ताजा अपडेट »

शान्ति नमुना मा.वि.को ६० औ वार्षिकोत्सब

आइतबार, २७ माघ २०७५, १६ : ३३
12 Shares


राष्ट्रकै नमुना विद्यालय : प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री पौडेल

माघ २७,
तिलोत्तमा । शान्ति नमुना मा.वि मणिग्रामको ६० औ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सव मूल समारोहमा प्रतिनिधि सभा सदस्य तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति नमुना मा.वि. रुपन्देही जिल्ला मात्र नभएर राष्ट्रकै नमुना विद्यालय भएको र यसले सामुदायिक विद्यालयले पनि गुणस्तरिय शिक्षा प्रदान गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको बताए । उनले ब्यवहारिक र समयसापेक्ष शिक्षाले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकोले विद्यालयहरुले शिक्षण विधि र ज्ञानलाई त्यसै अनुसार पस्कनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाको पहिचानमा शान्ति मा.वि.को विशिष्ट स्थान रहेको र नगरका हरेक बिद्यालयहरुलाई शान्ति स्कूल जस्तै बनाउन सहयोग गर्ने बताए । वार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयबाट एसईई र कक्षा ११÷१२ २०७४ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरु र उच्च शिक्षा अध्ययनका क्रममा यस वर्ष विभिन्न विस्वविद्यालयहरुमा छात्रवृति प्राप्त गर्न सफल १८ जना विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

विद्यालयमा अक्षयकोष दाताहरुद्वारा स्थापित ३२ वटा अक्षयकोषहरुबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुको साथै विद्यालयको शैक्षिक उन्नयनमा अहम् भुमिका निर्वाह गर्ने शिक्षकहरुलाई नगद पुरस्कार, र प्रमाणपत्रसहित सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्री चौधरी, शिक्षा विकाश तथा समन्वय एकाई प्रमुख दिपेन्द्र ढकालले संयुक्त रुपमा विद्यालयका विविध गतिविधिहरु तथा शिक्षक एवम् विद्यार्थीहरुका लेख रचना समेटिएको नानी मुखपत्र विमोचन गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयको प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्ययक्ष शरद भट्टराईको अध्यक्षता र विद्यालयका सहायक प्र.अ.किसोरकुमार खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला र साँस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।