ताजा अपडेट »

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुदै

मंगलबार, २३ बैशाख २०८२, ०८ : १४
20 Shares
मंगलबार, २३ बैशाख २०८२
20 Shares

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि साेमबार प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरे । साेमबार बसेकाे बैठकमा सरकारको नीति तथा कार्यक्रम व्यवहारिक, जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन गरे भने प्रतिपक्ष सांसदहरूले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका छन् ।

बैठकको छलफलमा भाग लिएका नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रमलाई समर्थन जनाए । उनले पर्याप्त स्रोतसाधन र राजनीतिक अस्थिरताका कारण कार्यन्वयन चुनौती देखिँदै आएकाले यसमा सचेत रहनुपर्नेमा जोड दिए । थापाले नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिने सबै प्रकारका चुनौतीको सामना गर्न राजनीतिक दलहरू एकठाउँमा उभिन आह्वान गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमृतलाल राजवंशीले नीति तथा कार्यक्रम व्यवहारिक र जनमुखी रहेको भन्दै समर्थन जनाए । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा रूपान्तरण गर्नु सुखद् भएको बताए ।

यस्तै, नेकपा (एमाले)का सांसद अमृतादेवी अग्रहरीले देशको आवश्यकता समेटेर नीति तथा कार्यक्रम आएको भन्दै प्रशंसा गरे । एमाले सांसद वासुदेव घिमिरेले उचित समयमै नीति तथा कार्यक्रम र बजेटबीचको तालमेल सुनिश्चित गर्न पूर्वयोजना र अनुगमन प्रणालीलाई बलियो बनाउनपर्ने सुझाव दिए ।

उनले खाद्य वस्तुको आयातमा निर्भरता घटाउन बीउ उत्पादन प्रवर्द्धन, गुणस्तरीय मल वितरण र सिँचाइ सुविधा विस्तार, आधुनिक कृषि उपकरणमा अनुदान, सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमले कृषि क्षेत्रमा उल्लेखय योगदान हुने विश्वास व्यक्त गरे ।

नेकपा सांसद अम्बरबहादुर रायमाझीले मुलुकको अर्थतन्त्रमा रहेकोे शिथिलता अन्त्य गर्दै विश्वासिलो, भरपर्दो र व्यावसायिक वातावरण तयार पारी वर्तमान आर्थिक गतिविधिलाई चलायमान बनाउने नीति तथा कार्यक्रमको उद्देश्य रहेको बताए । उनले उद्यमशीलताको माध्यमबाट रोजगारी र आय आर्जनको अवसर सिर्जना गर्ने, आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य राम्रो रहेको धारणा राखे ।

एमाले सांसद किरणकुमार साहले देशभरमा अलपत्र र रुग्ण अवस्थामा रहेका पुलको निर्माण सम्पन्न गराउन ध्यानार्कषण गराए । उनले नीति तथा कार्यक्रममा समावेशी र दूरदर्शी रहेको भन्दै समर्थन जनाए ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नीति तथा कार्यक्रमले नयाँ मार्गदर्शन दिन नसकेको बताए । नीति तथा कार्यक्रम आर्कषक सुनिए पनि कार्यान्वयन पक्ष कमजोर र अपारदर्शी रहँदै आएको उनको भनाइ थियो । नेपालीले आमजनताको जीवनमा परिवर्तन ल्याउने अपेक्षा पूरा गर्न नसकेको र अघिल्ला वर्षहरूको नक्कल मात्र गरिएको टिप्पणी गरे ।

प्रतिनिधिसभाको बैठक आज मङ्गलबार बिहान ११ बस्दै छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरूले बोल्ने क्रम आगामी बैठकमा समेत जारी रहनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।