ताजा अपडेट »

चर्चा : पुष्प ब्यवसाय र सडकमा फालिएका फूलमाला

शुक्रबार, ०१ मंसिर २०८०, १४ : ४९
22 Shares

नेपालीहरुको महान चाड दशैं तिहार सकिएको छ । उज्यालो पर्व तिहार अर्थात भाईटीका फूलमालाको प्रयोग धेरै हुने पर्व पनि हो । दशैंपछि केही सुनसान रहेको बजारमा तिहारकै कारण चहल पहल बढ्छ भने सप्तरंङ्गी टिका, मरमसला, फलफूल, फूल, ढाका टोपी लगाएत तिहारका सामग्रीहरुको ब्यापार बढ्छ ।

यो दिदि भाईको चाड हो भने अर्कोतिर झिलिमिली तथा फूलहरुको पनि चाड हो । तिहारमा लगाईने माला, फूल मखमली, हजारी आदि प्रयाप्त प्रयोग हुन्छ । गाउँ सहरमा फूल फूलेपछि त यसलेगर्दा झन् तिहार नजिकिएको आभास दाजु भाई तथा दिदि बहिनीलाई हुन्छ । पछिल्लो समय तिहार र अन्य मेला महोत्सव, पूजाआजालाई लक्षित गरेर पुष्पब्यवसाय अर्थात फूल खेतीतिर किसानको आकर्षण बढ्दो छ ।

तरपनि यो पटक तिहारमा पुष्प ब्यवसाशी आशागरे अनुसार फूलमाला बिक्री हुन नसक्दा निराश भए । विगतका वर्षमा दुई सय रुपैयाँमा बिक्री भएको माला कतिपय ठाउँमा एकसय रुपैयामा बिक्री भयो भने अन्तिम दिन त पाँच दश रुपैयाँमै पनि माला बिक्री गर्ने अवस्था सिर्जना भयो । बुटवल, काठमाडौं, बिरगञ्ज लगायतका बजारमा फूलमाला सडकमै फालेर बिरोध जनाउँदै आक्रोस पनि पोखेको पाईयो । तर यो प्रवृत्ति समस्याको समाधान भने होईन ।

एक त धेरै किसान फूलखेतीमा लाग्नु, सरकारको पुष्प किसान मैत्री वातावरण नहुनुले यो अवस्था सृजना भएको हो । तिहारको अवसरमा बुटवल, भैरहवा, काठमाडौं, पोखरा, नेपालगञ्ज, बिरगन्ज, बिराटनगर जस्ता ठूला सहरमा यसको कारोवार अलि बढी नै हुने गर्दछ । तरकारी तथा फलफूल थोक बजार केन्द्रमा फलफूल तथा तरकारीको अलावा फूलमालाको ब्यापारपनि राम्रो हुने गर्दछ । त्यही कारणले पनि किसानले तिहार लक्षित फूलखेती गर्नु स्वभाविक हो ।

पुष्प ब्यवसायमा आशा

पछिल्लो समय बिभिन्न जिल्लाका किसानहरु फुलखेतीमा लागेर राम्रो आम्दानी लिन थालेका छन् । दशै, तिहार, विबाह, महोत्सव, पूजाआजामा फूलको राम्रो खपत हुने भएकाले किसान, विदेशबाट फर्किएका युवा, महिला समूहहरु ब्यावसायिक रुपमानै फूलखेती तिर आकर्षित भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका डिङगरनगरमा १० जनाको समुह मिलेर क्षितीज नमुना कृषक समुहले गएको ५ वर्षदेखि ब्यावसायिक रुपमा फूलखेती गरेर राम्रो आम्दानी गरेको छ । यो वर्षको तिहारमा फूलमाला राम्रो बीक्री गरे । रुपन्देहीको गुप्ता नर्सरीले त पाल्पामा जग्गा भाडामा लिएरनै धेरै वर्ष अगाडिदेखि फूल खेतिगर्दै आएको छ । दाङमा पनि किसानहरु पालिकाको सहयोगमा फूलखेती गरेर राम्रो आम्दानी लिएका छन् ।

यो पटक गुल्मी धुर्कौट वाग्ला, तेस्राबाटाका धनराज पौडेलले सुन्तला बगैचामा लगाएको फूलखेतीले धेरै चर्चा पायो । आफूले पनि यो बगैंचा अवलोकन गर्ने अवसर पाएँ । बुटवल रारा कृषि सहकारीका सदस्य समेत रहेका पौडेल परिवारलाई जिल्लामै पहिलोपट ब्यावसायिक रुपमा फूलखेती गरेको भनेर संस्थाको अध्यक्ष भिमकान्त पन्थी नेतृत्वको टिमले फूल बगैंचामै पुगेर हौसला स्वरुप सम्मान समेत गर्यो । करिव २० रोपनी जग्गामा फूलखेती गरेका उनले १० लाख बढी कमाउने आशा गरेपनि बजारले खासै साथ दिएन । तरपनि उनको हिम्मत, जोश र जागरलाई कृषि ज्ञान केन्द्र तथा सरोकारवाला निकायले सहयोग गरेर हौसला बढाउन जरुरी छ ।

हुन त पुष्प ब्यावसायमा लागेका किसानहरु फूल खेतिमा बीउ र प्रविधीले उत्पादनमा असर पारेको बताउँछन् । कति किसानले कति फूल उत्पादन गर्छन भने एकिन तथ्याङ्क नभएपनि तराईका केहि किसानहरु धानबाट भन्दा फूलबाट मनग्य आम्दानि हुन थालेपछि जग्गा भाडामा लिएर निरन्तर फूल नै लगाउन थालेका पनि छन् । पहाड तिर बारी, भिर पाखाका बगैँचामा फूलेको फूलले छुट्टै रौनक बढाएको हुन्छ । तरपनि ब्यावसायीक रुपमा फूलखेती गर्दा केही ध्यानदिन आवश्यक हुन्छ नै ।

सय पत्री फूललाई बाह्रै महिना फूलाउन सकिने भएकोले सिजन सिजनमा यसलाई रोप्ने गरिएको छ । बिउ रोपेको दुई, तीन मैनामा यसले उत्पादन दिन सूरु गर्ने पुष्प ब्यवसायी बताउँछन् । अझै पनि नेपालको फूलमाला राम्रो हुन्छ । अर्गानिक फूलका माला पाइन्छ भन्ने धेरैलाई थाहा हुन सकेको छैन । कतिपय पालिकाहरुले महिला समुहले उत्पादन गरेको सयपत्री फूललाई बजारीकरणमा सहयोग गरेको पनि पाईन्छ । जसका कारण फूल खेतिबाट किसानले राम्रो आम्दानि प्राप्त गर्न सफलभई उन्नती प्रगति गरेका र धेरैले यही ब्यवसायमा रोजगारी समेत पाएका छन् ।

तथ्याङ्कको अभाव भारतीय बजारको प्रभाव

नेपाली किसानमा व्यावसायिक फूल खेतीमा आर्कषण बढेसँगै केही वर्षयता भारतबाट आयातमा पनि कमी आएको व्यावसायीहरु बताउँछन् । बजार माग राम्रो भएकोले आगामी वर्ष जमिन बढाएर फूल खेती गर्ने कतिपय पुष्प ब्यावसायीको भनाई छ । कतिपय ब्यवसायी निकै घाटा भएकोले आगामी वर्ष के गर्ने होला भन्ने चिन्तामा पनि छन् ।

रुपन्देहीको तिलोत्तमा नपरपालिकाले पुष्प ब्यावसायीहरुलाई तालिम, मलखाद र फूलबारी जोत्नका लागि ट्याक्टर सहयोग गरेकाले यस क्षेत्रका किसानहरु पुष्प व्यवसाय तिर आकर्षित भएका हुन । कतिपय जिल्लामा किसान आफ्नै जोडबलले पुष्प ब्यवसायमा लागेका पनि छन् । तरपनि नेपालमा कति फूलमाला चाहिन्छ कहाँ कति फूल उत्पादन हुन्छ भन्ने एकिन तथ्याकं छैन । तर, दुई तीन वर्षयता नेपालमा चाहिने फूलमालामा नेपाल आत्मनिर्भर भएको भनाई पुष्प ब्यवसायीको छ । यो राम्रो संकेत हो । जसका कारण धेरै रकम विदेशीनबाट जोगिएको छ । रुपन्देही र अन्य जिल्लामा भारतीय फूलमाला खुलेयाम भित्रिँदा नेपाली फूलमालाले जति मूल्य पाउन पर्ने हो त्यो पाउन नसकेको किसानको भनाई छ ।

सामान्य कार्यक्रमदेखि पूजामा समेत प्रयोगहुने यसपत्री फूल र माला भारतबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न पनि बिभिन्न स्थानीय निकायले प्लाष्टिकका फूलमाला प्रयोग र आयातमा रोक लगाएकाले पनि यो पटक केही ठाउँमा फूलमालाको कारोबार बढी भएको हो । तर कतिपय ठाउँमा पालिकाले सूचना जारी गरेपनि अनुगमन नहुदा भारतीय मालाले बजार पाईरह्यो । सरकारको फितलो नीतिका कारण भारतबाट पनि फूलमाला भित्रदा नेपाली किसान मारमा परे । आगामी वर्ष सरकारले यस सवालमा पुष्प ब्यवसायीको समस्या बुझेर एकसाथ छलफल गरेर स्पष्ट योजना बनाएर अगाडि बढ्न जरुरी देखिन्छ ।

फूलमालाको क्षतिपूर्ति दिने

पोखरा महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न तिहारका लागि टिपेको नबिकेका फूलमालाको लागि किसानहरुलाई प्रतिमाला २० रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । यही कात्तिक २५ देखि २८ गतेसम्म पोखराको श्री कम्प्लेक्स परिसरमा संचालित सयपत्री फूल मेला २०८० मा बिक्री नभएको फूलमालाका लागि महानगरले प्रोत्साहन रकम दिने भएको हो ।

कास्किमा ५ सय किसान फूलखेतीमा लागेको र ६५ हजार माला नबिकेको र एकलाख ३० हजार रुपैयाँ अनुदान दिने भएको छ । सामान्य एउटा सयपत्रि फूलको बोटबाट २ वटा माला बन्ने गर्दछ । आउँदा वर्षको लागि पनि फूलका विउ बेर्ना दिने र बजारीकरण गरिदिने निर्णय गरिदिएर किसानलाई हौसला दिएको छ । यो राम्रो पक्ष हो । यसले किसानलाई हौसला दिएको छ भन्नुहुन्छ श्री कम्पलेक्स पोखराका संंचालक झलक श्रेष्ठ । उहाँले आफूले ब्यवसाय गरेको २४ वर्षमा स्थानीय सरकार र निजी क्षेत्रको साझेदारी प्रयास सुरु भएकोमा खुसी लागेको बताउँदै यस्ता प्रयासले निरन्तता पाउनपर्ने बताउनु हुन्छ ।

नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका कृषि उद्यम केन्द्रका संयोजक समेत रहनु भएका झलक श्रेष्ठले तीनै तहको सरकार र निजी क्षेत्रका बजारको सहकार्य गरेर अगाडि बढ्न सके कृषि क्षेत्रको राम्रो गरि बिकास गर्न सकिने बताउनु हुन्छ ।

हुन त अन्य पालिकाहरुले पनि पोखरा महानगरपालिकाले जस्तै पालिकाका फूल लगायत अन्य कृषि उत्पादनलाई निजी बजारसंग सहकार्य गरेर अगाडि बढ्न सके बिसानले हौसलासंगै आफ्ना कृषि पैदावारको बजार र मूल्य पाउन सक्ने देखिन्छ । तरपनि कुन क्षेत्रमा फूलमालाको प्रयोग बढी हुन्छ, कहाँ चाडपर्वमा बढी खपत हुन्छ, कहाँ मेला महोत्सव बढी लाग्दछ, कहाँ मठमन्दिर बढी छन् यस्ता कुरा बुझेर फूल खेतीगर्न सके राम्रो बजार पाउन सक्दछ ।

कतिपय किसानले बिभिन्न ठाउँका ब्यवसायी र थोक बजारसंग सम्पर्क गरेर पनि उत्पादित फूलको बजारीकरण गर्न सकिन्छ भनि बिभिन्न जिल्लाका थोक बजारमा रहेका आधुनिक कोल्डस्टोरको प्रयोग गरेर पनि तयारी फूल माला र नबिकेका फूल माला स्टोर गरेर पछि बिक्री वितरण गर्नपनि सकिन्छ । आधुनिक प्रविधिले सहजता पनि थपेकोले सरकारले प्रविधिको सहयोगबाट किसानलाई सहयोग गर्ने वातावर मिलाउन जरुरी छ । तर हामीकहाँ काम परिणममुखि गर्ने भन्दापनि किसानलाई सहयोग र अनुदानको नाममा कर्मचारी र जनप्रतिनीधि मिलेर आफै बढी रमाउने प्रचलन छ ।

अहिलेको समयमा हामी प्रबिधि मैत्री बन्न सक्ने हो भने ब्यवसयिले फूलमाला बिकेन भनेर सडकमै फाल्नपर्ने अवस्था छैन । फूलहरु समय फरक पारेर लगाउने, टिप्ने ,नबिकेका फूलमाला कोल्डस्टोरमा स्टक गर्नु वा सुकायर राखेर धुप बनाउन प्रयोग गर्न सकिन्छ वा अन्य के प्रयोग गर्न सकिन्छ त्यतापनि सरकार सरोकारवाला निकाय र किसानले ध्यान दिन आवश्यक छ । यस्ता प्रयासले फूलखेतीमा लागेका किसानलाई हौसला बढ्नुका साथै रोजगारको सृजना र आय आर्जनमा बल मद्दत पुग्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।