ताजा अपडेट »

खाडीमा हजारौं नेपालीको रोजगारी गुम्दै

विहीबार, २७ चैत्र २०७६, ०८ : १५
2 Shares

काठमाडौं । कोभिड–१९ का कारण खाडी क्षेत्रमा ५० हजार श्रमिकले रोजगारी गुमाउने अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । यसको असर त्यहाँ काम गर्ने हजारौं नेपालीलाई पर्ने देखिएको छ । भाइरसका कारण त्यहाँका कम्पनीले नेपाली कामदारलाई बेतलबी बिदा दिन थालेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा मुख्य कार्यालय रहेको क्रेभिया रेस्टुरेन्टले मार्च २७ मा आफ्ना कामदारका लागि सूचना गर्‍यो । क्रेभियाले कोरोना भाइरसको संक्रमण रोक्न चालिएको कदमबाट आफ्नो कम्पनीको आर्थिक अवस्थामा ठूलो असर परेको भन्दै अप्रिल १ देखि जुलाई ३१ सम्मका लागि कामदारलाई बेतलबीमा बिदामा राख्ने नीति लिएको जनायो । यो कम्पनीमा झन्डै २ सय ५० जना नेपाली काम गर्छन् । कम्पनीको यूएई, साउदी अरब, कुवेत र बहराइनमा ब्रान्च रेस्टुरेन्टहरू छन् । यसका सबै रेस्टुरेन्टहरू अहिले बन्द रहेका ठुल्ठूला मलभित्र छन् । क्रेभियाले कामदारको रोजगारीको सुरक्षाका लागि भन्दै अल्पकालीन नीति लिइएकाले यसलाई पालना गर्न कामदारलाई निर्देशन दिएको थियो ।

यो कम्पनीमा ८० हजार देखि २ लाख रुपैयाँ तलब पाउने नेपाली छन् । ‘कम्पनीले हजारदेखि ७ हजार ५ सय दिराम तलब खाने र ५ हजार दिराममुनि तलब खानेका लागि फरक–फरक नीति लिएको छ । ५ हजार दिराममाथि तलब खाने ५० प्रतिशत र ५ हजार दिरामभन्दा कम तलब खाने २५ प्रतिशतलाई बेतलबी बिदामा राख्ने नीति लिएको छ,’ एक नेपाली कामदारले भने, ‘अब सबैले काम निरन्तर पाउने अवस्था छैन । अब आलोपालो अनुसार काममा जाने र बेतलबी बिदामा बस्ने अवस्था आएको छ ।’

कम्पनीले स्वेच्छिक रूपमा बस्नका लागि अपिल गरिसकेको छ । यूएईमा लत्ताकपडा बेच्ने रिटेल स्टोर, होटल र रेस्टुरेन्ट, सेक्युरिटी कम्पनीहरूले कामदारलाई बेतलबी बिदामा राख्न थालिसकेका छन् । कोरोना भाइरस संक्रमण देखिन थालेपछि कम्पनीले कामदार कटौती गर्न थालिसकेका छन् । कम्पनीले कामदार कटौती गरे पनि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा आफ्नै खर्चमा क्याम्प वा कोठामा बसिराख्न बाध्य भएका छन् ।

सुरक्षा सेवा प्रदायक कम्पनी कोस्टगार्डले झन्डै ४ सय ५० जनालाई बेतलबी बिदामा राखिसकेको छ । ‘बेतलबी बिदामा राख्ने भएपछि मैले ५८ दिनको बिदा स्वीकृत गराएँ । दुबई विमानस्थलबाटै फर्कनुपर्‍यो । मेरो बिदा दुबईमै बसेर खेर गइरहेको छ । फेरि ड्युटीमा आबद्ध हुन पाइएन,’ उमेश पाण्डेले भने, ‘धेरै ठाउँबाट कम्पनीको ठेक्का रद्द भइरहेको छ ।’-कान्तिपुरबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।