ताजा अपडेट »

कोरोना कहर : उच्च सतर्कताको आवश्यकता ठहर

विहीबार, ०६ चैत्र २०७६, २२ : १०
10 Shares

विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड–१९) को महामारी दिनानुुदिन बढ्दै गएको छ । गत महिना चीनको वुहान प्रान्तबाट फैलिन सुरु गरेको उक्त भाइरस हाल विश्वको १५० बढी देशमा फैलिसकेको छ । यसको फैलिने क्रम बढ्दो छ । चीनबाट सुुरुभएपनि यतिबेला यूरोपियन देशमा सबैभन्दा बढी फैलिएको यस भाइरस नेपालका लागि पनि निकै संभावित र जोखिमपूर्ण छ । चीनबाट सुरु भएलगत्तै यूरोपतिर पनि फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले संकट घोषणा गर्दै नेपाललाई पनि उच्च जोखिममा राखेको थियो । हालसम्म विश्वमा संक्रमित हुनेको संख्या दुई लाख २० हजार नाघेको छ भने आठ हजार नौ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् । ८५ हजार सात सय ७९ जना ‘रिकभर’ भएका छन् । संक्रमणको अवस्थामा रहेका एक लाख ५८ हजार सात सय ५१ मध्ये ६ हजार आठ सयको अवस्था गम्भीर छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भने हालसम्म देखिएको छैन । यस भाइरस फैलिएको छिमेकी तथा निकटम् राष्ट्र चीन भएतापनि नेपालमा हालसम्म यसको संक्रमित भेटिएका छैनन् ।

उच्च जोखिममा रहेको नेपालमा कोरोना संक्रमित नदेखिएपनि सम्भावना भने प्रवल छ । यसै विषयमा कोरोनाको कहर भने बढ्दै गएको छ । केही दिन यता कोरोनाको कहरले जनमानसमा त्रास नै छाएको छ । पूरै विश्वमा आतंक मच्चाएको कोरोना नेपालमा फैलिए के होला भन्ने आशंका र कल्पनाले अधिकांश नेपालीमा त्रास छाएको छ । कोरोना भाइरसले विश्वलाई तीन भागमा विभाजित गरिदिएको छ । एक, कोरोनाको संक्रमण देखिएका मुलुक । दुई, कोरोनाको संक्रमणले छुँदै नछोएका मुलुक । तीन, कोरोना संक्रमण देखिएर यसको प्रभावबाट मुक्त बनेका मुलुक ।यसमध्ये कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ । विश्वमा रहेका ६१ प्रशासनिक क्षेत्रमध्ये कोरोना भाइरसको संक्रमण देखिएका २६ प्रशासनिक क्षेत्र पनि ‘रेडजोन’मा परेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४२ मुलुक मुक्त छन् । यसैगरी ३७ वटा प्रशासनिक क्षेत्र कोरोनामुक्त भएकाले ‘ह्वाइटजोन’मा छन् । दक्षिण–पूर्वी एसियामा नेपाल र भुटानमा यतिवेला एकजनामा पनि कोरोना भाइरस छैन । विश्व स्वास्थ्य संगठनले नेपाल र भुटानमा आयातीत संक्रमित मात्रै भेटिएको, स्थानीय संक्रमित नरहेको जनाएको छ । त्यसमध्ये भुटानमा भेटिएका एक कोरोना संक्रमित अमेरिकी पनि कोरोनामुक्त भइसकेपछि स्वदेश फर्किएका छन् । कोरोना भाइरसको संक्रमणबारे ताजा जानकारी सार्वजनिक गरिरहेको वर्ल्डोमिटरले सबै संक्रमित ‘रिकभर’ भइसकेको भन्दै नेपाललाई ‘ग्रिनजोन’मा राखेको छ । वल्र्डाेमिटरका अनुसार संक्रमण फैलिएका देशमध्ये नेपाल मात्रै ‘ग्रिनजोन’मा परेको मुलुक हो । भुटानमा भेटिएका कोरोना भाइरस संक्रमित व्यक्ति गैरभुटानी (अमेरिकी) भएकाले वर्ल्डोमिटरले भुटानलाई ‘ग्रिनजोन’मा नराखेको हो । नेपाल र भुटानबाहेक एसियाका आठ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । ५१ देश रहेको एसिया महादेशका ४२ देशमा भने कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमण नदेखिएका एसियाली मुलुकमा तुर्कमेनिस्तान, यमन, सिरिया, उत्तर कोरिया, लाओस, म्यानमार, टिमोर लेस्ट र ताजिकिस्तान छन् ।

यद्यपि उत्तर कोरिया र यमनको तथ्यांक बाहिर नआएको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै यतिबेला नेपालमा पनि संक्रमित जानकारीमा नआएको होकि भन्ने आशंका छ । तर, पछिल्लो समय विदेश तथा छिमेकी राष्ट्रहरुबाट नेपाल आउने छिमेकी तथा आफन्तहरुबाट आउने होकि भन्ने त्रास बढी छ । जोखिमबाट बच्न सरकारले सतर्कता अप्नाउँदै विभिन्न उडानहरु बन्द गरेको छ । त्यसैगरी सरकारले विभिन्न निर्णय गर्दै २५ जना वा सो भन्दा बढी सहभागि हुन नपाउने गरि निर्देशन दिएको छ । केही समयअघि प्रदेश सरकारले मेला–महोत्सवमा रोक लगाएको थियो । हिजो बुधबार साँझ मात्रै बिहीबारदेखि हुने माध्यमिक तहको परीक्षा (एसईई) स्थगित गरेपछि नेपालमा कोरोना संक्रमणको प्रबल सम्भावना देखिन्छ । यसर्थ सम्पूर्ण नेपालीहरु सुरक्षाको लागि निकै संवेदनशिल बन्नुपर्ने अवस्था आएको छ । सरकारले पनि कोरोनोको कहर ठहर गर्दै तुरुन्त हाइ अलर्ट अप्नाउन पर्दछ । केही समयको लागि सम्पूर्ण सिमा बन्द (लक्ड) आन्तरिक सुरक्षा र व्यवस्थापनमा विशेष जोड दिन आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।