बुृटवल । वैशाख ३० गते मंगलबार जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङको नामबाट सार्वजनिक भएको राजीनामा पत्रको आधिकारिकतामै प्रदेश सभाले शंका गरेको छ ।
उनको नामबाट सभामुख तुलाराम घर्ती मगरलाई सम्बोधन गर्दै लेखिएको राजीनामापत्र उनकै श्रीमान कैलाश गुरुङले प्रदेश सभामा दिनुअगावै पत्रकार र सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
गीता हाल बेलायत भएको र उनकै नामबाट हस्तलिखित निवेदन आएको भन्दै कैलाशले सबै पत्रकारलाई बाँडेका हुन् । समाचार आएको भोलिपल्ट गीताको नामबाट दाङ देउखुरीस्थित प्रदेश सभामा इमेल पठाइएको थियो ।
तर, प्रदेशसभामा यसअघि गीताले उपलब्ध गराएको इमेल ठेगाना र अहिले राजीनामा पठाएको इमेल ठेगाना नमिलेको, हस्ताक्षरसमेत फरक रहेको र पत्रको व्यहोरा पनि नमिलेको भन्दै प्रदेशसभाले शंका गरेको हो ।
प्रदेशसभा सचिवालयले पत्रको आधिकारिकतामा प्रश्न उठाउँदै गीता स्वयम् सशरीर उपस्थित नभएसम्म अघि नबढाउने जनाएको छ ।
प्रतिक्रिया