र मासु व्यवसायीहरुका अलग अलग इन्भेष्टमेन्ट कम्पनी निर्माण गरेर उपमहानगरको मातहतमा बधशालामा सहकार्य गरिएको उद्यमी पौडेलको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।