ताजा अपडेट »

७ दशमलव ५२ प्रतिशतले बढ्यो महङ्गी, रेमिट्यान्स २५ प्रतिशतले वृद्धि

आइतबार, ३१ भदौ २०८०, १८ : ५०
47 Shares
आइतबार, ३१ भदौ २०८०
47 Shares

बुटवल । साउनमा नेपालीहरूले ७.५२ प्रतिशत मूल्य वृद्धि खेपेका छन्। राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ६.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षको साउनमा नेपालीहरूले ८.२६ प्रतिशतको महँगी खेपिरहेका थिए।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसलाको ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.२० प्रतिशत, दूध, अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा ११.०५ प्रतिशत र तरकारीमा १०.८० प्रतिशतले मूल्य वृद्धि देखिएको छ। घ्यू, तेलमा १५.१३ प्रतिशतले महँगी घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिमा १५.५५ प्रतिशत, शिक्षा सेवाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ। यातायात ०.८१ प्रतिशतले महँगी घटेको छ। काठमाडौं उपत्यकाका मानिसहरूले ८.५० प्रतिशतको मूल्य वृद्धि खेपिरहँदा तराईमा ६।७० प्रतिशत, पहाडमा ७.५० प्रतिशत र हिमालमा ११.४६ प्रतिशत महँगी देखिएको छ।

एक महिनामै २५ प्रतिशत बढ्यो रेमिट्यान्स

आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना (साउन) मा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो । साउन मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो । भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ । चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो ।

आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो ।

चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । आर्थिक वर्ष ०७९/८० को असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा ०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ ।

राष्ट्र बैंकको समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।