६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

साउनको दोस्रो मंगलवार । अत्यधिक पानी पर्यो । तिनाउ खोला उर्लेर वार कि पार । तर हामीलाई जानु थियो पूर्वीपाल्पा, जल्पाको ढोलीमारा । सिद्धबाबामा बाटो अवरुद्धको खबर आयो । बुटवलदेखि ढोलीमारा जाने बस पनि ढोलीमाराबाट विहान बुटवल नआएपछि उता फर्किने कुरै भएन ।

Advertisement

सामाजिक अभियन्ता माया रानाको फोन आयो–सर यता धेरै पानी आइरहेको छ । त्यता कस्तो छ ? बाटाहरु बिग्रिएका छन् । बुटवल आउने बस समेत आउन सकेन । तानसेनबाट जीप छुट्छ १२:३० मा त्यतै आइपुग्नु होला है ? ११ :५५ बजेसम्म पाल्पा बस स्टेशन,बुटवलमै थियौं कलाकार एवम् सहकारी अभियन्ता बेनप्रसाद थापा र म । सिद्धबाबाको पहिरो नखुलेसम्म बुटवलबाट बस गुडेन ।

सेवा शून्य !
तानसेन, पाल्पा पुग्ने बसमा छाता ओढ्नुपर्ने खालको थियो । घाम छेक्ने तर पानी नछेक्ने बस रहेछ । बाध्यताले बसमा बस्नुपर्ने सबैको अवस्था थियो । कन्टेक्टर भने झुम थिए । गोलपार्क पुग्न नभ्याउँदै भाडा उठाउन आए । मैले भनें–हामी तानसेन पुग्ने हो । एकछिनपछि भाडा तिरौला नि ! नजिकको यात्रुहरुसँग पैसा उठाउनू न ।

उसले मसँग भाडा मागिरह्यो । छेवमै बस्ने अर्को यात्रुले सिद्धबाबा कटेपछि भाडा दिउँला नि किन हतार भनेपछि कन्टेक्टर अघि बसेकासँग भाडा माग्न हिड्यो । वर्खामास् बाटो बन्द हुने, कन्टेक्टरलाई भने भाडा उठाउनै हतारो, पानीका कारण सीट ओभाना छैनन् अनि पैसा माग्नै ढिला हुने ? सेवा शून्य तर भाडा नगद चाहिने । कस्तो देशका हामी नागरिक । बोल्यो जथाभावी जवाफ पाइन्छ । नबोलौं उनीहरुको हालीमुहाली ।

तानसेनमा खाजा, जीपको यात्रा
१० बजे विहान खाना खाएपछि आकासमा पानी परेपनि मुखमा परेको थिएन । तानसेन पुग्दा २ः३० बजिसकेको थियो । हामीलाई पहिलो जीपले छाडेर गइसकेको थियो । शम्भु माविका हेडसर चित्रबहादुर कँवरमगर र मायाले पछिल्लो जीपमा आउन सुझाएका थिए । भोकले होला आँखा तिरिमिरी झ्याइँ भएको थियो । अनि मायाले आफ्नै गाउँका दाइले तानसेनमा चलाएको जीपस्टेसननेरको जल्पा ग्यालेक्सी रेष्टुरेण्टमा खाजा खाँदा राम्रो हुने कुरो सुनाएकी थिइन् । त्यही रेष्टूरेण्टमा ठूलो खसीको मःम स्याम पारियो । साउनको महिना बेनु जीले दुईवटा नगद हरिया गैंडा दिए । मैले खल्तीमा पैसा छाम्ने मौका नै पाइनँ ।

११ नम्बरको यात्रा गर्न परेन
जीप पुरानो भएपनि एक्सप्रेस रहेछ । हुइँक्यो । मीसन अस्पताल हुँदै । दुईचार ठाउँमा मान्छे चढायो जीपले । आर्याभञ्ज्याङ्गमा आफैलाई डिजेल चढायो । हुमीन पुगियो । देवीनगर एकछिन रोकियौं । विहानको पानीले बाटोमा नाली दौडिएको संकेत पाइयो । जीपमा गुरुजीले लगाएको सालैजो गीतले मनै रमाइलो । जीपमा हामी गोडाक सातजना थियौं । जीप काफलडाँडामा रोकियो । जल्पासम्म पुग्ने जीप हामी दुईजनालाई छाड्न ढोलीमारा पुग्यो । जीपले न लगे ११ नम्बर पैदल यात्रा गर्ने सोंचमा भएका हामीलाई जीपका गुरुले ढोलीमारा नै पुराइदिने खबर सुनाएपछि खुसीले मनका धुरी चढ्यौं ।

तानसेनबाट १७ किमी आर्याभञ्ज्याङ्ग, त्यहाँबाट १७ किमी ढोलीमारा रहेछ । साँझको पाँच बजे हामी ढोलीमारा माया रानाको दैलोमा पुगेका थियौं । झोला झारियो । मन पनि झारियो । मनतातो पानी, मकै खायौं अनि आराम नगरि चुलीडाँडातिर लागियो ।

मायाको चप्पल चुँडेपछि…
चुलीडाँडा हिडेका हामीलाई केहीबेर तुँवालोले अल्मलायो । डाँडातिर नलागि तुल्सा बस्याल मकैं खाँदै घरतिर फर्किन् । माया हाम्रो पथप्रदर्शक बनिन् । बेनु र म पछिपछि लागेर हिड्यौं । मकै खाँदै, पानी पिउँदै अम्रिसोको गाँजलाई पन्छाउँदै उक्लिरहेका थियौं । ढोलीमाराबाट चुलीडाँडा तीन किलोमीटर दूरीमा रहेछ । ठाडो बाटो, चिप्लो हल्का । स्याँस्याँ गर्दै उक्लिदै गर्दा बेनुले भने आफ्नो मोजासहितको जुत्ता पानीमा चोबले । उनले बालुवाका थुप्रोलाई पहाड सम्झिएछन् । केहीबेर खुब हाँसियो । मायाले भने विचरा बेनु सर भन्दैथिइन् ।

बेनु गुल्मीमा जन्मिहुर्की, स्यांजामा पढेकोले होला उनलाई तीन किलोमीटर दूरीमा रहेको चुलीडाँडा तीन बित्ताजस्तै लाग्यो । मलाई भने सुगरले गालेकै कारणले होला एकछिन अत्तायो । आस्तेआस्ते उकालो उक्लिएँ, साँचिक्कै उक्लें । चुलीडाँडा पर्यटकीय क्षेत्र, प्रवेशद्वारले मलाई नै स्वागत गरेजस्तो लाग्यो । राष्ट्रियसभा सदस्य माननीय राजेन्द्र लक्ष्मी गैरे दिदीले उक्त स्वागतद्वारको शुभारम्भ गरेकी रहेछिन् । उक्त कुरा छेउमै टाँगिएको बोर्डमा लेखिएको देखियो ।

भ्यूटावरबाट चारैदिशा हेरियो । तुँवालो फाटेको बेला हिमश्रृखला अनि तराइका फाँटहरु सजिलै हेर्न सकिन्छ रे । पहाडका थुम्काहरु हेर्दा मनै हरर । बुद्धको स्तूप,बाघको आकृति, आइलभयू जल्पा (सेल्फी सेन्टर), स्मारक, छाताजस्तै ओताउ, तलाउ, पानीको फोहोरो लगायतका संरचनाहरुले चुलीडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा चुलाएको रहेछ । बन्दै गरेका संरचनाहरुलाई थप व्यवस्थित गर्दै संरक्षण गर्नुपर्ने पहिलो आवश्यकता देखियो । भीरबाट लोटिन्छ कि भनेर तारजाली लगाइएको रहेछ ।

अँध्यारो हुन आँटेको कारण हामी झर्न थालियो । झर्दा भने मोटर बाटो हुँदै झरियो । मायाको चप्पल भने चुँड्यो । खाली खुट्टाले गिट्टीको बाटो १५ मिनेटजति हिड्दा उनलाई कति दुख्यो होला ? उनलाई नै थाहा होला । हतार हतार चुलीडाँडाको पैदल यात्रा । त्यहाँ रहेको कबुलियती वनका उपभोक्ताहरुको परिश्रम, लहलह झुलेको देखिने अम्रिसो अनि किसानको अनुहारजस्तै उज्यालो डाँडा देख्दा मनै खुसी भयो ।

ढोलीमारामा होमस्टे सुरु
ढोलीमारा आउँदा साँझ विजुली थिएन । विहानको पानीले पोल ढल्केको र तारहरु जोल्ठेको कारण ज्ञानु र जीवनले मर्मत गरेर जसोतसो विजुली बाले । बिजुली बनाउँदा जीवनको हात हल्का मर्केको रहेछ ।

मायाकहाँ उनका श्रीमान् ज्ञानबहादुर राना, म र बेनु भएर खाना पकायौं । बेनु दाइले मासु मीठो पकाए । मासुसँग मैले हल्का जौंको जुस खाएँ । बेनु दाइले चुत्राको घरपाला चढाए । ज्ञानु र जीवनले बियरको स्वाद चाखे ।

दहीसँगै आँटो खाँदाको स्वाद के सुनाउँ र ? ढिक्का परेको दही । ढोलीमारामा दुहुना नभएका घर रहेनछन् । करिव ८५ घरमा एकदुई घरबाहेक सबै मगरजातिको रहेछ । खेतीकिसानी र पशुपालनबाट गाउँलेहरु धानिएका रहेछन् । किवी खेती, मकै उस्तै यतिबेला । गाउँलेहरुले होमस्टे सुरु गरेका रहेछन् दर्जन घरमा । ढोलीमारा सामुदायिक होमस्टेका अध्यक्ष पहलसिंह घर्तिमगर र सचिव भने मनबहादुर ठाडामगर रहेछन् । २०७९ मंसिर २४ गतेदेखि सुरु भएको होमस्टेमा असार मसान्तसम्म पाँचसयभन्दा बढी आन्तरिक एवम् बाह्य पर्यटक आइपुगेको अध्यक्षले बताए ।

स्थानीय स्वादको अर्गानिक खाना, सरसफाइयुक्त गाउँ, जातीय एकतापूर्ण ठाउँ, स्थानीय लोकसंस्कृति र परम्परा, सहयोगी भावना भएका गाउँलेहरुले सञ्चालन गरेको होमस्टेकै कारण गाउँमा विकासको लहर समेत आएको सबैले सुनाए ।

हामीले दोस्रो दिन अर्थात् साउन १० गते, बुधवार होमस्टे सञ्चालन र व्यवस्थापन सम्बन्धी आधारभूत तालिम चलायौं । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता र जल्पाका वडाध्यक्ष समेत आएका थिए । उनीहरुले आफ्नो होमस्टेलाई गाउँकै शान माने । सक्दो सहयोग गरेर अघि बढाउने सपना सुनाए ।

बेनु दाइको हेरिरहन मन लाग्ने नृत्य
तेस्रो दिन अर्थात् विहीवार हामीले जल्पाभित्र रहेका तीनवटा सहकारीहरुका सञ्चालक, व्यवस्थापकहरुलाई सहकारी सञ्चालन र व्यवस्थापनका लागि टीमबिल्डिङ्ग तालिम चलायौं । स्थानीय जल्पादेवी, जनसेवा र शुभसन्देश महिला सहकारीका मित्रहरुले तालिम प्रभावकारी रहेको सुनाउँदै गर्दा ग्रामीण भेगका सहकारीहरुले गर्दै आएका कामका बारेमा बयान गर्न पाउँदा खुसी लाग्यो । आर्थिक उत्थान, महिला सशक्तिकरण, कृषि एवम् पशुपालनमा लगानी गरी गाउँलेहरुका जीवनमा सहकारीले गर्दा भएका उन्नति प्रगतिको कुरा सुन्न पाउँदा मनै उजेलो भयो ।

दुवै तालिममा स्थानीय साथीहरुले आफ्नो लोककला र गला प्रस्तुत गरे । बेनु दाइको नाँच प्रभावकारी भयो । बेनु दाइले तालिमको संयोजन गर्ने माया राना र होमस्टेलाई आफ्नो कला उपहार दिए । ढुंगामा कोरिएको उक्त कलात्मक चित्र उपहार पाउँदा माया र होमस्टेका सञ्चालकहरु हर्षित देखिन्थे ।

विहिबार हामी बुटवल फर्कियौं । गाउँलेहरुका अगाध मायालाई मनको पछ्यौरामा पोका पारेर । हामीलाई सहयोग गर्नेहरु माया राना, ज्ञानु राना,जीवन बाह्रघरे,सीमा बाह्रघरे,भूमि,कमला,पहलसिंह दाइ,मानबहादुर ठाडा,भिमीसरा आले,तिलक आले, डुलबहादरु घर्तिमगर,चित्रबहादुर कँवर मगर,वेदप्रसाद बस्याल,तुल्सा बस्याल लगायत सहयोगी सबैप्रति कृतज्ञ छौं । सम्झनामा अल्झिएको ढोलीमारा हाम्रा आँखामा सधैं नाँचिरहने छन् । गाउँलेहरुप्रति नतमस्तक छौं ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट