ताजा अपडेट »

रुपन्देहीमा स्थानीय सरकारको टाउको दुःखाई बन्दै तीन पाङ्ग्रे सवारी साधन

विहीबार, २२ फागुन २०८१, १४ : १४
754 Shares
विहीबार, २२ फागुन २०८१
754 Shares

बुटवल । रुपन्देहीको स्थानीय सरकारलाई तीन पाङग्रे सवारी साधन व्यवस्थापन टाउको दुखाईको विषय बनेको छ । विशेष गरी सहरी क्षेत्रमा तीन पाङ्ग्रे सवारीको बढ्दो चापले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि स्थानीय सरकारलाई टाउको दुखाइको विषय बनेको हो । 

रुपन्देहीका प्रमु सहरी क्षेत्रहरू रहेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका तथा सैनामैना नगरपालिका लगाएतका  क्षेत्रहरूमा समेत तीन पाङ्ग्रे सवारीका साधन व्यवस्थापनको चुनौती थपिँदै गएको छ । कार्यविधि निर्माण गरी ई–रिक्सा तथा तीन पाङ्ग्रे सवारीका साधन व्यवस्थापनमा केही समय आक्रामक रूपमा लागेको बुटवल उपमहानगर पछिल्लो समय भने सेलाउँदै गएको छ । जसका कारण बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्राय अस्तव्यस्त नै देखिने गरेका छन् । 

यसैबिच सिद्धार्थनगर नगरपालिकाले भैरहवा क्षेत्रमा तीन पाङ्ग्रे सवारीका साधन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएको छ । नगरपालिकाले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रशासकीय प्रमुख जनक थापा अटो, ट्याम्पो र ई–रिक्सा जस्ता तीन पांग्रे सवारीको व्यवस्थापन जटिल बन्दै गएको उल्लेख गरे । सिद्धार्थनगर नगरपालिका र नगरपालिका मातहतमा रहेका नगर प्रहरी परिचालन गरेर वा जनप्रतिनिधि कर्मचारी परिचालन गरेर तीनपांग्रे सवारीसाधनको व्यवस्थापन हुन नसक्ने उनले बताए ।

‘नगरपालिकामा तीनपांग्रे सवारी साधनको व्यवस्थापन गर्न नगरपालिकाले धेरै पहलहरू पनि गरेको थियो । तर ई–रिक्सा चालकहरूले नगरपालिकाको निर्णय, पहल, व्यवस्थापनका नियमहरू प्रति आपत्ति जनाउँदै धेरै अवरोधहरू गर्दै आइरहेको छ ।’– थापाले भने । 

अटो, ट्याम्पो र ई–रिक्सा जस्ता तीनपांग्रे सवारीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आवश्यक परेको खण्डमा सशस्त्र प्रहरी कार्यालय र ट्राफिक प्रहरी सहित नगरवासी मिलेर मात्र यसको व्यवस्थापन गर्न सकिने उनले बताए ।

यसै गरी, तीनपांग्रे सवारीसाधनहरूको व्यवस्थापनका सबै कुराहरूलाई मध्यनजर गर्दै नगरपालिकाले समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको संयोजनमा कार्यविधि संशोधन गरी दर्ता थप गरी ४७३ वटा ई–रिक्साहरू दर्ता भएको नगरपालिकाले जनाएको छ । सो नियमन तथा अनुगमनलाई प्रभावकारी रूपमा लैजान छिमेकी पालिकाहरूसँगको समन्वयात्मक बैठकबाट छिमेकी पालिकाहरूले २०८१ माघ २० सम्म कानुन निर्माण गर्ने र २०८१ फागुन २० भित्र दर्ता प्रक्रिया सम्पन्न गरी २०८१ फागुन २१ बाट नगरभित्र दर्ता नभएका तीन पाङ्ग्रे सवारीसाधनहरू सिद्धार्थनगरभित्र प्रवेश निषेध गर्ने निर्णय भई कार्यान्वयनको चरणमा प्रवेश गरेकोले थप सरलता भई तीनपांग्रे सवारीसाधनहरूको नियमन तथा अनुगमन गरिने नगर प्रमुख खाँले बताए ।

यसै गरी जिल्लाको तिलोत्तमा नगरपालिकामा पनि तीन पाङ्ग्रे सवारीको सङ्ख्या बढ्दो छ भने समयमै उचि नीति निर्माण नगरे सैनामैना तथा देवदहमा पनि भविष्यमा यसको व्यवस्थापन चुनौतीपूर्ण हुने देखिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।