काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन ।
बुधबार काठमाडौंमा गणतन्त्र दिवसको अवसर पारेर आयोजित ‘लोकतान्त्रिक आन्दोलन र तीर्थराम डंगोल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुादै उहाँले अहिले राजतन्त्र पुनस्थापनापक्षधरले गरिररहेको आन्दोलनतर्फ लक्षित गर्दै उनले राजतन्त्रबाट केही नहुने बताएका हुन ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कसैको दयामायाले नभई जनताको संघर्षबाट प्राप्त भएको बताए । ‘राजतन्त्र देखेकै हो । संवैधानिक राजतन्त्र पनि । मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने बाहेक केही पनि हुादैन । संघीय लोकतान्त्रिक गणतन्त्रमै जनताको हित हुन्छ । यसैलाई विकास गरे संस्थागत गरेर अगाडी जानुको अरु कुनै विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने ।
जनताले लामो संघर्षबाट प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्न नहुने भन्दै उनले अधिकारसँगै जिम्मेवारीप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । ‘तपाईं हाम्रो काँधमा आएको चुनौतिलाई सामना गर्दै ०७२ सालमा जारी भएको संविधानलाई संस्थागत रुपमा अगाडी बढाएर राजनीतिक स्थिरताको आधारमा आम नेपाली जनताले चाहेको हरेकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने चाहना पूरा गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो गर्न सक्यौ भने तीर्थराम दाईसहित लोकतान्त्रिक आनदोलनमा योगदान गर्नेहरुप्रति उच्च सम्मान हुन्छ । त्यसका लागि राजनीतिक स्थिरताको जगमा आर्थीक समृद्धिमा अब ध्यान दिनुपर्छ ।’
नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहनुभएका सिंहले प्रजातन्त्र पुनस्थापनापछि पूर्वाधारको विकासमा धेरै काम भएको दाबी गरे । ०४८ साल अगाडी काठमाडौंमै विकासको अवस्था कमजोर रहेको भन्दै कुनै योगदान नगरेका र सामाजिक सञ्जालबाट उदाएका पार्टीहरुले केही पनि भएन भनेर झुटको खेती गरिररहेको बताए ।
‘०४८ सालमा म काठमाडौं ४ बाट उठ्दा यहाँको हालत के थियो ? मानिसहरुले मुस्किलले जुत्ता लाउन पाउँथे । खानेपानीको सुविधा थिएन । बाटोघाटो थिएन । राजधानीको हलत त्यस्तो थियो,’ उनले भने, ‘अहिले अवस्था धेरै फरक भएको छ । तर, पनि केही भएन, केही भएन भन्छन् । सिन्को नभाँचेका, केही योगदान नगरेकाहरु केही भएन भन्दै हामी गछौं भनेर आउँछन् । के यो सम्भव छ ? नेपाली कांग्रेसजस्तो एकपछि अर्को परिक्षा पास गरेको पार्टीलाई त जनताले प्रश्न गर्छ भने केही गर्दै नगरेको, सामाजिक सञ्जालको माध्यमबाट आएकाहरुले सही अर्थमा गर्न सक्छन् ?’
प्रतिक्रिया