बुटवल । १८ औँ मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नं ११ ले चुमेको छ । आईतबार भएको फाईनलमा वडा नं १२ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजेता बनेको हो ।
उपाधिसँगै वडा नं ११ नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता वडा नं १२ नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा वडा नं ११ का मिलन आले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ७ हजार ७ सय ७७ रुपैयाँ, कपबाट पुरस्कृत भए । यसैगरि वडा नं ११ कै समुन्द्र ज्ञवाली उत्कृष्ट स्ट्राईकर, अनुप थापा उत्कृष्ट गोलकिपर, दर्शन विक सर्वाधिक गोलकर्ता घोषित भए । वडा नं १२ का सागर जिसि राईजिङ प्लेयर, वडा नं १० अनुसासित टिमबाट पुरस्कृत भए ।
सिद्देश्वर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको ९ औ मिनेटमा दर्शन विकले गोल गर्दै वडा नं. ११ लाई अग्रता दिलाए । १३ औँ मिनेटमा उनले पुनः दोस्रो गोल थपे । ३८ औँ मिनेटमा वडा नं १२ का भुवन फौजा मगरले सान्त्वना गोल गरे । खेलमा वडा नं ११ का अनिल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही ईन्चार्ज लिला गिरि, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य केशव रोक्का, स्थाई कमिटि सदस्य बुद्धिराज थापा, नेकपा एमालेका जिल्ला सदस्य ऋषिराम पाण्डे, नगर खेलकुद विकास समिति बुटवलका सदस्य सन्जिव सिह, राष्ट्रिय युवा संघ नेपाल बुटवल नगर कमिटि अध्यक्ष गणेश बोहरा, संयोजक राजेन्द्र थापाले पुरस्कार वितरण गरे ।
कार्यक्रममा नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही ईन्चार्ज लिला गिरिले युवाहरु परिवर्तनका संवाहक भएको भन्दै खेलकुदमा आवद्ध गरि महत्वपूर्ण काम गर्न सफल भएको बताए । आगामी दिनहरुमा खेल गतिविधिमा सरकारको लगानी बढाउन समेत सुझाव दिए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।
प्रतिक्रिया