६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

भरतपुर (चितवन) । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् ।

Advertisement

निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।

पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उनले जानकारी दिए । हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए । “सौराहा आउने अधिकांश हात्तीको गतिविधि अवलोकन गर्न आउँथे । कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे”, उनले भने, “तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ ।” यहाँका व्यवसायीले हात्ती थपेका छैनन् ।  स्वदेशी पर्यटक पनि घट्दै छन् । अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको सङ्ख्या पनि घटाएको उनले बताए। उनले दुईवटा हात्ती घटाएर एउटा मात्र पालेका छन् ।

पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो । तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन् । चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन् । कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो ।

कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउँछन् । उनले पाल्न नसकेपछि दुईवटा हात्ती बेचेको बताए । उनका अनुसार एउटा हात्ती पाल्न मासिक रु डेढ लाखदेखि दुई लाखसम्म खर्च हुन्छ । एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्दछ । तर आम्दानी भने रु एक लाख पनि नहुने बताए ।

तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे । तर पछिल्लो समयमा सौराहामा विगतजस्तो हात्तीको चाप छैन । विसं २०७७ सम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको सङ्ख्या कम भइरहेको बताए ।  उनका अनुसार चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० वटा हात्ती छन् । त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन् । युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेको उनले बताए । उनले भने “राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ ।” 

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको जनाउँदै निजीस्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताए । मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको जनाउँदै उनले सरकारले निजीस्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिए । सरकारले निजीस्तरमा पालेको हात्तीको विवरण सङ्कलन गरिरहेको भन्दै नेपालमा एक सय ५० वटा हात्ती निजीस्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए । उनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए । तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ ।

हात्ती लोपोन्मुख जनावर हो । सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ । यद्यपि व्यवसायीले रु ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्दछन् । यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन् । नेपालमा जङ्गली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी