२०७५ असोज छ गते साँझ अफिसबाट मेरो बुवा–आमा लगाएत हाम्रो सानो परिवार बस्ने घर पुग्दा मम्मीले तयार पार्नु भएको मेरो जन्मदिनको सेलिब्रेसनका हुन्। म घर पुग्ने बित्तिकै ममीलाई दर्शन गरेर हात मुख धोएर बाहिर कुर्सीमा बसें। म आमा को अनुहारमा संधै हाँसो खोजिरहेको हुन्छु। हजारौं पीडाका बाबजुद पनि मेरी मम्मीले सँधै ओठ भरी मुस्कान लिएर मलाई जीवनमा बलियो बन्ने प्रेरणा दिनु भएकोछ। बुढेसकाल लाग्दै गर्दा बा–आमाका असिमित चाहानाहरु हुँदा-हुँदै पनि संधै मेरै प्रगतिका लागि आमाले बुवासँग जिद्दी गरेको देख्दा म नतमस्तक हुने गरेकोछु।
बुवा–आमाबाट टीका थाप्दै गर्दा , म छोरो न हुँ, बुवा–आमाको गिफ्ट मेरा लागि के हुनेछ भनी बाल उत्सुकता कै बीच मम्मीले भन्नू भयो,‘बाबू, यो तलाईँ निक्कै सुहाउँछ, पाइन्ट सिलाएर लगाएस् है।’ उति खेरै मैले एक हफ्तापछि मुम्बई भ्रमणमा निक्लँदा यही लाएर जाने हो भनी मम्मीलाई उत्तर दिएँ। हामी एक सामान्य परिवार का हौँ। जन्मदिन मनाउने कुराको सवालमा हाम्रो घरमा डेढ दशक अघिसम्म त्यो संस्कार थिएन। २०६१ सालको असोज ६ गते पहिलो पटक मेरो जन्म दिन मनाए पश्चात, यो संस्कारले निरन्तरता पाउन थाल्यो। क्रमिक रुपमा घरका अन्य सदस्यका पनि जन्मदिन हामीले मनाउँदै आएका छौं। तर, आज, मम्मी मेरो प्रतीक्षामा त्यसरी व्यग्र भएर मेरो जन्मदिन मनाउने प्रतीक्षामा घर बसिरहँदा एउटा विशाल छटपटाहटले मेरो मन भारी भएको छ । कता–कता आत्मामा प्रश्नहरु ब्यूँतेका छन्। खुशी भएर ,मेरो जन्मदिन मनाई दिने मेरी ममतामयी आमाको जन्मदिन मैले कहिल्यै मनाएको छैन।
हामी छोरा–छोरीहरु कति भाग्यमानी छौँ , जो सर्तबिना हाम्रा रहरहरु पूरा गरिदिने आमा बुवा पाएका छौँ। आशिर्वाद दिदैँ मम्मी भन्नुहुन्थ्यो, ‘बाबू तैंले नेपालमा नाम राख्छस् भन्नेमा म ढुक्क छु, यो वर्षको आशिर्वादले तंलाई विश्वमा नाम राख्न सक्ने वनाओस्, यो वर्ष तँ अझ बलियो बनेस्, निरोगी भएस्, सबैको मन जितेस्।’ म भावुक थिएँ। २०७५/७६ लाई मैले मेरो ब्यापारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा बजारिकरण गर्ने लक्ष्य राखेकै बेला आमाको आशिर्वाद उही कुरालाई प्रोत्साहन गर्ने खालको हुँदा म हर्षले विभोर थिएँ। मेरा गहभरी आँशु थिए, मैले पुर्लुक्क आमाको अनुहार हेरेँ। दिल खोलेर हाँसी रहनुभएको थियो। मैले सबै हर्षका आँशु लुकाउन बाध्य भएँ। आमाहरुले छोरा–छोरीका मनका कुरा बुज्छन् रे भन्ने त सुनेको थिएँ । तर, मैले बनाएका ब्यापारिक रणनीतिका बारेमा पनि ज्ञाता भएको पाउँदा लाग्छ, ‘आमाको आशिर्वाद रह्यो भने निसंकोच, एउटा छोरोले विश्व जित्न सक्छ ’ भन्ने मेरो ठम्याई आज अझ मजवुद भएकोछ।
हुन त मम्मीलाई कैंयौँ पटक मैले उहाँको जन्मबारे सोध्ने गरेको छु। ‘भारतको देहरादुनमा जन्म भएको र तँसँग एकपटक आफ्नो जन्म ठाम जाने रहर छ’भनेर उत्तर मोडिदिनु हुन्थ्यो। कुरा जन्म ठाम पुग्ने निस्किएपछि ठ्याक्कै मम्मीको जन्मदिन कहिले हो भनी संधै अनविज्ञनै रहेँ। आमाको जन्मदिन मनाउने ठूलो रहर छ । कुनैदिन त फकाएर सोधुँला भन्ने हुन्छ। नागरिकतामा भएको जन्मदिन त नागरिकता बनाउनका लागि हतारमा प्रयोग भएको भन्ने सुनेको थिएँ । तसर्थ मेरो आमाको जन्मदिनको खोजी गरिरहेको छु । आजकल जस्तो पूरै तथ्यांक राख्ने समय उ बेला पनि भएको भए,मलाई कति सजिलो हुन्थ्यो होला ! पहाडमा पनि मैले खोजी नगरेको होइन । बुढा–पाकाले ‘ खै ! आँधिखोलामा बाढी आएका वर्ष झैं लाग्छ तेरी आमा जन्मिएकी, पल्टनमै जन्मिएकी हुनाले ठ्याक्कै भन्न सक्दिन’ छोराका हरेक रहर पूरा गरिदिने मेरी आमालाई थाहा होला या नाई वर्षौँदेखि यो छोराको अर्को पनि रहर छ ‘आमाको जन्मदिन’ मनाउने।
हामी स्याङ्जाबाट बुटवल झरेको ३५ वर्ष पुगेछ। ममीले मलाई काखमा च्यापेर ल्याउँदा बुवा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा ट्रेनिङ मै ब्यस्त हुनुहुन्थ्यो। हाम्रो पहिलो बसाई बुटवल दीपनगरबाट सुरु भएको रहेछ। त्यस ताका ममी बुवाले म लगाएत भाई–बहिनी हुर्काउन गर्नुभएका संघर्षका कथा सुनाउँदा आजकल कसैलाई पत्याउनै गार्हो हुन्छ रे। पछि म प्रहरी विद्यालय पोखरा पढ्ने मौका पाएपछि भने मेरो उज्जवल भविष्यको प्रतिक्षामा आमा–बुवाले थुप्रै बसन्तहरु रुँदै–हाँस्दै कटाउनु भएको छ । म शिक्षा क्षेत्रबाट ब्वसायमाअघि बढ्दै सफलता हाँसिल गर्दैजाँदा बुवा र आमाको छाति गर्वले फुलेर आउँछ भनेर अरुसँग कुरा गरेको सुनेको छु मैले।
गत चुनावमा विवेकशील साझा पार्टी बाट प्रदेश नं ५ को प्रदेश सभा निर्वाचनको, रुपन्देही क्षेत्र नं २ (ख) मा उम्मेद्वाार भई चुनावमा सरिक हुन जानू पूर्व आशिर्वाद थाप्न आउँदा आमाले ‘देश परिवर्तन गर्न गार्हो छ बाबु तर, तँ जस्तै अरुपनि लगनशील र अनुशासित युवा राजनीतिमा आए भने हाल चलिरहेको अस्थिरता निकै छिटो सरल रुपमा हल भएर जानेछ’ भन्दै सम्झाउनु भएको थियो। उहाँको एउटै रट्टान थियो, ‘अब तँ जनताको छोरो होस्, मेरो लागि मात्र होइन, म जस्तै धेरै आमाहरुको मन खुशी हुने काम गरेस्।’ बुवाले त हिम्मत बढाउन माला नै पहिर्याएर राजनीतिक अभियानमा स्वागत गर्नु भएको सम्झन्छु। मम्मीले कसरी बुझ्नु हुन्छ कुन्नि , निस्वार्थ समाजिक सेवा नै राजनीतिक सफलताको मेरुदण्ड हो ।’
उहाँ पटक–पटक बुवा र मलाई समाजमा जनताहरुका काममा खटिन आदेशै दिने गर्नु हुन्छ। माइतमा, बुवाको रानीतिक पृष्ठभूमिमा आँफू मुनि १० जना भाइ–बहिनी हुर्काउनु भएकी मेरीआमा जाँगरिली भएकै कारण हामीलाई पनि काम गरिरहेको देख्न चहानुहुन्छ, समाजका सदस्यहरुसँग मिलेर सेवा भावका साथ खटिरहेको हेर्न चहानुहुन्छ । जन्मदिन सबैको आउने–जाने गर्दछ। मेरोपनि धेरै पटक मैले जन्मदिन मनाइ सकेकोछु। तर, यस वर्ष मेरा लागि खास रह्यो। दिउँसोको समय आफ्नै कार्यालयहरुको भिजिटमा बित्यो भने साँझ एउटा अनौठो अनुभव गर्ने मौका मिल्यो।
ममताकी खानी आमा
हो , म भाग्यमानी छु । अफिसबाट घर फर्कँदा जन्मदिन मनाउन उत्साहका साथ प्रतीक्षा गर्ने मेरी आमा जसले संसारभर नाम चलाउन सक्ने आशिर्वाद दिनु भएको छ । मेरा मनका हरेक साँेच र सामथ्र्य लाई पहिचान गर्नु भएको छ । म आज ती आमालाई साष्टाङ्ग दण्डवत प्रणाम गर्न चहान्छु। यस धर्तीमा जन्म दिएर संसार बुझ्न र बुझाउन सक्ने काविल छोरा बनाउन हर हमेसा ओठ भरी मुस्कान राख्ने , प्रेरणाकी खानि मेरी आमालाई म हृदयदेखिको सम्पूर्ण प्रेम अर्पण गर्न चहान्छु। कुनै विशेष दिन छिट्टै म मेरी आमाको जन्मदिन मनाउनचहान्छु।
आमाको एउटै चहाना हुँदो रहेछ, मेरो छोराको जय होस्। तीनै आमाको जय–जयकार हामी हरेक दिन गर्छौँ। आमा औँशीमा पनि सम्झिन्छौँ। तर, आमा जन्मिएकै दिन उनको जय–जयकार गर्न पाउनुमा छोराहरुको ठूलो भाग्य र खुशी हुँदो रहेछ। सबै आमाहरुको जन्मदिन विशेष बनोस् । पृथ्वीका सम्पूर्ण प्राणिका सबै आमाहरुको जय–जय होस्।
प्रतिक्रिया