ताजा अपडेट »

अग्नीपीडिलाई मन्त्री बिष्टको राहत

विहीबार, ०९ फागुन २०७५, १४ : ४१
12 Shares


फागुन ९,
गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आगोले ध्वस्त गुल्मी मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटका अग्नीपीडितलाई राहत हस्तान्तरण गरेका छन् । आगोले एउटै गाउँका ५७ घर र झण्डै पाँच दर्जन पशु चौपाया जलेर खरानी भएका थिए । १७ घरमा आंशिक क्षति पुगेको थियो । मन्त्री बिष्टले पूर्ण रुपमा घर क्षति भई पुन ः घर निर्माण गरेका प्रति परिवारलाई एक÷एक लाखका दरले राहत प्रदान गरेका हुन् ।


१८ वैशाख ०७३ मा जंगलको आगो एक्कासी बस्ती पसेपछि एक जनाको मृत्यु भएको थियो भने । अग्नी पीडितहरुको लागि मुसिकोट नगरपालिकाले प्रति परिवार एक÷एक लाख राहत दिने निर्णय अनुसार बुधबार ११ जना पीडित परिवारलाई राहत प्रदान गरिएको नगर प्रमुख सोमनाथ सापकोटले बताए ।

उनले यस अघि घर निर्माण गरेर सकिसकेका ३० घरले प्राप्त गरिसकेको बताए । वडागाउँ दजाकोटका अग्नीपीडितहरुलाई राहत प्रदान गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले दुई बर्षमा दजाकोटको पुर्ननिर्माण देखेर आफु अत्यन्तै खुसी भएको बताए ।


उनले गाउँ जलेको त्यो दिन आज कल्पना पनि गर्न नसकिने भन्दै पीडाकाबिच दजाकोटलाई अहिले अवस्थामा ल्याई पु¥याउने सवैलाई धन्यबाद दिए । ‘२०७३ सालमा घर र मन दुवै जले,’मन्त्री बिष्टले भने,‘ घर जले पनि मन पलाए,त्यसैले त्यो पीडा तस्विर मात्रै भएको छ ।’

उनले पुर्ननिर्माणसंगै दजाकोटलाई होमस्टेका रुपमा विकास गर्न सकिने भएकाले खानेपानीको समाधान गरि आयआर्जक कार्यक्रम अगाडी बढाउने बताए । अहिले गाउँमा तीन किसिमका भुकम्प रहित पक्की घर मात्रै छन् ।


भुकम्प प्रतिरोधी र अग्ला भएकाले भित्र बाहिर गर्दा ठोक्दिैन् । लिप्न नपर्ने भएकाले माटो नचाहिने र पारदर्शी हावादर भएकाले सफा रहेको स्थानीय गान बहादुर गाहाले बताए । जिल्ला प्राविधिक कार्यालय गुल्मीले एक तल्ले दुई कोठे, तीन कोठे र चार कोठे घर बनाउन स्विकृती प्रदान गरेको छ ।

आगोले ध्वस्त भएको दजाकोट गाउँका अधिकांश घरहरु निर्माण भएका छन् । ५७ पूर्ण र १७ आंशिक क्षति भएका थिए । वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिले दजाकोटका घरहरुको पुनर्निमाणका लागि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरेर काम थालेको थियो ।


अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्येमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखेर काम गरिएको स्थानीय तथा मुसिकोट नगरपालिकाको सामाजिक विकास समिति संयोजक हरि छन्तेलले बताए । ‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप तीन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार र ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाएको छन्तेलले बताए ।

आगोले ध्वस्त दजाकोटको ९५ प्रतिशत निर्माण भइसकेको छ । बाँकी केहि घर निर्माण भएपछि दजाकोटमा अग्नी स्मृति स्मारक निर्माण गरिने मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हरि छन्तेलले बताए । उनले सवैको साथ र सहयोगमा दजाकोटलाई छोटो समयमै पुरानो अवस्थामा फर्कान सकिएको भन्दै आउने बैशाख १८ गते स्मृति स्मारक निर्माण तथा सहयोग पुराउने सहयोगदातालाई सम्मान गर्ने योजना आफुहरुको रहेको बताए । पुर्ननिर्माणको लागि स्वदेश तथा बिदेशबाट झण्डै दुई करोड संकलन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।