May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

चामल, मकै र कोदो

696

प्रदीप नेपाल

माथिको शीर्षक, नेपालको सामाजिक वर्गको सङ्केत पनि हो । हुनेखानेहरू, वर्षैभरि चामलको भात खान्छन् । हुँदा खानेहरू, चामल र मकै आलोपालो अथवा मकैमात्रै भए पनि खाएर वर्ष टार्छन् । कोदो भनेको सर्वाधिक गरीवको खाना हो । हप्ताको सातै दिन कोदाको परिकार खान नपाउने नेपाली पनि अहिलेको समाजमा छन् । सामान्य भाषामा वर्ग भनेको यही हो । हुनेखाने, हुँदा खाने, कोदो पनि महिनाभरि खान नपाउने बाहुन पनि छन्, राईलिम्बू पनि छन्, मगर पनि छन् र नेवार पनि छन् । नेवार भन्ने बित्तिकै काठमाडौँ उपत्यका नबुझियोस् भन्ने मेरो आग्रह हो । सयौँ वर्षदेखि नेपालको राजधानी भएको हुनाले सत्ता र सुविधा प्राप्त गर्ने उपत्यकाबासीमा नेवार, क्षत्री र बाहुन पर्छन् । किनभने नेवार समुदाय अत्यन्तै सम्पन्न वर्णाश्रम व्यवस्था भएको समुदाय हो । त्यसैले अन्तको भँडारी यहाँ राजभण्डारी हुन्छ । अन्तको उपाध्याय यहाँ राजोपाध्याय हुन्छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको परिचय रञ्जना लिपिबाट भएको छ । रञ्जनालिपि भनेको नेवार लिपि हो । यस्तो सम्पन्न र समृद्ध संस्कृति भएको समुदायले आपूmलाई जनजाति भनेर नहोच्याए हुन्थ्यो मेरो रटान हो । आगे सरोकारवालाको चासो !  तर समय परिस्थिति सधैँ एउटै रहँदैन । ज्ञानले मान्छेलाई सत्य चिन्न वाध्य पार्छ । अहिले त्यही ज्ञानलाई पस्किन खोजेको हुँ मैले । 
धेरै पाठकले बुझ्नुभएको सत्य के हो भने अहिले चामल, मकैभन्दा पनि कोदोको महìव बढेको छ । काठमाडौँका कतिपय भान्छाघरहरूले आफ्नो सूचनापाटीमै कोदाको ढिँडोको प्रचार गरेका हुन्छन् । अहिले स्थानीय मार्सी चामलको ‘विगविगी’ छ । मार्सी चामल स्वादिलोभन्दा पनि पौष्टिक हुन्छ । उहिले फापरको इज्जत थिएन । अब फापर पनि पौष्टिक खाना भएको हुनाले ठूलाबडाहरूको ‘रेसिपी’ मा परेको छ । 
सङ्घीयता भनेको यही ‘रेसिपी’ हो तर शासनको यो ‘रेसिपी’ लाई पचाउन हाम्रा ठूलाबडालाई असाध्यै गाह्रो परेको छ । हामी ठूला । हामी सिंहदरबारमा बस्ने । अरू साना । उनीहरू प्रदेश सदरमुकाममा बस्ने । स्थायी सरकारका नेता कार्यकर्तालाई हामीले टिकट दिएर ठूलो बनाएका हौँ भन्ने दभ्म छ सङ्घीय संसद्का सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीहरूमा । उनीहरूले बेलैमा यो दम्भलाई बिर्सिएर, सबैभन्दा ठूलो भनेको स्थानीय सरकार हो, किनभने जनतासँग प्रत्यक्ष सम्पर्क उनीहरूसँग हुन्छ, हामीसम्म त थिग्रिएकोे कुरा आउने न हो भन्ने सत्यलाई बेलैमा बुझेनन् भने नेपालको सङ्घीयता ठूलो दुर्घटनामा पर्छ । यसलार्ई सिध्याउन राजा र हिन्दू धर्म आउनै पर्दैन । 
मजस्तो सङ्घीयता विरोधीले बुझेको कुरा शेरबहादुर देउवा र कमल थापाजस्ता दिग्गज राजनीतिक खेलाडीले किन नबुझ्नु भएको 
होला ! किनभने यो सङ्घीयता ल्याउने संसद्मा दुबै महानुभावहरू विराज हुनुहुन्थ्यो । उतिबेलै 
‘हामी राजतन्त्रसहितको हिन्दू राष्ट्रका अभियन्ता हौँ भनेको भए के बिग्रन्थ्यो ?’ मान्नेले मान्थे नमान्ने जति विरोधमा लाग्थे । सङ्घीयताको उखु चुसेर सिध्याइसकेपछि अहिले केको ल्याङल्याङ ? मरेपछि डाक्टरको कुनै अर्थ हुन्छ ? हुँदैन । त्यसैले उहाँहरू दुई जना र उहाँहरू जस्ताले अहिले सङ्घीयताको विरोध गर्नु भनेको आकाशतिर थुक्नु र आँ गरेर खकारको प्रतीक्षा गर्नु मात्र हो तर खालि देउवा र थापामात्रै यस कोटीमा पर्नुहुन्न । सयौँ यस्ता अनुहार छन् हाम्रा सामु अवसरवादको टोपी उखेलिएकाहरू । भर्खरै शिक्षा मन्त्रालयले प्रादेशिक सरकार र स्थानीय सरकारको अधिकार खोसेर केन्द्रमा थन्क्याएको समाचार पढियो । यो पनि देउवाको सोचको अनुशरण हो । यो सङ्घीयताका लागि नसुहाउने कुरा हो । यो कोदो र फापरलाई घृणा गर्ने चामलवालाको सोच हो । सङ्घीय सोचमा यस्तो मन्त्रालय हुनुको कुनै अर्थ छैन । ‘शिक्षक महासङ्घसँग सम्झौता गर्नु परेको’ बहाना देखाइयो । शिक्षक महासङ्घसँग सम्झौता किन गर्नु प¥यो ?
नेपालको प्रजातान्त्रिक आन्दोलनमा शिक्षकहरूको, शिक्षक सङ्गठनहरूको ठूलो योगदान छ । त्यसलाई कसैले खोस्न सक्दैन तर समाजको परिवर्तनसँगै शिक्षक सङ्गठनमा पनि समयानुकूल परिवर्तन हुनुपर्छ । किनभने अहिलेको व्यवस्था ल्याउने शिक्षकको योगदानलाई सम्मान गर्ने कि बिर्सने ? शिक्षक महासङ्घका नेताहरू आफैँसँग सोध्नुपर्छ र आफैँले त्यसको उत्तर दिनुपर्छ । 
कर्मचारी समायोजन पनि यस्तै हो । के आपूm ठालु भइरहन हिजो कर्मचारी आन्दोलन भएको हो ? होइन, एउटा सभ्य, प्रजातान्त्रिक नेपालको सपना बोकेर कर्मचारी आन्दोलनकारीहरूले आफ्नो जीवनको आहुति दिएका हुन् । यसलाई २५ वर्षमा कसरी बिर्सन मिल्छ ? गत शनिबारको गोरखापत्रमा मैले कर्णाली प्रदेशका सचिवको टिप्पणी पढेँ । काठमाडौँमा नदेखेको सपना उहाँले कर्णाली प्रदेशमा गएर देख्नु भएछ । पौष्टिक खाना, जडीबुटी, पानी जताततै उहाँ पैसा देख्नु हुन्छ । प्रदेश नम्बर १, जहाँ म जन्मिएँ, हुर्किएँ तर राजनीति गर्न कहिल्यै कोशी जान पाइनँ । अहिले त मसँग भोजपुरको नस्टलजिया (घर सम्झिने बिमारी­) मात्र छ । तर यो काठमाडौँभन्दा प्रदेश नम्बर १, हजारौँ गुणा राम्रो छ । त्यहाँ सगरमाथा छ, त्यहाँ महाभारतका पात्रहरू छन्, त्यहाँ बराहक्षेत्र छ, त्यहाँ राम, सीता र लक्ष्मण वनवास बसेको रामधुनी छ, सप्तकोशी नदीको बीचमा लङ्का टापु छ । मिल्केको गुराँस छ । झापाको चामलले हाम्रो भोक मारेको छ । काठमाडौँमा भत्किँदै गएका सम्पदाहरू अनि विषाक्त वायु प्रदूषण बाहेक अरू के छ ?
त्यसैले सिंहदरबारमा बस्ने भाते नहुनुहोस् कर्मचारी साथीहरू ! थातथलो छ भने उतै जानुहोस् जहाँबाट आउनु भएको हो । छैन भने बनाउने कोेशिस गर्नुहोस् । तपाईहरूले समायोजनलाई सहज बनाइदिनु भयो भने सङ्घीयता सही बाटोमा अगाडि बढ्छ । 
सङ्घीयतालाई अब कसैले चुनौती नदिनुहोस् । धिक्कार्नुहोस् बरू आफैँलाई, सुझ न बुझ सङ्घीयता ल्याइएछ भनेर । आएको सङ्घीयता कुनै हालतमा पनि फर्किंदैन । तपार्इंहरू सबैले आफ्नो खुट्टामा बञ्चरो हानिसक्नु भएको छ । अहिले शिक्षा मन्त्रालयले ठगेजस्तो ठग्न सक्नुहोला । तर केन्द्रीय सरकारका हाँक–डाँकका दिन सकिए अब । अहिले देखा परेको प्रदेश र सङ्घीय सरकारका बीच देखापरेको अन्तरविरोधमा सबै प्रदेशको पक्षमा जानेछन् । प्रदेश र गाउँ नगरपालिकाका बीचमा अन्तरविरोध देखा प¥यो भने सबै स्थानीय सरकारको पक्षमा जान्छन् । तपाईंहरूले नै गाउँ र शहरलाई सत्ताको स्वाद दिनुभएको हो । आफ्नो अधिकारमा तलबितल परेमा तिनले सङ्घीय संसद्को तपाईंहरूको उम्मेदवारी सजिलै पराजयमा बदल्न सक्छन् । 
त्यसैले चामलको दम्भ छोड्नुस् र अहिले सबै भुँडेहरूले कोदो छानेजसरी तपाईंहरू पनि कोदोतिर जानुहोस् । कुहेको अथवा नकुहेको भए पनि बोसो बढाउने चामललाई छोडेर शरीर बनाउने कोदो, फापर, चिनोतिर लाग्नुस् । यी सबै हाम्रा पौष्टिक उत्पादन हुन् । त्यसैले सिंहदरबार अहिले गाउँतिर पाइने पौष्टिक खाना खान लालायित भएर 
बसेको छ । सङ्घीयता जनताको शक्ति बढाउने शासन हो । समुदायको शासन बलियो भए मात्र नेताहरूले भाषण गर्ने गरेको ‘समाजवादी यात्रा’को बाटो फराकिलो हुन्छ । 
नेपाल अहिले अप्ठ्यारो मोडमा फँसेको छ । एकातिर समृद्ध पुँजीवाद हुँदै समाजवादतिर जाने बाटो छ । त्यसका लागि सङ्घीयतातिर लाग्नु पर्छ । होइन, हामी माग्नेहरूका लागि किन चाहियो समाजवाद, हामीलाई कुहेको चामल पनि मीठो लाग्छ भन्नेहरू उही राजतन्त्र, उही हिन्दू राष्ट्र, उही बहुदलतिर गए हुन्छ । तपाईं कता जानु हुन्छ ? स्वाभिमानको कोदोतिर कि मगन्तेको कुहिएको चामलतिर ? निर्णय आफैँ गर्नुहोस् ।-गोरखापत्र

(लेखक नेपाल कम्युनिष्ट पार्टीका नेता हुनुहुन्छ)

पछिल्लो अपडेट