ताजा अपडेट »

लुम्बिनीमा थपिए दुई मन्त्री, आइतबार सपथग्रहण

शनिबार, ०७ पुस २०८०, २१ : ३०
82 Shares
शनिबार, ०७ पुस २०८०
82 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री  डिल्लीबहादुर चौधरीले मन्त्रालय बिस्तार गरेका छन् । कांग्रेसबाट सराेज थापा (राेज राणा) र माओवादीबाट कृष्णा केसी नमुनालाई थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो ।

कांग्रेसबाट प्युठानका सांसद सरोज थापा  र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेर सरकारबाट पत्र आएकाे र आइतबार शपथ हुने प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । सरकारका प्रवक्ता सन्ताेष पाण्डेका अनुसार मुख्यमन्त्री चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार बिहान शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेयले बताए ।

केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । थापालाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिबार थापाको नामअघि सारेका हुन् । थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । कांग्रेसमा संस्थापन इतर पक्षले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाब दिएपछि शुक्रबारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निर्णय गरिएको हो । माओवादीले यसअघिको सहमतिअनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णयसहित सिफारिस गरेको थियो । तर, कांग्रेस सभापति पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसमा इतर समूहले प्रदेशमा सहभागिता नभए विद्राेह गर्ने धम्की शुक्रबार नै दिइसकेको छ । कांग्रेसबाट २७ सदस्य रहेकाे प्रदेशमा आफ्नो समूहका ९ जना रहेकाे इतर समूहको दावी छ । तर इतर समूहबाट पनि शेखर समूहले वीरबहादुर राना र गगन समूहले विश्वप्रेम पाठकलाई मन्त्रीकाे दवाव दिएकाले मुख्यमन्त्रीले राेजलाई अगाडि सार्न सहज भएकाे हाे  । राेजलाई मन्त्री बनाउन सभापति शेरबहादुर देउवाले एकल प्रस्ताव गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।