ताजा अपडेट »

सेलरोटी पकाउँदा

शुक्रबार, १५ मंसिर २०८०, ०९ : ४०
30 Shares
शुक्रबार, १५ मंसिर २०८०
30 Shares

गत विहिवारको दिन थियो । सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाको अफिसमा काम गर्दै थिएँ । विष्णु जीसीको फोन आयो-सर, लैङ्गिक हिंसा विरुद्धको सन्दर्भमा महिलाहरुलाई तालिमको सहजीकरण गरिदिनु पर्यो । माथागढी गाउँपालिका, पाल्पामा कार्यक्रम हुने भएको छ । समय के कसो छ ?

तालिमको नाम र विषयवस्तुहरुका बारेमा सोधें । उनले तालिमको नाम र विषयवस्तुहरु आफै तयार पारेर छिट्टै निधो दिनुपर्यो भनिन् । मैले केहीबेर गमें । यो विषयका बारेमा जानेका केही साथीहरुसँग सोधपूछ गरें । मनमा केही कुराहरु खेलाएँ । शुक्रवार कार्यक्रमको सेड्यूल र सहजकर्ताको नाम तयार गरेर विष्णुको मेलमा पठाई दिएँ ।

तालिम, मंसिर १० र ११ गते माथागढी गाउँपालिकाको भवन झडेवामा गर्ने निधो भयो । यता बुटवलबाट बेनप्रसाद थापा र म जाने भइयो । विहान ८ वजे हिडियो । दोभान, झुम्साको धूलोको कारण म बसमा गएर सिसुवामा झरें । बेनु भने सिद्धबाबामा नास्ता खाएर सिसुवा आइपुग्दा नौ बज्नै लागेको थियो । हामी भटभटेमा भिड्कियौं । नयाँपाटीको स्वागत गेटबाट सारदा स्कूल हुँदै दमकडा पुग्यौं । तानसेन नगरपालिकाको वडा नं. ८ को कार्यालय पनि देखियो । दमकडा मावि, बाटोभन्दा थोरै माथि देखिन्थ्यो ।

हामी भटभटेमा टुइँकियौं । माडीफाँटनिर माथागढी गाउँपालिकाको स्वागत भेटले हामीलाई नमस्ते गरिरहेको थियो । शान्दार स्वागत गेट देखेर मख्ख परियो । सराइफाँट, दिव्यज्योति मावि, सराई बजार कटेर खहरेतिर खुइँकियौं । रुप्सेतिर भटभटे भुत्भुताइ रहेको थियो उकालोको कारण । अलिमाथि पट्टि बाटोको छेउमा सिमेन्टको थुम्कोमा लेखिएको थियो–झडेवा १६ किलोमीटर ।

अझ् माथिपट्टि पुगेपछि बाटो साँधुरिदै गयो । बाटोमा शित परेर चिप्लो थियो । झन् माथि पुगेपछि मुटु काप्ने जाडो । विष्णु जीसीले भनेको सम्झिएँ –सर यता जाडो छ बाक्लो लुगा लगाएर आउनुहोला । नभन्दै गुराँस फुल्ने ठाउँ रहेछ । बोर्डमा फोटो क्लिक्क पार्दै जाडोका कारण भित्तो चाँपेर तिरित्त पिसाव पनि फेरियो ।

देउगिर आउनु अघि बगाले गाउँ पुगियो । त्यहि भेटेका थियौं हामीले भक्तबहादुर बिकलाई । उनीहरुको गाउँ रहेछ त्यो । उनीहरुकै जाति रहेछन् धेरै । बाटोसँगै जोडिएको सुन्दर गाउँलाई देखेर हामीले फोटो झिलिक्कै पारियो । अनि अलि अघि पुगेपछि देउगिर पुगियो । नाम सुनेको तर नदेखेको र नपुगेको गाउँ थियो त्यो मेरा लागि । हाम्रा बुद्ध बस्नेत दाइको ससुराली त्यतै पर्छजस्तो लाग्छ । राजेन्द्र जीसीको घर त्यतै हो ।

त्यहाँ देउगिर बजार देखियो । चिटिक्क परेको, सानो बजार अनि नजिकै रत्न माविको प्रवेशद्वार । त्यहाँबाट पूर्वदक्षिणतिर सानो बोर्डमा संकेत चिन्हमा देखाइएको थियो माथितिर गए देवीनगर, जल्पा तर तलतिर गएमा झडेवा ६ किलोमीटर । अनि कच्ची र धूले बाटोको यात्रा सुरु भयो । त्यहीनेरबाट विष्णु जीसीलाई फोन मारें, हामी आउँदै गरेका सूचनासहित ।

गाउँपालिकाको सेतो नम्बर प्लेटको स्कारपियो उकालियो हामी ओरालिँदा । उसले निःशुल्क पाउडर हामीलाई उपहार दिएर सुइँकियो । माथागढी गाउँपालिकाको भवन पुग्दा घडीमा ठ्याक्कै सवा ११ बजेको थियो । हामीलाई ११ वजेको टाइम तोकिएको थियो । पालिका अघिको गोलघरमा झोला बिसाएर टुसुक्क बस्न नपाउँदै विष्णुको उर्दी थियो –खाना, खानुस् छिटोछिटो । दालभात, तरकारी गाउँपालिकाको क्यान्टिनमा स्यामै पारियो । मैले सुगरको ओखती निलें । गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेको कार्यकक्षमा जाँदा गोठादीका जल्दाबल्दा नेता अर्जुन रेग्मीसँग भेटियो ।

हुन त मंसिर नौ गते शनिवार परेको कारण मंसिर १० गते लैङगिक हिंसा विरुद्धको दिवस मनाउन दिदीबहिनी र दाजुभाइहरुले हातमा प्लेकार्ड र ब्यानर समाउने तयारी गर्दै थिए । हामी भने अर्जुनको मोटरमा झडेवाको पुरानो स्कूल किसान माविमा पुगियो । जहाँ मीना दिदीले पढाएकी थिइन् । उनकी छोरी डा.निलम कार्की, निहारिकाले त्यही पढेकी थिइन् । मीना दिदीका बारेमा उनका शिष्यहरुले लेखेको र छापिएको सम्झनायुक्त पुस्तक हातमा समाउँदै विद्यालयलाई इन्सेटमा राखेर एउटा सुन्दर फोटो बेनुले खिचि दिए । विनोद नेपालसँग भेट भयो । उनले ससुरालीदेखि सुस्तासम्म पुस्तक लेखेका छन् । उनी पनि सोही विद्यालयका पूर्वविद्यार्थी रहेछन् ।

कार्यक्रमस्थलतिर लागियो । दिदीबहिनी र दाजुभाइहरुले नाराजुलुसहित औपचारिक कार्यक्रम सुरु गरे । त्यसो गर्दा दिउँसोको २ बज्नै लागेको थियो । छोटो तर मिठो औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिकाकी उपाध्यक्ष विष्णुमायाले आफ्ना कुराहरु राखिन् । लैङगिक हिंसा विरुद्धको अभियानमा सबै लागौं । माथागढी गाउँपालिकालाई हिंसामुक्त गाउँपालिका बनाऔं भनिन् ।

दुई दिनसम्म मैले, बेनु र रीमा सोमैले विविध विषयमा सहजीकरण गरेका थियौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ऐतिहासिकता, नेपालमा यसको सुरुआत्, किन हुन्छ लैङ्गिक हिंसा, यसका कारण, अवस्था र कानूनी उपचारका विधिहरु, महिलाहरुलाई आर्थिक समृद्धिका लागि उद्यमशीलता, सञ्चारमा महिला, सशक्तिकरणका लागि कसरी सक्षमता बढाउने भन्ने कुराका साथै नेतृत्व विकासका आधार र आयामहरुका बारेमा ब्यापक छलफल गरियो । करिव ४५ जना महिलाका बीचमा दुईदिनसम्म हामीहरुले आआफ्ना कुरामात्र राखेनौं उनीहरुका कुराहरु समेत लियौं । छलफल गर्यौ ।

छुट्टिने दिनमा समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट टोपला पाण्डेले बोलिन् । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य माननीय सांसद खेमबहादुर सारुले स्थानीय महिलाहरुमा हिंसाका कारण धेरै समस्याहरु आइरहेको छ । त्यसका लागि तालिमबाट सिकेको कुराकामाध्यमबाट हिंसा न्यूनीकरणका लागि पहल गर्नुपर्ने बताए । गाउँपालिका अध्यक्ष यमबहादुर चिदीलेले महिला हिंसा हटाउन महिलाहरु नै लाग्नुपर्ने बताए । उनीहरुलाई हिंसा बिरुद्धको अभियानमा आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ढाका टोपीले हामीलाई विदा गरेका थिए ।

हिंसा विरुद्धको सिम्बोलिक चित्र अघिल्लो दिनै कलाकार तथा कार्यक्रमका सहजकर्ता बेनुले उपाध्यक्ष विष्णुमायालाई दिएका थिए । पहिलो रात हामीहरु विष्णु जीसीकहाँ पाहुना बन्न गएका थियौं । उनका श्रीमानीसँग राम्रो चिनजान भयो । मङ्ग बसाउने भातसँग दूध, मोही, फूलगोपीको तरकारी र मस्यौराको तात्तातो झोल खाएपछि कठाङ्ग्रिएको जिउ पनि तङ्ग्रियो ।

हामीले विदा मागेर माथागढीको झडेवाबाट खैरेनी झर्ने निधो गरियो । त्यतिबेला ४ः४० बजेको थियो साँझको । बाटोमा गोठादी खोलाको पुल नजिकै फोटो खिचेर दौडियौं । साविकको गोठादी हुँदै गिद्देभीरको बाटोलाई नछाडी तर देवदहको खैरेनी झरियो । गिद्देभीरको बाटो, झण्डै ज्यान गएन । भिरालो, उसैमा ग्राबेल बाटो, टिप्परको भीड उस्तै । अँध्यारो साँझ । तरपनि बेनु डराएनन् म पछिल्लो यात्रीको मुटु थातमा थिएन ।

खैरेनीमा गोठादीका सन्तोष भट्टराई र टेकबहादुर दाइसँग चिया खाइयो । घरमा आउँदा रातको आठ बजेको थियो । बुटवलबाट छुटेका हामी, बुटवल आउँदा एउटा सेलरोटी ठ्याक्कै पकाइयो । तिहार सकिएको धेरै भएको छैन । पिठोको हैन । बाटोको सेलरोटी पकाएका थियौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।