१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

गलेश्वर । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् ।

Advertisement

करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका केन्द्रका कृषि प्राविधिक जगत बानियाँले बताए ।

करिब एक दशकअघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल, बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौ, धानलगायत धान, घैया, उवाका बाली तथा बीउ लोप हुँदै गएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको उनले बताए ।

जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको केन्द्रले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार कार्यालयको तथ्याङ्कअनुसार विभिन्न प्रजातिका ९७ रैथाने बाली लोप हुने अवस्थामा पुगेका हुन् ।

“आयातित बीउबिजनको प्रयोग बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काँक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन्”, उनले भने, “धान, गहुँ, मकैलगायत बालीका लागि बीउसमेत साँचेर राख्न छाडेका छन् ।”

सरकारले विशेष गरी घैया, कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यका रुपमा विस्तार गर्दै लैजाने योजना बनाए पनि भारतलगायत विभिन्न देशबाट कोदो, मकै, चामल जस्ता वस्तुको आयात बर्सेनि बढ्दो क्रममा रहेको केन्द्रका पूर्वप्रमुख किरण सिग्देलले बताए ।

“यस क्षेत्रमा कोदोको परिकार खाने परम्परा कम हुँदै गएको छ”, उनले भने, “आयातित चामलको प्रयोग बढे्सँगै फापर, लट्टे, कागुनो, जौँलगायतका खाद्यपदार्थ प्रयोग हुँनै छाडेका छन् ।”

गाउँघरमा परिवारलाई आवश्यकपर्ने मात्र उत्पादन गर्ने गरिएको भन्दै व्यावसायिकरुपमा उत्पादन गर्ने प्रचलन हराउँदै गएको ज्यामरुककोटका कृषक शोभित शर्माले बताए। पूर्वप्रमुख सिग्देलका अनुसार रैथाने बाली मानिएको कोदो, फापर, कागुनो, लट्टेजस्ता बाली अहिले धेरैले लगाउनै छाडिसकेका छन् ।

खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यकपर्ने जति मात्रै रोप्ने गरेका छन्। उनले भने, “रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर पनि धेरै यसबाट टाढा छन् ।”

‘हाइब्रीड’ तथा उन्नत जातका बीउको प्रयोग बढे्दै गएकाले रैथाने बाली लोप हुँदै गएको कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत रैथाने बालीलाई प्रथमिकता दिएको भए पनि कृषक रैथाने बाली संरक्षणतर्फ आकर्षित नदेखिएका उनको भनाइ थियो । 

पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चीनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको कार्कीले बताए। उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उनले जानकारी दिए। उनका अनुसार विगत १०÷१२ वर्षदेखि आयात हुन थालेको चिनियाँ मकै विशेषगरी रेष्टुरेन्टमा प्रयोग हुने गरेको छ । 

कृषि प्राविधिकका अनुसार कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बाली सबै कोदो वर्गमा पर्दछन्। कोदो धान, मकै र गहुँ पछि चौथो महत्वपूर्ण खाद्यन्न बाली मानिए पनि पछिल्लो समय कोदो बालीको क्षेत्रफल घट्दै गएको केन्द्रले जनाएको छ ।

देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा कोदोले ओगटेको छ। कोदो विशेष गरी म्याग्दी, खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा र सिन्धुली धेरै उत्पादन हुन्छ । 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता