ताजा अपडेट »

सञ्चारकर्मीलाई निवासबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह

शनिबार, ०८ चैत्र २०७६, १९ : १६
4 Shares

काठमाण्डौं । नेपाल पत्रकार महासंघले कोविड-१९ को जोखिमलाई ध्यान दिँदै सञ्चारकर्मीलाई निवासबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ। 

महासंघ केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए। सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्न सवारी साधनको व्यवस्था मिलाउन, सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय गरेको उनले बताए। 
  
बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ। यसैगरी बैठकले नेपालमा सो भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानिबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासंघका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। 

यसका लागि महासंघका तर्फबाट सञ्चारमाध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्यतथ्य सूचना प्रवाह वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत बैठकले गठन गर्ने निर्णय गरेको छ। सो समितिमा अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, दिलीप थापा र महासचिव रमेश विष्ट रहेका छन्। बैठकले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्ने उपायसम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।