ताजा अपडेट »

रामबहादुरको रामकहानी

आइतबार, १४ जेठ २०८०, १२ : ०५
31 Shares

प्रकृतिले सुन्दर ठाउँ गुल्मीको मुसीकोट, देउराली । सम्वत् २०२२ सालमा जन्मिएका रामबहादुर दर्जी आफ्ना बाबाआमाको साथ लागेर ६ वर्षको उमेरमै पाल्पा, दोभानमा आइपुगेका थिए । उनका बाबा भारतीय सैनिक थिए । पाकिस्तानी लडाइँमा आफू र एकजना साथीबाहेक फौजका सबै मरे । उनी बीर सैनिक बनेर पेन्सन आएको कुरा रामबहादुरले सुनाउँदै थिए ।

रामबहादुर दर्जी यतिबेला तिनाउ गाउँपालिका वडा नं.२ को नयाँबजारमा सिलाइकटाईका काम गर्छन् । उनको यो पुर्ख्यौली पेसा भएपनि भारतका दिल्ली, पञ्जाब लगायतका सहरमा १२ वर्ष सिलाइकटाई सिकेर यही पेसामा कटिवद्ध भई जीवन गुजारिरहेका छन् । रामबहादुरले जीवनसंगीनी अमृतालाई २०३९ सालमा साथमा लिएका थिए । दुबैजना कर्मशील छन् । मिहिनेती छन् । कान्छी छोरीबाहेक सबैका घरबार भइसके । जेठो छोरो पदम परदेशतिर छ ।

रामबहादुर भारतमा पुग्दाको रमाइलो कहानी छ । उनले हँसिलो पारामा भन्दैथिए–ठूलीआमाको सुर्केथैलीबाट दुई रुप्पे चोरेर दोभान–पासकुण्डाका भट्टराई थरका बाजेसँग पछिपछि लागेर दिल्ली पुगियो । दिल्ली पुगेर सिल्ली भइन्छ कि भन्ने डर थियो । सिलाईकटाइ सिकें । रोजगारीमा व्यस्त रहँदा १२ वर्ष बितेको हेक्का नै भएन अनि लाहुरे बाबा भीमबहादुर थापाले आपूmलाई एक्कासी लिन आउँदा पो झस्याङ्गै भएँ ।

बाबा भीमबहादुर थापा तर रामबहादुर कसरी दर्जी भए भनेर सोध्दा उनले भने–भारतीय सेनामा बाबाले जात ढाँटेर भर्ति भएका कारण यस्तो भएको सुनाउँदै थिए । उतिबेला,भारतमा समेत जातीयताका कारण समस्या हुने रहेछ भनेर उनले बताउँदै थिए । बाबाको साथ लागेर नेपाल आएपछि रामबहादुरले बल्ल विहे गरेका रहेछन् । साथीसँगीको गलत संगतले कुनैसमय उनी रक्सीको अम्मलीजस्तै बने । कहिलेकाँही बीचबाटैमा वा पुलमा सुतेर दिनरात वितेको थाहै नहुने उनले हाँस्दै बताए । यतिबेला भने उनी, कुनै किसिमका अम्मली छैनन् । रक्सी खाएर मात्तिएका ती दिनहरु, घरमा गरेका झगडा र समाजलाई आफूबाट पुगेको हानीप्रति आत्मग्लानि गर्दै थिए रामबहादुर ।

रामबहादुर दर्जीमा लुगा सिलाउने राम्रो कला छ । खुबी छ । कोट, पाइन्ट राम्रो सिलाउँछन् । दौरा–सुरुवाल समेत विपत्ता राम्रो सिलाउने कुरा उनकै पूर्ववडाध्यक्ष राजेश श्रेष्ठले बताउँदै थिए । जनशक्ति कम भएर होला, सिलाई कटाइको जिम्मा बेलैमा पूरा नगर्दा भने गाउँलेहरु कहिलेकाँही उनीसँग रिसाउँछन् । उनीसँग तीनवटा सिलाई मेसीन र एउटा इन्टरलक मेसीन रहेको देखाए । आफ्नो टेलर्श सेन्टरलाई आधुनिक बनाउने कल्पना गरेका छन् तर साथ दिने सन्तानहरु देश, परदेश पुगिसकेका छन् ।

रामबहादुरले सनाइँ राम्रो फुक्थे । उठीबस, सुन्दर नाँच्थे । यतिबेला भने उमेरले नदिएर हो वा चलन हराएर हो उनका ती सुन्दर प्रतिभाहरु प्रस्फुटित हुने अवसर पाएका छैनन् । उनको गायन कलाले धेरैलाई मन्त्रमुग्ध पाथ्र्यो तर यतिबेला उनको कोकिलकण्ठबाट गीत सुन्न पनि पाइएको छैन । रामबहादुर दर्जी घरका माइला छोरा हुन् । उनीहरु तीन भाइ र तीन दिदीबहिनी थिए । दुईटी आमा थिए । रामबहादुर दर्जी भन्दैथिए– म दोभान प्राविमा पढ्दा कुलबहादुर तुलाचन हेडसर थिए । तीन कक्षासम्म पढाई हुन्थ्यो । रामबहादुरले जम्माजम्मी चार पास गरेका रहेछन् । पाँचमा फेल भएका रहेछन् । फेल भएर पढ्ने जाँगर नचलेपछि उनी भारततिर हुँइकिएको बताए । आफू नपढे पनि रामबहादुरका दम्पतीले छोराछोरीलाई सक्दो र पुग्दो पढाएका छन् ।

रामबहादुर दर्जी जातीय राजनीतिभन्दा वर्गीय राजनीतिमा जोड दिन्छन् । रामबहादुर यतिबेला आफू सम्वद्ध पार्टीको जिल्लास्तरीय नेता हुन् । पार्टीप्रति उनको अगाध स्नेह छ । सम्मान छ । रामबहादुर दर्जी २०५१ सालदेखि पार्टीको साधारण सदस्य, संगठित सदस्य हुँदै यतिबेला जिल्ला कमिटी सदस्य भएको तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।