ताजा अपडेट »

लाखौँ सहभागी हुने मधानी महायज्ञलक्षित मौलापुरमा सरसफाइ अभियान सुरू

आइतबार, ०६ फागुन २०८०, ११ : ४०
42 Shares

 

सञ्जय मिश्रा 
रौतहट ६ फागुन । मधानी महायज्ञलक्षित गर्दै रौतहटको मौलापुर नगरपालिकाअन्तर्गत सरसफाइ अभियान सुरु भएको छ । मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञलक्षित गर्दै सरसफाइ अभियान सुरु भएको हो।मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउने भएकाले सरसफाइ अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासीलाई आग्रह गरेकी छन् ।

 

‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवेदेखि ठूलो सानो सबै भित्री सडकसमेत सरसफाइ गर्ने अभियान शनिबारदेखि सुरु भएको छ । पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाइ अभियान लगातार एक महिना चल्नेछ,’ मेयर साहले जानकारी दिएकी छन् । सरसफाइ अभियानमा सबैलाई साथ र सहयोग गर्न उनको आग्रह छ । सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि, पछाडि, बाटोमा रहेको फोहर,  पराल, गाई गोरु भैंसीलाई खुवाउन राखिएको नादका साथै छेउछुमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

 

पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ । पहिलो वर्ष तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उद्घाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको विशेष पूजा मधानी महायज्ञ हुने गर्दछ । 

 

उक्त अवसरमा हजारौं भक्तजनहरू महादेव स्थानमा जल चढाउने गर्दछन् । परापूर्वकालदेखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको थियो । तर, मौलापुरमा सप्ताहव्यापी रुपमा मधानी महायज्ञ हुन थालेपछि अहिले अन्तर्राष्ट्रियकरण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

 

मौलापुरमा हुने सप्ताहव्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि विशेष महत्व दिने गरिन्छ । उक्त अवसरमा भारतीय सिने जगतका सुपर स्टारसँगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुति दिने गर्दछन्। साथै सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुलाई पनि आ–आफ्नो प्रस्तुतिका लागि अवसर दिइने गरिन्छ । झण्डै एकसातासम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसँगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने गर्दछन् । मौलापुरसँगै आसपासका पालिकाअन्तर्गतको प्रायः सबै घरमा पाहुनाहरु आउने गर्दछन्।


गतवर्ष भएको मधानी महायज्ञको अवसरमा ६ लाख भन्दा बढी मानिस अवलोकन गरेको मौलापुर नगरपालिकाले आंकलन गरेको थियो।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।