ताजा अपडेट »

राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछः उपप्रधानमन्त्री सिंह

बुधबार, १४ जेठ २०८२, १८ : ५६
30 Shares
बुधबार, १४ जेठ २०८२
30 Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । 

बुधबार काठमाडौंमा गणतन्त्र दिवसको अवसर पारेर आयोजित ‘लोकतान्त्रिक आन्दोलन र तीर्थराम डंगोल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले राजतन्त्र पुनःस्थापनापक्षधरले गरिररहेको आन्दोलनतर्फ लक्षित गर्दै उनले राजतन्त्रबाट केही नहुने बताएका हुन ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कसैको दयामायाले नभई जनताको संघर्षबाट प्राप्त भएको बताए ।  ‘राजतन्त्र देखेकै हो । संवैधानिक राजतन्त्र पनि । मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने बाहेक केही पनि हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रमै जनताको हित हुन्छ । यसैलाई विकास गरे संस्थागत गरेर अगाडि जानुको अरु कुनै विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने ।

जनताले लामो संघर्षबाट प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्न नहुने भन्दै उनले अधिकारसँगै जिम्मेवारीप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । ‘तपाईं हाम्रो काँधमा आएको चुनौतिलाई सामना गर्दै  ०७२ सालमा जारी भएको संविधानलाई संस्थागत रुपमा अगाडि बढाएर राजनीतिक स्थिरताको आधारमा आम नेपाली जनताले चाहेको हरेकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने चाहना पूरा गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो गर्न सक्यौ भने तीर्थराम दाईसहित लोकतान्त्रिक आनदोलनमा योगदान गर्नेहरुप्रति उच्च सम्मान हुन्छ । त्यसका लागि राजनीतिक स्थिरताको जगमा आर्थीक समृद्धिमा अब ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले प्रजातन्त्र पुनःस्थापनापछि पूर्वाधारको विकासमा धेरै काम भएको दाबी गरे । ०४८ साल अगाडि काठमाडौंमै विकासको अवस्था कमजोर रहेको भन्दै कुनै योगदान नगरेका र सामाजिक सञ्जालबाट उदाएका पार्टीहरुले केही पनि भएन भनेर झुटको खेती गरिररहेको बताए । 

‘०४८ सालमा म काठमाडौं ४ बाट उठ्दा यहाँको हालत के थियो ? मानिसहरुले मुस्किलले जुत्ता लाउन पाउँथे । खानेपानीको सुविधा थिएन । बाटोघाटो थिएन । राजधानीको हालत त्यस्तो थियो,’ उनले भने,  ‘अहिले अवस्था धेरै फरक भएको छ । तर, पनि केही भएन, केही भएन भन्छन् । सिन्को नभाँचेका, केही योगदान नगरेकाहरु केही भएन भन्दै हामी गर्छौं भनेर आउँछन् । के यो सम्भव छ ? नेपाली कांग्रेसजस्तो एकपछि अर्को परीक्षा पास गरेको पार्टीलाई त जनताले प्रश्न गर्छ भने केही गर्दै नगरेको, सामाजिक सञ्जालको माध्यमबाट आएकाहरुले सही अर्थमा गर्न सक्छन् ?’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।