ताजा अपडेट »

शिक्षकको एक दिनको तलब क्रिकेट रंगशाला निर्माणमा

मंगलबार, २९ माघ २०७५, १९ : ११
12 Shares


माघ २९,
पाल्पा ।  चितवनमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक दिनको तलब दिन रिब्दीकोट गाउँपालिकाले आफ्नो क्षेत्रका सबै शिक्षकलाई आह्वान गरेको छ । 

पालिका भित्रका सबै सामुदायिक विद्यालयका सबै शिक्षकलाई योगदान गर्न सोमबार बसेको कार्यपालिका बैठकले आह्वान गर्ने निर्णय गरेको हो । पालिका भित्र ३७ वटा सामुदायिक विद्यालयका लागि २ सय ५२ शिक्षक दरबन्दी छ । 

देशकै नाम राख्ने गरी निर्माण हुन लागेको संरचनामा योगदान गर्नु पालिकाको पनि दायित्व भएकोले शिक्षकलाई आह्वान गरिएको  पालिकाका प्रवक्ता विष्णु प्रसाद खनालले बताए । 

'उहाँहरुका लागि यो स्वैच्छिक कुरा हो, हामीले आह्वान मात्रै गरेका हौं' उनले भने 'पछिल्लो समय क्रिकेटको विकास बढ्दै गएको अवस्थामा खेलाडीलाई हौसला र राष्ट्र निर्माणमा योगदान दिन हामीले उक्त निर्णय गरेका हौं, विभिन्न क्षेत्रबाट संकलन गरेर पालिकाले ५ लाख रुपैंया दिने हाम्रो योजना हो ।'  

सहयोगका लागि पालिका भित्रका अन्य संघ संस्थाका कर्मचारी र रिब्दीकोटका वसिन्दालाई पनि आह्वान गरिएको छ । पालिका सभाका सबै सदस्यहरुले एक दिनको तलब दिने निर्णय उक्त बैठकले गरेको छ ।  

रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र कलाकार दम्पत्ति सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को संस्था धुर्मुस–सुन्तली फाउण्डेशनबीच गत माघ १६ गते सम्झौता भईसकेको छ ।   

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने उक्त रंगशालाको लागत अनुमान ३ अर्ब गरिएको छ । उक्त लागत जनसहयोगबाटै स्रोत जुटाएर बनाउने फाउण्डेशनको योजना छ । 

यसैबीच कार्यपालिकाको उक्त बैठकले पालिका भित्रका ८ वटा विद्यालयको भौतिक निर्माण तथा गुणस्तर सुधारका लागि विभिन्न कार्य गर्ने निर्णय गरेको छ । संघीय सरकारबाट प्राप्त ससर्त अनुदान रकमको बाँडफाँट गरिएको खनालले बताए ।जस अनुसार प्रभात मावि पालुङ्गमैनादी र सरस्वती मावि खस्यौलीमा पुस्तकालय निर्माण गर्ने बैठकले निर्णय गरेको छ । यसका लागि प्रति पुस्तकालय ६ लाख ५० हजार रुपैंया रकम दिईने छ । 

यस्तै भवानी मावि कुसुमखोला र ज्ञानमाला मावि फेकमा बन्ने विज्ञान पुस्तकालयका लागि पनि प्रति विद्यालय ६ लाख ५० हजार रुपैंया दिने बैठकले निर्णय गरेको छ । खस्यौलीकै भैरव जनता मावि र सरस्वती माविमा शौचालय निर्माणका लागि प्रति विद्यालय ७ लाख र आदर्श मावि लघुवा र भाष्कर मावि ठिमुरेमा बनने साईसीटि कक्षाका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैंया सहयोग उपलब्ध गर्ने निर्णय गरिएको प्रवक्ता खनालले जानकारी दिए ।-edukhabar.com

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।