ताजा अपडेट »

लकडाउनमा भाडा छुट दिने घरधनीलाई सम्मान

मंगलबार, ३० असार २०७७, २१ : ४३
4 Shares

बुटवल । लकडाउन अवधीको घरभाडा मिनाहा तथा छुट गर्र्ने घरधनीहरुलाई आज मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि विशेष सम्मान गरिएको छ । बिश्वब्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रासका कारण जारी गरिएको लकडाउनको समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० जना मनकारी घरधनीलाई सम्मान गरिएको हो ।

लकडाउन अवधीभर ब्यापार ब्यबसाय ठप्प भएकोले भाडामा रहेका ब्यवसायीहरुलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई सम्मान गरिएको नेपाल घरबहाल संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले बताए ।अध्यक्ष पौडेलका अनुसार नेपाल घरवहाल सरोकार संघ रुपन्देही र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी मनकारी घरधनीहरुलाई सम्मान गरिएको हो ।लकडाउन अवधीको घरभाडा मिनाहा तथा छुट गर्ने ति मनकारी घरधनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सम्मान पत्र प्रदान गरेका थिए ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि व्यापार व्यबसाय प्रत्यक्ष रुपमा प्रभावित भएको थियो । तिन महिनासम्म व्यापार व्यवसाय ठप्प भएपछि पीडित व्यवसायीहरुले घरभाडा तिर्न समस्या भएको भन्दै घरधनी समक्ष लकडाउन अवधीभर भाडा छुटको माग गर्दै सार्वजनिक अपिल समेत जारी गरेका थिए ।भाडामा बसी ब्यापार व्यवसाय गर्नेहरुलाई हालसम्म बुटवलका ६० जना घरधनीले निश्चित समयको घरबहाल छुट गरेको नेपाल घर बहाल संघ रुपन्देहीले जनाएको छ ।

यसरी सम्मानित हुनेहरुमा मृगेन्द्रकुमार शेरचन, रुपकिशोर लाकौल, सिंह कम्प्लेसका सञ्चालक महेशमान सिंह, यज्ञप्रसाद कसजु, मदनलाल शेरचन, राम प्रसाद न्यौपाने, कृष्ण प्रसाद न्यौपाने, चक्र बहादुर पुन, कृष्ण पाठक, उज्जवल कसजु, नवराज श्रेष्ठ, सुनिल वझा, शोभाखर पाठक, सुलोचना श्रेष्ठ, रबिन्द्र गोपाल लाकौलले केही समयको घरभाडा छुट दिएका कारण सम्मानित भएका हुन् । त्यस्तै अम्मल लाकौल, ईन्द्र रिसाल, डा. द्वारिका थैव श्रेष्ठ, होमबहादुर सेन, बुद्धिप्रसाद शर्मा पाण्डे, नारायण ढकाल, रामचन्द्र रेग्मी, ऋषि भण्डारी, यमुना श्रेष्ठ, रामकुमार श्रेष्ठ, गीता शर्मा भट्टराई, चुन्नुप्रसाद पौडेल, शुमी हमाल, बिकास कर्माचार्य लगायत ६० जना घरधनीले भाडा छुट दिएका कारण सम्मानित भएका हुन् ।

सो कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लकडाउनको समयको घरभाडा छुट दिएर बुटवलका घरधनीहरुले समाजलाई सकारात्मक सन्देश प्रदान गरेको बताए । नगर प्रमुख सुबेदीले बुटवलमा घरबहाल कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको जानकारी गराए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवलका केही व्यवसायी र घरधनीले समग्र व्यवसायीको हितमा काम गरेको भन्दै घरबहाल मिनाहा तथा छुट गर्ने कार्य सराहनिय भएको बताए ।

नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोईरालाले लकडाउन अबधीको केही भाडा छुट दिएर व्यवसायीलाई ठूलो गुन लागेको बताए । उहांले व्यवसायीका समस्या घरधनीले बुझै जस्तै सरकारले पनि व्यवसायीका समस्या बुझ्न आवश्यक रहेको बताए । कार्यक्रममा अध्यक्ष खगेन्द्र पौडेल, संस्थापक अध्यक्ष लेखनाथ भण्डारी, बरिष्ठ उपाध्यक्ष राजु लिगल लगाएतले बोल्दै घरभाडा छुट गर्ने घरधनीहरुको व्यवहार देशभरका सबै घरधनीहरुले सिक्न जरुरी रहेकोमा जोड दिए । आगामी दिनमा पनि घरबहाल छुट गर्ने घरधनीहरुलाई क्रमशः सम्मान गर्दै जाने योजना रहेको वरिष्ठ उपाध्यक्ष लिगलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।