ताजा अपडेट »

लुम्बिनी वाणिज्य क्याम्पसले चौथौं अन्तर्राष्ट्रिय कन्फ्रेन्स गर्दै

बुधबार, २८ कार्तिक २०८१, ०७ : ४४
174 Shares
बुधबार, २८ कार्तिक २०८१
174 Shares

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गर्ने भएको छ । क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरी आगामी मंसिर १४ र १५ गते दुईदिन इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म-०४) आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने कन्फ्रेन्सको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने क्याम्पस प्रमुख प्राध्यापक डा। ताराप्रसाद उपाध्यायले बताए । प्राध्यापकहरुले उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न ज्ञान र सीपलाई वृत्ति विकाससँग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन यस्ता अन्तर्राष्ट्रियस्तरका कन्फ्रेन्सहरु महत्वपूर्ण हुने उनले बताए ।

कन्फ्रेन्समा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसियालगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ताहरु तथा सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरुले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने छन् । लुम्बिनी वाणिज्य क्याम्पसले सञ्चालन गर्दै आएको यो चौथो कन्फ्रेन्स हो । यस अगाडि तीनपटक सम्पन्न गरिसकेको छ । 

नेपालको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा। डिल्लीराज शर्मासहित भारत, चिन, मलेसिया, थाइल्याण्डका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई प्रमुख वक्ताको रुपमा राखिएको सहप्राध्यापक तथा कार्यक्रम संयोजक  पिताम्बर सापकोटाले जानकारी दिए । त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ताहरु समेत गरी १२० जनाभन्दा बढी अनुसन्धानकर्ताहरुले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्स सम्पन्न गर्न ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।